ओटीसी कारोबारमा रेकर्ड

३ महिनामै पौने २ अर्बको कारोबार, २ सय बढी कम्पनी दर्ता

ओटीसी कारोबारमा रेकर्ड

काठमाडौं : नेप्सेमा सूचीकृत भएका कम्पनी र तिनको सेयर कारोबार त अनलाइन प्रणालीमार्फत हुन्छ, ब्रोकरले यो कार्यको सहजीकरण गर्छन्। तर, सूचीकृत नभएका वा सूचीबाट हटाइएका पब्लिक कम्पनीको सेयर खरिदबिक्री कसरी गरिन्छ ? भन्ने धेरै कमलाई थाहा होला।

त्यस्ता कम्पनीको सेयर किनबेच भौतिक रूपमै गर्नुपर्ने हुन्छ। त्यसका लागि नेपाल स्टक एक्सचेन्जले ओटीसी (ओभर द काउन्टर) कारोबारको सहजीकरण गर्छ। नेप्सेमै रहेको ओटीसी शाखाबाट हुने यो कारोबार पछिल्लो समय भने बढ्दै गएको छ। चालू आर्थिक वर्षको पहिलो तीन महिनामै पौने दुई अर्ब रुपैयाँको ओटीसी कारोबार भएको छ। जबकि औसतमा वार्षिक एक अर्ब ६६ करोडको मात्र कारबाही हुने गर्छ।

ओटीसी कारोबार सुरु भएको आठ वर्षमा २ सय ६ वटा कम्पनीहरू ओटीसी कारोबारका लागि दर्ता भएका छन्। सुरुसुरुमा ओटीसी बजारमा दर्ता र कारोबार नगन्य थिए। सुरु भएको करिब डेढ वर्षसम्म करिब २० ओटा कम्पनी मात्रै दर्ता भएको थियो।

अहिले भने ओटीसी बजारमा उल्लेख्य मात्रामा पब्लिक कम्पनी दर्ता तथा ती कम्पनीका सेयर कारोबार हुन थालेका छन्। होटल, अस्पताल, केबलकार, शैक्षिक संस्था, जलविद्युत् कम्पनीसम्मको कारोबार यहाँ हुने गरेको छ। कम्पनी रजिस्ट्रार कार्यालयले सेयर नामसारी तथा किनबेच अनिवार्य रूपमा ओटीसीमार्फत गर्नुपर्ने निर्देशन दिएको छ।

आर्थिक वर्ष २०८०/०८१ को पहिलो त्रैमासमै २६ ओटा पब्लिक कम्पनीको सेयर किनबेच ओटीसीमार्फत भएको छ। ती कम्पनीको १ करोड ३६ लाख ७२ हजार १ सय २० बराबर कित्ता सेयर किनबेच भएका छन्। सो सेयरको मूल्य १ अर्ब ७१ करोड ६ लाख ६८ हजार रुपैयाँ हुन आउँछ।

आईपीओ नगएका पब्लिक कम्पनीका सेयर किनबेच ओटीसीमार्फत गरिन्छ। यस्तो व्यवस्थाले कम्पनीको सेयर किनबेच सहज भएको छ। नेप्सेले पनि ओटीसी कारोबार सञ्चालन गर्दै आएको छ। ओटीसी बजार सञ्चालन विनियमावली २०६५ बनेको भए पनि कारोबार २०७२ देखिमात्रै हुन थालेको हो।
मुराहरि पराजुली, प्रवक्ता, नेप्से 

ओटीसीमार्फत कारोबार हुने सेयर सामान्यतया प्रतिसेयर एक सय रुपैयाँमा किनबेच हुने र राम्रो वित्तीय स्थिति भएका कम्पनीको मूल्य भने प्रतिकित्ता सयभन्दा माथि पनि हुने गरेको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार चालू आवको पहिलो त्रैमासमा ओटीसी बजारमा कारोबार भएको वल्र्डलिंक कम्युनिकेसनको भने प्रतिकित्ता ९ हजार ३ सय ७५ रुपैयाँका दरले किनबेच भएको छ। कम्पनीका सेयरधनीले गत साउन ११ गते १३ हजार ३ सय ९२ कित्ता सेयर किनबेच गरेका थिए। यो सेयरको मूल्य १२ करोड ५५ लाख ५० हजार रुपैयाँ छ।

