भूकम्पले स्कुल भत्कायो, सुरु नै भएन पढाइ

विद्यार्थीको भविष्य अन्योलमा : किताब–कापी पुरिए, पढ्ने स्कुल भत्किए

विद्यार्थीको भविष्य अन्योलमा : किताब–कापी पुरिए, पढ्ने स्कुल भत्किए
विद्यालय भत्किएपछि रिम्ना भेरी नगरपालिका–१ स्थित भेरी त्रिवेणी माविका विद्यार्थीलाई खुलाचौरमा पढाइदै । तस्बिर : राजेन्द्र कार्की

जाजरकोट : मुलुकभरका विद्यालयमा मंगलबारदेखि पठनपाठन सुरु भयो। तर, भेरी नगरपालिका–३ का युवराज थापाको स्कुल कहिले खुल्ने हो, टुंगो छैन। स्थानीय हनुमान प्राथमिक विद्यालयमा कक्षा ५ मा  पढ्ने थापाको स्कुल कात्तिक १७ गतेको भूकम्पले पूर्णरूपमा क्षतविक्षत बनायो। स्कुलमा पढ्न मिल्ने अवस्था नै छैन। स्कुल मात्र होइन, भूकम्पले शिक्षक र विद्यार्थीका घर पनि भत्काइदियो। 

युवराज बस्ने घर भत्किएपछि किताब, कपी, ड्रेस सबै त्यहीँ पुरिए। भाग्यले उनी र उनको परिवारलाई केही भएन। भागेर सबैले ज्यान जोगाए। भूकम्पले घर र विद्यालय दुवै भत्काएकाले उनले अब कहिलेदेखि पढ्न पाउँछन्, निश्चित छैन। अस्थायी सिकाइ केन्द्र बनाएर पठनपाठन गर्न नगरपालिकाले आग्रह गरेको विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर सिंहले बताए। तर, साँघुरो ठाउँमा रहेको विद्यालय र वरिपरिको थाप्लेबस्ती नै भग्नावशेषमा परिणत भएपछि समस्या भएको उनले बताए। टेन्ट राख्ने र बाहिर राखेर पढाउन मिल्ने विद्यालयको चौर नहुँदा पठनपाठनमा समस्या भएको उनको भनाइ छ।

 ‘दुई भवनका तीनवटा कक्षाकोठा भत्किएका छन्। बाँकी रहेका कोठामा पनि जोखिम छ,’ प्रधानाध्यापक कृष्ण सिंहले भने, ‘विद्यालयको चौर पनि छैन। पठनपाठनका लागि नगरपालिकासँग समन्वय गरेर अघि बढ्छौं।’ ५ कक्षासम्म पढाइ हुने त्यस विद्यालयमा अध्ययनरत डेढ सय विद्यार्थीको पठनपाठन अझै अनिश्चित छ। 

विद्यालयको चौरमा भूकम्पपीडितहरू त्रिपाल टाँगेर भरिभराउ भएपछि सदरमुकामस्थित भेरी प्राथमिक विद्यालय पनि खुल्ने कुनै टुंगो छैन। भवन पूरै चिराचिरा परेर चर्किएका छन्। ‘बाहिर भूकम्पपीडित स्थानीयकोे बास छ कहाँ पढाउने ? कसरी पढाउने ?’, प्रधानाध्यापक ललितराज भण्डारीले भने, ‘विद्यालय खुल्नेबारे अहिले केही टुंगो छैन। स्थानीय सरकारले भनेअनुसार गर्छाैं।’

नलगाड नगरपालिका–११ कि रेखा सिंह सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयमा १२ कक्षामा अध्ययन गर्छिन्। सदरमुकाम खलंगास्थित उनी बस्ने घर भूकम्पले भत्किएपछि उनका पनि किताब, कापी सबै पुरिएका छन्। ‘मैले लगाउने दुई जोर ड्रेस पनि कोठामै थिए। सबै भूकम्पले पुरिदिएछ’, उनले दुःखेसो पोखिन। मंगलबार मात्र सदरमुकाम खलंगा आएकी उनले दिनभर कोठा खोजे पनि पाउन सकिनन्। गाउँको उनको घर पनि बस्न नमिल्ने गरी चर्किएको छ। उनका घरका सबैजना त्रिपालमा बास बस्छन्। ‘४ गतेदेखि विद्यालय लाग्छ भनेर आएँ तर कहाँ बस्ने हो ? मेरो सबै समान पुरिएको छ’, उनले भनिन्, ‘अहिलेसम्म निकाल्न पाएको छैन। केही पक्की घरबाहेक सबै घर भत्किएका छन्। पक्की घरमा कोठा पाउँदैन। पक्की घरका पनि त्रासले बाहिरै सुत्छन्। अब कहाँ बसेर पढ्ने ?’ 

