गुलरिया नगरका निर्वाचित वडा सदस्यको निधन
गुलरिया : बर्दियाको गुलरिया नगरपालिका-३ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद यादवको निधन भएको छ। लामो समयदेखि ब्रेनट्यूमरबाट थलिएका यादवको आइतबार निधन भएको छ।
साउन महिनामा असैह्य टाउको दुखेर भारतको लखनउ उपचारका क्रममा टाउकोमा ट्युमर पत्ता लागेको थियो। काठमाडौंमा गरिएको शल्यक्रिया असफल भएका उनको घरमै निधन भएको हो।
यादवको सोमबार स्थानीय बनकटुवा गाउँमा अन्त्येष्टि गरिएको गुलरिया नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष शुधांसु प्रकाश शर्माले बताए।
यादवको निधनमा गुलरिया नगरपालिकाले गहिरो शोक र दुःख ब्यक्त गरेको छ। गुलरिया नगरपालिकाले यादवको निधन प्रति समवेदना प्रकट गर्दै सोमबार गुलरिया नगरपालिका कार्यालय र अन्तर्गतका सम्पूर्ण कार्यालय, शैक्षिक संस्थाहरूमा शोक बिदा दिएको प्रवक्ता शर्माले जानकारी दिए।