असोज २९ गते काठमाडौं मेडिकल कलेजका सेयरधनीले ४ लाख ९८ हजार ७ सय ७६ कित्ता सेयर प्रतिकित्ता २ सय ५९ रुपैयाँ ७६ पैसाका दरले कुल १२ करोड ९५ लाख ६२ हजार रुपैयाँमा किनबेच गरेका थिए। यसअवधिमा बन्दीपुर केबलकार टुरिजमको सेयर ३ पल्ट खरिदबिक्री  भएको छ। भदौ १७ गते प्रतिकित्ता १ सय ४० रुपैयाँ दरमा १० हजार कित्ता, असोज ९ गते २० हजार कित्ता र असोज २९ गते ५ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस्तै आईएमई डिजिटल सोलुसनको सेयर प्रतिकित्ता १३६.३९ रुपैयाँमा २९ लाख ४० हजार कित्ता किनबेच भएको छ। यसबीचमा अन्नपूर्ण केबलकारको सेयर भदौ १८ गते प्रतिकित्ता १ सय ४० मा २ लाख ८८ हजार ७२ कित्ता किनबेच भएको छ।यसबाहेकका कम्पनीहरूको सेयर प्रतिकित्ता १ सयदेखि १ सय १३ रुपैयाँसम्मको दरमा खरिदबिक्री भएका छन्। हिम रिभर पावर, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, मुक्तिनाथ कृषि कम्पनी, एभरेस्ट हस्पिटालिटी कम्पनी, बीओके क्यापिटल मार्केट, यामलिङ हाइड्रो, गर्जाङ उपत्यका पावर, जनज्योति एजुकेसन फाउन्डेसन, एपोलो हाइड्रोपावर, इलेक्ट्रो पावर, सोपान मल्टिपल कम्पनी, अवसर इक्विटी, भरतपुर सामुदायिक अस्पताल, चण्डेश्वरी महादेव खोला पावर, लक्ष्मी स्टिल, गरिमा क्यापिटल, चार्टर्ड क्यापिटल एन्ड इन्भेस्टमेन्ट, बरुण इन्भेस्टमेन्ट र काठमाडौं मेडिकल कलेजको सेयर ओटीसीमार्फत खरिदबिक्री भएका छन्।

नेप्सेले वि.सं २०६४ देखि ओटीसी मार्केटको अवधारणा ल्याए पनि २०७२ माघ १८ गतेदेखि सञ्चालनमा ल्याइएको थियो। ओटीसी बजारमा कारोबार हुने कम्पनीहरूमध्ये मारुती सिमेन्ट पहिलो कम्पनी हो। यसपछि नेपाल हाइड्रो डेभलभर, काठमाडौं फरेस्ट्री कलेज, ग्रोमोर मर्चेन्ट बैंकिङलगायत रहेका थिए।

नेप्सेमा सूचीकृत नभएका तर कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका हरेक पब्लिक कम्पनीहरूले आफ्नो सेयर स्वामित्व बिक्री तथा खरिद गर्न ओटीसी बजारमा दर्ता भएपछि मात्रै सेयर कारोबार गर्न पाउँछन्। हाल कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार पब्लिक कम्पनीको संख्या १ हजार ९ सय ५८ छ। यसमध्ये २ सय ६ कम्पनी ओटीसीमा दर्ता छन्।

ओटीसी बजारको कारोबार दोस्रो बजारको जस्तो प्रभावकारी हुँदैन। यस्तो बजार अनियमित र आवश्यकतामा भर पर्ने भएकाले पनि खासै धेरै कारोबार भइरहँदैन। ओटीसी सक्रिय हुनुपर्छ भन्ने पनि छैन। यो एक प्रकारको निकासको व्यवस्था हो। कम्पनीभित्र सेयर लिएका सेयर होल्डरले चाहेको बेला किनबेच गर्ने सजिलो माध्यम ओटीसी हो। ओटीसी आवश्यकतामा भरपर्ने भएकाले यसको आकर्षण नेप्से सूचीकृत कम्पनीको जस्तो हुँदैन। संसारमा धेरैभन्दा धेरै सेयर किनबेच ओटीसीबाट हुने गरेको छ तर नेपालमा भने यस्तो कारोबार कमसल कम्पनीले मात्र गर्छन् भन्ने धारणा विकास भएको छ।

ओटीसी कारोबार गर्न निःशुल्क रूपमा कम्पनी दर्ता गर्न सकिन्छ। तर, सेयर खरिद बिक्री भएको अवस्थामा भने नेपाल धितोपत्र बोर्ड र धितोपत्र बजारलाई निश्चित शुल्क बुझाउनुपर्छ। साथै नेपाल सरकारलाई पुँजीगत लाभकर पनि बुझाउनुपर्छ। ओटीसी बजार सञ्चालन विनियमावली २०६५ अनुसार ओटीसी बजारमा धितोपत्र बजारले सूचीकरण खारेज गरेका कम्पनीका धितोपत्रहरू र धितोपत्र बजारको सूचीकरणका लागि आवश्यक सर्तहरू पूरा गर्न नसकी सूचीकरण हुन नसकेका कम्पनीका धितोपत्रहरू कारोबार गर्न सकिनेछ। तर, ओटीसी बजारमा कारोबार गराउने अभिप्रायले कुनै पनि सूचीकृत कम्पनीको सूचीकरण खारेज नगरिनेसमेत विनियमावलीमा उल्लेख छ।

ओटीसी कारोबार गर्दा लाग्ने सेवा शुल्क

ओटीसी बजारमा धितोपत्र खरिदबिक्री गर्दा प्रत्येक खरिदकर्ता तथा बिक्रीकर्ताले कारोबार रकमको आधारमा कारोबार शुल्क बुझाउनु पर्छ। २५ हजारसम्मको कारोबार भएमा ०.२० प्रतिशत, ५० हजारसम्मकोमा ०.१८ प्रतिशत र त्यसभन्दा बढीको सेयर कारोबार गर्न ०.१५ प्रतिशत नेप्सेलाई बुझाउनुपर्छ। उक्त शुल्कबाट नेपाल धितोपत्र बोर्डले ०.०१५ प्रतिशत लिने गर्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.