nullभेरी दोभान मावि सानीभेरी–१  का विद्यार्थीलाई खुला चौरमा मनोपरामर्श दिँदै शिक्षक । तस्बिर : राजेन्द्र कार्की

उनी पढ्ने विद्यालय पनि खुल्न सकेको छैन। सो विद्यालयमा राहत वितरणका लागि सशस्त्र, नेपाली सेना र नेपाल प्रहरीको टोली बसिरहेको छ। विद्यालय भवन पक्की भएका कारण खासै क्षति नभए पनि खुला चौर भएकाले केही भूकम्पपीडित र सुरक्षाकर्मीको बास विद्यालयमै छ।  करिब ९ सय विद्यार्थी अध्ययनरत सो विद्यालय पनि खुल्न सकेको छैन। विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले विद्यालय खोल्ने काम भए पनि पठनपाठन सुचारु गर्न नसकिएको बताए। ‘सुरक्षाकर्मी र पीडितहरू बसिरहनु भएको छ। स्थानीय प्रशासन र स्थानीय सरकारले जे भन्छ त्यही गर्छौं’, उनले भने। ६ कक्षादेखि १२ कक्षासम्म पढाइ हुने यो विद्यालयमा जिल्लाभरिका विद्यार्थी अध्ययनका लागि आउने गर्छन्। धेरै विद्यार्थी कोठा भाडामा लिएर बस्ने भएकाले पनि निकै समस्या रहेको प्रधानाध्यापक मल्लको भनाइ छ। 

एक महिने दसैं–तिहार बिदा भएपछि नलगाड नगरपालिका–५ जाजरकोट निवासी कमला विकले आफ्नो डेरामा किताब, कपी, डे«स सबै छोडेर घर गएकी थिइन्। भेरी नगरपालिका–१ रिम्नास्थित भेरी त्रिवेणी माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत उनी विद्यालयनजिकै तुल्सी नेपालीको घरमा डेरा गरेर बस्थिन्। तर, बिदा नसकिँदै गत कात्तिक १७ गते राति आएको भूकम्पले उनको घरमा मात्र क्षति गरेन। विद्यालय र डेरा गरेको घर पनि भत्कियो। बस्नेघर भत्किएपछि उनको परिवार अहिले त्रिपालमा बस्छ। उनी बस्ने डेरा भत्किएपछि घरभेटी तुलसा घाइते छन्। घर भत्किएर उनका सबै किताब, कपी, विद्यालय पोसाक सबै त्यही पुरिए। सोमबारदेखि विद्यालय खुले पनि उनी कहाँ बस्ने ? किताब, कपी के गर्ने ? पोसाक के लगाउने, केही सोच्न सकेकी छैनन्। ‘विद्यालय भवन भत्किए पनि खुला चौरमै भए पनि पढाइ हुन थालेको छ रे’, उनले भनिन्, ‘म कहाँ गएर बसुँ, बस्ने घर(डेरा) नै भत्कियो। न त पढ्ने किताब नै छ।’ उनको यस वर्ष एसईई परीक्षा हो। पढ्ने समयमा भूकम्पले सबै तहस नहस बनायो, अब के गर्ने भन्ने उनी अन्योलमा छिन्। उनको घरदेखि विद्यालय जान ५ घण्टा समय लाग्छ। रिम्नामा अरू बस्न लायक घर बचेका छैनन्। 

भेरी नगरपालिका–१ जुरेलीकी निर्मला घर्ती पनि सोही विद्यालयमा १० कक्षामा अध्ययनरत छात्रा हुन्। घरबाट विद्यालय टाढा भएपछि उनी पनि रिम्नामै कोठा भाडामा लिएर भाइसँग बस्थिन्। तर, भूकम्पले उनी बस्ने घर चर्किएर त्रिपालमा उनको परिवार सरेको छ भने डेरा लिएको घर पूरै भत्किएर विद्यालय पोसाक, किताब, कपी, कलम, नोटबुक सबै पुरिएको छ। उनले पनि निराश हुँदै भनिन्, ‘अब हामी कहाँ बसेर कसरी पढ्ने ?’

