शान्ति सम्झौताको १७ वर्ष : खोई सुशासन ? (भिडियाे)
काठमाडौँ : नेपाल सरकार र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बीच सशस्त्र सङ्घर्ष अन्त्यका लागि बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको आज १७ वर्ष पूरा भएको छ। नेपाल सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच विसं २०६३ मङ्सिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दै दसवर्षे सशस्त्र सङ्घर्ष अन्त्य भएको घोषणा गरिएको थियो।
सम्झौतामार्फत विसं २०६३ कात्तिक २२ गते सात राजनीतिक दल र माओवादीबीच सम्पन्न ऐतिहासिक सहमतिका आधारमा दुई पक्षबीच भएको युद्धविरामलाई स्थायीरूप दिँदै विसं २०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष समाप्त भएको घोषणा गरिएको थियो।
नयाँ बानेश्वरस्थित त्यति बेलाको वीरेन्द्र अन्तरर्राष्ट्रिय सम्मेलन केन्द्रमा तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौलाले शान्ति सम्झौताको पूर्ण विवरण पढेर सुनाउने क्रममा विसं ‘२०५२ देखि चलिआएको सशस्त्र सङ्घर्ष विधिवत् रूपमा समाप्त भएको घोषणा गर्दछौँ’ भनी वाचन गर्दा सभास्थल करतल ध्वनिले गुञ्जायमान भएको थियो। सम्झौतामा खासगरी राज्यको केन्द्रीकृत ढाँचाको शासन व्यवस्था अन्त्य गरी समावेशी, लोकतान्त्रिक र अग्रगामी पुनःसंरचना गर्ने तथा संविधानसभाको निर्वाचनमार्फत नयाँ नेपाल निर्माणलाई अघि बढाउने विषयलाई जोड दिइएको थियो।
सो अवसरमा प्रधानमन्त्री कोइरालाले सरकार र माओवादीबीच सम्पन्न वृहत् शान्ति सम्झौताले नयाँ नेपाल निर्माणका लागि मार्ग प्रशस्त गरेको तथा ११ वर्षदेखि मुलुकमा व्याप्त हत्या र हिंसाको राजनीति अन्त्य गरी मेलमिलापको राजनीतिमार्फत नयाँ इतिहासको थालनी भएको बताएका थिए।