पोखराको सेतो गिद्ध पुग्यो स्पेन

पोखराको सेतो गिद्ध पुग्यो स्पेन
सुन्नुहोस्

पोखरा  : स्पेनमा युरोपियन गिद्ध सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा विश्वका गिद्ध विज्ञ, अनुसन्धानकर्ता र संरक्षणकर्मीको सहभागिता रहेको थियो। नोभेम्बर १४ देखि १७ सम्म स्पेनको कासेरस सहरमा सम्मेलन भएको हो। 

युरोपियन भल्चर कन्फरेन्स नाम दिइएको सम्मेलनमा ४५ देशका ४ सय बढीको सहभागिता रहेको बताइएको छ। सम्मेलनमा करिब दुई सय वैज्ञानिक अध्ययनबाट प्राप्त रिपोर्र्ट तथा सुझाव प्रस्तुत भएको नेपालबाट सहभागी गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए। सम्मेलनमा नेपालबाट दुईवटा प्रस्तुति राखिएको थियो। 

नेपालमा दुर्लभ सेतो गिद्धको अवस्थाका विषयमा सन् २०१२ देखि २०२३ सम्मको अध्ययन तथा अनुगमनको बारेमा आईयुसीएन गिद्ध विज्ञ समूहका सदस्य कृष्ण भुसाल र गिद्ध संरक्षण तथा प्रजनन् केन्द्रबाट प्रकृतिमा छाडिएका दुर्लभ डंगर गिद्धको सफलताको कथा आरएसपीबी, युकेका जोन मालोर्डले प्रस्तुत गरेका थिए। युरोपमा विस्तृत अध्ययन गरिएको सेतो गिद्धको दक्षिण एसिया र नेपालमा भने खासै अध्ययन नभएको अवस्थामा नेपालमा १२ वर्षको अनुगमनको तथ्यांक प्रस्तुत भएको थियो। 

भुसालले प्रस्तुत गरेका तथ्यांकका अनुसार नेपालमा पाइने सेतो गिद्धको करिब ७० प्रतिशत संख्या पोखरा उपत्यकामा पाइने उल्लेख छ। पोखराको निर्मल पोखरी, पुरानो ल्याण्डफिल्ड साइट वरिपरि बढी संख्यामा सेतो गिद्ध पाइन्छ। गिद्ध संरक्षणका लागि अत्यन्तै महत्वपूर्ण सम्मेलनमा नेपाल र दक्षिण एसियाबाट भने न्यून सहभागिता रहेको उनले सुनाए। विगत १५ वर्षदेखि नेपालमा गिद्धको अनुसन्धान र संरक्षणमा लाग्दै आएका भुसालले नेपालमा संरक्षण क्षेत्रमा काम गर्ने युवाहरूलार्ई यस्ता अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी गराउनु पर्ने बताए। आईयुसीएन गिद्ध विज्ञ समूहका सदस्य कृष्ण भुसाल आफ्नै खर्चमा युरोपियन गिद्ध सम्मेलनमा सहभागी हुन पुगेका हुन्। 

नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन्। तीमध्ये डंगर, सानो खैरो, सुन, सेतो, हिमाली र हाडफोर गिद्धले नेपालमै गुँड बनाएर बच्चा कोरल्छन्। राज गिद्ध हिउँदे आगन्तुक गिद्ध हो। खैरो गिद्ध हिउँदे बटुवा र लामो ठुडे गिद्ध नेपालको लागि फिरन्ते प्रजातिको गिद्ध हो।

मरेका जनावरको सिनो खाएर गिद्धले वातावरण सफा गरी प्रदूषण हुनबाट जोगाउनुको साथै मानिसमा झाडापखला, रेबिज, प्लेग, हैजा, आउँ जस्ता रोग फैलनबाट रोक्छ। यसैले गिद्धलार्ई प्रकृतिको कुचीकार पनि भनिन्छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.