बाढी प्रभावित क्षेत्रमा जलवायु गोष्ठी
जोमसोम : आगामी नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिखसम्म संयुक्त अरब इमिरेट्स(यूएई)को दुबईमा आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप—२८)मा नेपालले सामना गर्दै आइरहेको जलवायु संकट र त्यसले पारेको जलवायु जन्य हानी तथा नोक्सानीका विषयमा विश्व समुदायको ध्यान आकर्षित गर्न मुस्ताङको कागबेनीमा एकदिने जलवायु कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
दिगो विकास इन्स्टिच्युड नामक संस्थाको आयोजनामा शनिबार मुस्ताङको कागबेनीमा जलवायु जन्य हानी तथा नोक्सानी विषयक कार्यशाला गोष्ठी भएको हो। चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी नयाँ–नयाँ कीर्तिमानी घटनाहरू बढ्दै गइरहेको वर्षको उत्तरार्धमा यूएईको दुबईमा २८ औं कोप—२८ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ। यही सम्मेमलनमा नेपालका तर्फबाट जलवायु परिवर्तनले पारेको असरको मुद्दा सशक्त ढंगले उठान गर्न तथा जलवायु जन्य हानी तथा नोक्सानीका विषयमा स्थानीय तथा क्षेत्रीय सरोकारवालाहरू माझ सचेतना फैलाउन मुस्ताङको कागबेनीमा कार्यक्रम आयोजना गरिएको दिगो विकास इन्स्टिच्युटले जनाएको छ।
पछिल्लो समय हिमाली क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रत्यक्ष/परोक्ष असर देखिँदै जान थालेको मुस्ताङका सरोकारवालाहरूले बताएका छन्। जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङ, वारागुङ—४ का वडाध्यक्ष कर्मा घ्याचो गुरुङ, सुरक्षा निकाय, एक्याप, डिभिजन वन, स्थानीय आमा समूह, क्लब, पत्रकार र स्थानीयवासीहरूको राहबरमा जलवायु जन्य हानी तथा नोक्सानीका विषयमा छलफल भएको बताइएको छ।
मुस्ताङको कागबेनीमा गत साउन २८ गतेको अकल्पनीय भिषण बाढीले करोडौंंका भौतिक संरचना, कृषि र पशुचौपायाहरूमा क्षति पुगेको थियो। प्रसिद्ध धार्मिक श्राद्धस्थलसमेत रहेको कागबेनी गाउँमा बाढी आउँदा त्यहाँँको धार्मिक स्थलको संरचना पूरै नष्ट तुल्याएको थियो। बाढीले एक दर्जन घरधुरी विस्थापित समेत भएका थिए।
कागबेनी बजार पूनः स्थापना समितिका अध्यक्षसमेत रहेका फेञ्चोक छेप्तेन गुरुङले स्थानीय स्तरबाट ठूलो मानवीय तथा भौतिक सहयोग प्राप्त भएपनि राज्य स्तरबाट अपेक्षा गरेअनुरूपमा सहयोग प्राप्त नभएको उल्लेख गरे। मुस्ताङको कागबेनी धार्मिक हिसावले अत्यन्तै महत्वपूर्ण तीर्थ स्थल रहेको यसको पुनर्निर्माणमा सरकारले घ्यान दिन आवश्यक रहेको औंल्याए। वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिन्जिन नाम्गेल गुरुङले कागबेनी बाढीको क्षति विवरणसम्बन्धी निकायलार्ई पेश भइसकेको बताए। उनले कागखोला दायाँ/बायाँ छोडेर च्यानलिङ गर्नुपर्ने र सोहीअनुसार गृहकार्य अघि बढाइएको बताए।