कक्षा १० सम्म पढाइ हुने उक्त विद्यालयमा ४ सय ६५  विद्यार्थी अध्ययनरत छन्। तीमध्ये तीन जना भूकम्पमा परेर बिते। घाइते १२ जना अस्पतालमा उपचाररत छन्। धेरै विद्यार्थी मानसिक त्रासमा छन्। सोमबारदेखि विद्यालय खोले पनि थोरै मात्र विद्यार्थी विद्यालय आउन थालेको  प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए। ‘सबै कक्षाका गरी सोमबार ६० जना आएका थिए। मंगलबार १ सय २२ जना आए। सामान्य सरसफाइ र मनोपरामर्श दिएर पठायौं। पठनपाठन सुरु गरेका छैनौं’, उनले भने, ‘करिब २ सय बढी विद्यार्थी डेरामै बस्थे। रुकुमपश्चिमबाट पनि आउँथे। भूकम्पले धेरै विद्यार्थीका पोसाक र किताब पुरिएका छन्। अब कसरी उनीहरूको समस्या समाधान गर्ने होला। हामी आफैं त्रिपालमा बसेका छांै। डेरावाला विद्यार्थीको बिजोग हुने भो।’ जाजरकोटमा मात्र करिब दुई हजार विद्यार्थी कोठाभाडामा बस्ने गरेको अनुमान छ।

भूकम्पले जाजरकोटका अधिकांश विद्यालय भवनमा क्षति पुगेको छ। कात्तिक ४ गते सोमबारदेखि नै पढाइ सञ्चालन गर्नुपर्ने भए पनि भूकम्प प्रभावित जिल्ला जाजरकोटका विद्यालयहरू अन्योलमा छन्। केहीले विद्यालयको चौरमै कक्षा सञ्चालन गर्ने प्रयास गरेका छन् तर त्रासका कारण विद्यार्थीको उपस्थिति एकदमै न्यून छ। जुनिचाँदे गाउँपालिका–२ को महादेव आधारभूत विद्यालयलका पक्की र कच्ची भवनमा गरी ५ वटा कोठा थिए। दुवै भवन चर्किएका छन्। कक्षा ३ सम्म पढाइ हुने उक्त विद्यालयमा ५५ जना विद्यार्थीमध्ये सोमबार १३ जना र मंगलबार १७ जनामात्र विद्यार्थी उपस्थित भएको शिक्षक नरेन्द्र शाहीले बताए। ‘टेन्टको व्यवस्था भएको छैन। तर, पनि अहिले घाम न्यानो हुने भएकाले चौरमै सामान्य छलफल गरेर विद्यार्थीलाई पढाउने गरेका छौं। पाठ्यपुस्तक पढाउन सुरु भएको छैन। सबै विद्यार्थी आए भने चौरमै कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता छ।’

भूकम्पले क्षति नगरेका पक्की भवनमा समेत विद्यार्थी बस्न नमानेको भेरी त्रिवेणी माध्यमिक विद्यालयका शिक्षक रुद्र वलीले बताए। ‘विद्यार्थीले बरु चौरमै बसेर पढौं कक्षाकोठाभित्र त हामी बस्दैनौं भन्छन्’, उनले भने, ‘न शिक्षकलाई पढाउन मन छ न विद्यार्थीलाई पढ्न नै मन छ। भूकम्पको त्रासले अहिले पनि शिक्षक विद्यार्थी एकोहोरो हुने, टोलाउने, झस्किने, बर्बराउने लगायतका समस्या देखिन थालेको छ।’

शनिबार जाजरकोट जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले भूकम्पबाट आंशिक क्षति भएका विद्यालयको पठनपाठन सम्बन्धित स्थानीय तह र विद्यालय व्यवस्थापन समितिको समन्वयमा गर्ने निर्णय गरेको छ। सोहीअनुसार स्थानीय तहहरूले पनि विद्यालय सञ्चालनको सम्बन्धमा क्षति भएका विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण गरेर पठनपाठन थाल्न निर्देशन दिएका छन्। तर, कतिपय विद्यालयमा खुला चौर नभएको, भएका विद्यालयमा पनि भूकम्प प्रभावितहरू बसिरहेको लगायतका कारणले धेरै विद्यालय अझै खुल्न नसकेका हुन्। 

