नेपाल जलस्रोतमा सम्पन्न देशको रूपमा चिनिएको छ। यहाँ अनेक प्रकारका जलसम्पदा छन्। झरना, खोला, नदी, तालतलैया, घोल, सिमसार, रिजरभ्वायर, रामसार, पोखरी र साना ठूला पानीका मुहान प्रशस्तै पाइन्छन्। यहाँ अवस्थित विभिन्न प्रकारका प्राकृतिक जलाशयमा अनेकौं जाति प्रजातिका माछा र जलीय जीव पाइन्छन्। यस्ता जलाशयमा पाइने रैथाने जातका माछाहरूका बारेमा विभिन्न समयमा खोज र पहिचान गरिएको छ। तत्कालीन राष्ट्रिय प्राकृतिक जलाशय मत्स्य विकास कार्यक्रम र मत्स्य अनुसन्धान महाशाखाको अध्यययनअनुसार हालसम्म नेपालमा २ सय ५२ जातका स्थानीय माछा पाइएका छन्।
कतिपय प्रजाति अझै पहिचान हुन बाँकी रहेको अनुमान छ। कतिपय जातका माछाहरू लोप भइसकेका र केही लोप हुने खतरामा छन्। यहाँका जलाशयमा पाइने माछाहरूबाट प्राकृतिक जलाशयको वातावरण र जैविक विविधतालाई स्थिर राख्न मद्दत पुगिरहेको छ। माछाबाट जलीय स्वच्छता, विविधता, सौन्दर्यता, जलीय मनोरञ्जन, आयआर्जन र सौन्दर्य प्रशाधन निर्माणसमेत गरिन्छ। यसको मासुमा एमिनोएसिड, भिटामिन, फोस्फोरस, पोटासियम, आइरन, कपर, ओमेगा तीन र फ्याट्टी एसिड पनि पाइन्छ। समग्र पर्यावरणलाई जोगाएर राख्न पृथ्वीका सबै जलाशयमा पाइने माछाको उचित संरक्षण हुनुपर्छ। माछाको विशेष महŒवका कारणले पनि माछा र अन्य जलीय जीवको संरक्षण गर्न आवश्यक हुन्छ।
सम्पूर्ण प्राणी वा वनस्पति अस्तित्वमा रहने वा नरहने भन्ने कुरा वातावरणको अनुकूलतासँग सम्बन्धित हुन्छ। अनुकूल हुँदा अस्तित्वमा रहने र प्रतिकूल हुँदा वंश नाश भएर जाने कुरा सर्वमान्य हो। यहाँका प्राकृतिक जलाशयमा पाइने माछा र जलीय जीवको अस्तित्व मानवीय, वातावरणीय र जलवायु परिवर्तनका कारणले खतरामा परिरहेको छ। जलाशयमा रहने प्राणीहरूको संरक्षणमा अनेक समस्या र चुनौती देखा परिरहेका छन्। त्यस्ता समस्याहरूको पहिचान गरी समाधान पनि गर्न सकेमा माछाको प्रवद्र्धन र संरक्षणसमेत गर्न सकिन्छ।
अधिकांश ठाउँमा नदी तथा खोलाहरू दुई भाग भएर बगेको पाइन्छ। यसरी दुई भागमा विभाजित खण्डलाई दुवाली भनिन्छ। त्यस्ता, दुवाली छेकथुन गरेर, विष हालेर, विषालु झारपात हालेर, विद्युतीय धार लगाएर, विस्फोटक पदार्थ पड्काएर, सानो प्वाल भएको जाल हानेर तथा बल्छी राखेर मार्दा माछाको वंश नाश हुन्छ। त्यसैगरी, जलविद्युत्को बाँध, सिँचाइको नहर, कुलो, सडक, पुल वा अन्य पूर्वाधार निर्माण गर्दा पनि माछाहरू मरेर जान्छन्।
समयमै जलीय र बाह्य दुवै वातावरणलाई स्वाभाविक र अनुकूल बनाउँदै स्थानीय माछाको संरक्षणका लागि आवश्यक उपायहरू अपनाउन जरुरी देखिन्छ।
-भट्टराई, पूर्वमत्स्य विकास अधिकृत हुन्।