बजेट अभावमा बसपार्कको काम अलपत्र

बजेट अभावमा बसपार्कको काम अलपत्र
सुन्नुहोस्

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटमा निर्माणाधीन प्रदेशकै नमुना बसपार्क योजना अलपत्र बनेको छ। सरकारले काम अनुसारको रकम समयमा भुक्तानी नगरेको भन्दै निर्माण कम्पनीले विगत तीन वर्षदेखि काम छाडेपछि ‘त्रियुगा बसपार्क’ अलपत्र परेको हो। ०७७ पुस २९ गते (डेढ वर्ष)भित्र निर्माण सम्पन्न गर्ने गरी ०७६ असार ३१ गते सम्झौता भई सुरु भएको काम झण्डै चार वर्ष पुग्न लाग्दासमेत निर्माण सम्पन्न हुन सकेको छैन। 

निर्माणको रेखदेखको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय राजविराजका प्रमुख (डिई) प्रदीप सिंहका अनुसार हालसम्मको प्रगति विवरण ५५ प्रतिशत मात्र रहेको छ। निर्माण कम्पनी रमण–आइएसएनबी जेवी जनकपुरले सरकारले समयमा भुक्तानी दिन नसकेको र कोभिडका कारण काममा ढिला भएको बताउँदै आएको छ। 

मूल्य अभिवृद्धि कर (भ्याट) सहित १४ करोड ७६ लाखमा सम्झौता भएको योजनाको हालसम्म करिब ४ करोड भुक्तानी भएको डिई सिंहले बताए। भौतिक प्रगति ५५ प्रतिशत हुँदा भुक्तानी ३२ प्रतिशत मात्र भएकाले ठेकेदारले काम गर्न ढिलासुस्ती गरेको हुन सक्ने उनको अनुमान छ। 

बाँकी २५ प्रतिशत रकम बजेट अभावका कारण दिन नसकिएको उनले बताए। काम गरेको रकम दिन नसक्दा पनि ताकेता गर्न अप्ठेरो भएको उनको भनाइ छ। डिई सिंहले सम्झौता अनुसारको मितिमा काम सम्पन्न नभएपछि पहिलोपटक १ वर्ष ७ महिनाको म्याद थपिएको बताए। उनका अनुसार ०८० असार मसान्तसम्मका लागि दोस्रोपटक थप गरिएको म्याद भित्र पनि निर्माण कार्य सम्पन्न हुन सकेको छैन। 

दोस्रो पटकसमेत निर्माण सम्पन्न नभएपछि योजना कार्यालयले तेस्रोपटक २०८१ असार ३० गतेभित्र सम्पन्न गर्ने गरी म्याद थपका लागि संशोधनबमोजिम पेश गरेको उनले बताए। निर्माणाधीन अवस्थामा नै सरकारले चालू आर्थिक वर्षको बजेट भाषणमा त्रियुगा बसपार्कलगायत देशभरका केही अधुरा योजनाहरू स्थानीय तहले पूरा गर्ने गरी बिउ पूँजी बजेट दिने व्यवस्था सरकारले गरेपछि योजना थप अन्योलेमा परेको छ।

बजेट भाषणमा त्रियुगा नगरपालिकालार्ई २० लाख रुपैयाँँ दिने उल्लेख भएसँगै ठेकेदार र आयोजना कार्यालय अन्योलमा रहेकाले काम सुचारु गर्न समस्या भएको उनले बताए। गत असारको बजेट भाषणले बसपार्कको काम पुरा गर्न नगरपालिकालार्ई जिम्मा दिएपछि कार्यालयले गरिरहेको अधुरो योजना सञ्चालन गर्न कठिनाइ भएको डिई सिंहले बताए। 

सरकारको उक्त निर्णयको पुनर्विचार गर्न विभाग र मन्त्रालयलार्ई देशभरबाट अनुरोध भएको छ। तर, सरकारले सो निर्णय फिर्ता लिने कि नलिने भन्ने यकिन भइनसकेको डिई सिंहले बताए। हिमाली यातायात व्यवसायी कम्पनीका अध्यक्ष ओमभक्त मैनालीले सघन सहरी तथा भवन निर्माण आयोजनाको लापरबाहीले कार्य अधुरो भएको बताए। मैनालीले समयमा निर्माण सम्पन्न गर्नु योजना कार्यालयको भूमिका रहन्छ तर आज तीन वर्ष बितिसक्दासमेत सम्पन्न हुन सकेको छैन यसको जिम्वेवारी उसैले लिनु पर्ने बताए। 

निर्माणको काम समय र बस राख्ने ठाउँको काम नहुँदा बसपार्कमा पानी जमेर पोखरी भएको छ। खाल्डाखुल्डी भरेर सम्म बनाउनु पर्ने हो तर त्यसै छाडेका कारण राति र दिउँसो पानीमा गाडी राख्न बाध्य हुनु परेको उनको भनाइ छ। अर्कोतर्फ पानी जमेर त्यहाँँ लामखुट्टे, विषालु किरा सर्प बिच्छीलगायतका विषालु जीव उत्पन्न हुने र रोगब्याधले सताउने उनले बताए।

मेयर बसन्तकुमार बस्नेतले जिल्ला बाहिरको ठेकेदार भएका कारण कतिपय अवस्थामा सम्पर्क गर्न र दबाब दिन गाह्रो भएको बताए। ‘स्थानीय ठेकेदार भए तत्काल बोलाएर समस्याको समाधानतर्फ केन्द्रित हुने थियौं।’ उनले भने। मेयर बस्नेतले भने, ‘ठेक्का सम्झौताबमोजिम ९ करोड रुपैयाँँ भुक्तानी गर्न बाँकी रहेको अवस्थामा योजना सम्पन्न गर्न सरकारले नगरपालिकालार्ई २० लाख उपलब्ध गराएको छ, उक्त रकमले केही नहुने भएकाले उही समयमा फिर्ता गरेका छौं, थप केही आएको छैन।’ 

उपमेयर महेश्वरी राईले त्रियुगा बसपार्क नगरपालिकाको गौरवको योजना भएकाले छिट्टै निर्माण सम्पन्न गर्न पहल सुरु गरिएको बताइन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.