त्रास हटाउन खोजिँदै

भेरी नगरपालिकाले पनि जोखिममा रहेका विद्यालयहरूमा सुरक्षित स्थान छनोट गरी पठनपाठन चलाउने निर्णय गरेको छ। नगरपालिकाका शिक्षा शाखा प्रमुख अमृतबहादुर पुनले पढाउने व्यवस्था तत्काल गर्न नसके पनि विद्यार्थीसँग कुराकानी गर्ने, खेल खेल्ने, कथा भन्ने लगायतका क्रियाकलाप गरेर त्रासलाई भुलाउन निर्देशन दिएको बताए।

‘कतिपय विद्यालयमा पीडितहरू बसिरहेका छन्। कतिपय विद्यालयमा टेन्ट राख्ने नै ठाउँ छैन। यी सबै कारणले भेरीका धेरै विद्यालय खुल्न सकेका छैनन्। खुलेका विद्यालयमा पनि विद्यार्थीको उपस्थिति एकदमै न्यून छ’, उनले भने, ‘यतिबेला हाम्रो जोड अस्थायी सिकाइ केन्द्र बनाएर मनोपरामर्श दिने भन्ने छ। धेरै विद्यार्थीका पाठ्यपुस्तक पुरिएकाले पनि समस्या छ। हामी व्यवस्थापन गर्ने तयारीमा छौं।’ उनका अनुसार पालिकासँग निरन्तर समन्वय गरेर पठनपाठन चलाउन विद्यालयहरूलाई भनिएको छ। भेरी नगरपालिकामा ५६ वटा विद्यालय छन्। त्यसमध्ये १७  वटा पूर्णरूपमा भत्किएका छन् भने अरू सबै चर्किएका छन्। 

गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार जोखिममा रहेका विद्यालयहरूले तत्कालका लागि नजिकको सुरक्षित स्थानमा पढाइ सञ्चालन गर्ने निर्णय भएको छ। ‘पहिलो चरणमा पठनपाठनभन्दा केही संघ–संस्थाको सहयोगमा मनोपरामर्श सेवा पनि सञ्चालन गर्ने तयारीमा छांै’, उनले भने।
नलगाड नगरपालिकाका शिक्षा शाखा प्रमुख बलवीर विकका अनुसार कुल ७१ विद्यालयमध्ये ५४ वटामा क्षति पुगेको छ। ‘केही विद्यालयहरू सोमबार नै खुलेका छन्। अति जोखिममा रहेका विद्यालयहरूमा सिकाइ केन्द्र बनेपछि मात्र पठनपाठन हुन्छ,’ उनले भने, ‘जोखिम धेरै भएका विद्यालयहरूमा पनि प्रशासन खोलेर अन्य आवश्यक तयारी भइरहेको छ।’

उनका अनुसार नगरपालिकाले विद्यालय व्यवस्थापन समिति र सामाजिक समितिले काम गर्ने गरी विद्यालयको जोखिम मूल्यांकन गर्ने संयन्त्र बनाइएको छ। यस्तो संयन्त्रले विद्यालयहरूको अनुगमन गर्न थालेको छ। संयन्त्रले आवश्यकताअनुसार अस्थायी सिकाइ केन्द्र बनाउने र अन्य आवश्यक कामबारे प्रतिवेदन तयार गर्नेछ।

nullभत्किएको विद्यालय कहिले खुल्ला भनेर हेर्दै एक विद्यार्थी ।

जाजरकोटमा २ सय ९० वटा विद्यालयमा पूर्ण क्षति पुगेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रमेश मल्लका अनुसार जिल्लामा १ सय ५४ विद्यालय आंशिक रूपमा क्षति पुगेको छ। ३२ जना विद्यार्थीको ज्यान गएको छ भने ३५ जना विद्यार्थी घाइते भएका छन्। भूकम्पमा २ जना शिक्षकको मृत्यु, ५ जना शिक्षक र एक जना विद्यालय कर्मचारी घाइते भएका छन्। धेरै विद्यालयका कम्प्युटर, शौचालय, खानेपानी, आईसिटी ल्याब, सोलार सिस्टम, पुस्तकालय लगायतमा क्षति पुगेको उनले बताए। ती विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र निर्माणका लागि युनिसेफ, लायन्स क्लबलगायतका सरोकारवाला निकायसँग समन्वयको प्रक्रिया सुरु भएको उनले बताए।

भूकम्पबाट करिब तीन हजार विद्यार्थीका पाठ्यपुस्तक पुरिएका छन्। ‘जाजरकोटका ७५ हजार ८ सय ५५ विद्यार्थीमध्ये करिब ५० हजार विद्यार्थी प्रत्यक्ष प्रभावित भएका छन्’, उनले भने, ‘अस्थायी सिकाइ केन्द्रभन्दा अस्थायी संरचना नै बनाउन आवश्यक छ भनेर सम्बन्धित निकायमा सुझाव दिएका छौं।’

कात्तिक २४ गते भएको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले भूकम्प प्रभावितका लागि अस्थायी आवास र अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो।

रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पढाइ

रुकुमपश्चिमका केही विद्यालयमा अस्थायी सिकाइ केन्द्र निर्माण भइसकेको छ भने केही विद्यालयमा सिकाइ केन्द्र बनाउने कार्य जारी छ। दसंै, तिहार र छठ पर्वको अवसरमा बिदा भएका विद्यालयहरू सोमबारबाट खुलेसँगै अस्थायी सिकाइ केन्द्र धमाधम निर्माण हुन थालेका छन्। बनिसकेका सिकाइ केन्द्रमा सामान्य मनोपरामर्शका कक्षाहरू सञ्चालन भइरहेका छन्।

आठबिसकोट नगरपालिकामा १ सय ३९ वटा अस्थायी सिकाइ केन्द्र निर्माणको अन्तिम चरणमा रहेको नगर प्रमुख रवि केसीले जानकारी दिए। उनका अनुसार विद्यार्थीको पठनपाठनलाई सहज बनाउने उद्देश्यका साथ अस्थायी सिकाइ केन्द्रलाई प्राथमिकता दिइएको हो। अस्थायी सिकाइ केन्द्र निर्माणका लागि युनिसेफले नगरपालिकासँग सहकार्य गरेको नगर प्रमुख केसीले बताए। युनिसेफले एउटा केन्द्रको लागि दुइटा त्रिपाल, १० किलो प्लास्टिक, ३२.५ वर्गमिटर पि फर्म र विद्यार्थीहरूका लागि आवश्यक पर्ने शैक्षिक सामग्री उपलब्ध गराएको छ। 

नगरपालिकाका शिक्षा शाखा प्रमुख इन्द्रबहादुर बिष्टका अनुसार भूकम्पले आठबिसकोटमा मात्रै ११ जना विद्यार्थीको मृत्यु भएको छ। साथै एक जना कार्यालय सहयोगीको पनि ज्यान गएको छ। उनले नगरपालिकाभित्र रहेका ६४ विद्यालयमध्ये ५३ वटा विद्यालय, २ सय ५२ वटा कक्षाकोठा, ७६ वटा शौचालय र ९ हजार ८ सय ४७ जना विद्यार्थी प्रभावित भएको जानकारी दिए। 

भूकम्पको कारण घर भत्किँदा विद्यार्थीका किताब, कापीसमेत क्षति पुगेको छ। शाखा प्रमुख बिष्टले कक्षा १ देखि १० सम्मका १ हजार ४ सय ४१ किताबका सेट बिभिन्न विद्यालयबाट माग भई आएको जानकारी दिए। अहिले नगरपालिकाले १ सय ३९ वटा सिकाइ केन्द्र बनाएर पठनपाठन सुरु गर्ने भएको छ।  

रुकुमपश्चिममा भूकम्पमा परेर १८ जना विद्यार्थीको मृत्यु भएको छ। सामाजिक विकास कार्यालय रुकुमपश्चिमको तथ्यांकअनुसार एक जना विद्यालय कर्मचारीको मृत्यु भएको छ भने एक जना विद्यार्थी र एकजना शिक्षक घाइते भएका छन्। भूकम्पको कारण रुकुमपश्चिमका ११ हजार ९ सय ५२ विद्यार्थी प्रभावित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.