लोपोन्मुख अवस्थामा हिमाली ‘झोपा’
जोमसोम : एक दशक अघि मुस्ताङका किसानले परम्परागत रूपमा गोरु झोपाबाट आफ्नो खेतबारी खनजोत गरिन्थ्यो।
यिनै गोरु झोपालाई भारी बोकाएर जंगलबाट दाउरा र खेतबारीमा मल ओसार्न गरिन्थ्यो। झोपाको काम सकिएपछि नजिकैको लेंकमा छाडिन्थ्यो। पछिल्लो समय परम्परागत कृषि पद्धति आधुनिक पद्धतिमा रूपान्तरण हुन थालेपछि मुस्ताङमा हिमाली गोरु झोपा लोपोन्मुख अवस्था पुगेको हो।
पहिला पहिला झोपा हुनेले खेतबारी भए पनि झोपा नहुनेलाई कृषि श्रमदान (पर्म) लगाएर खेतबारी खनजोत गर्न सघाउँथे। कसैले झोपा मागेर दाउरा खोज्न गए उसले झोपा धनीसँग आधा आधा भाग लगाउनु पर्थ्यो।
प्रविधिको विकाससँगै कृषिमा यान्त्रिक कृषि उपकरण प्रयोग हुन थालेपछि परम्परागत गोरु झोपाको महत्व घटेको घरपझोङ-४ जोमसोमका किसान अजित थकालीले बताए।
यहाँका किसानले सरकारी निकायबाट अनुदानमा खेतबारी जोत्ने यान्त्रिक प्रविधि मिनि ट्रेलर पाउन थालेपछि परम्परागत रूपमा पालन गरिएका झोपा पाल्न छोडेको कृषक थकालीको भनाइ छ।
परम्परागत तवरबाट कृषि कर्म अपनाउँदा खेत जोत्ने झोपाको व्यवस्थापन गर्न गाह्रो हुने, कामदार खोज्दा नपाइने, समय र पैसा पनि धेरै लाग्ने भएकाले झोपाको प्रयोग हुन छाडेको हो।
यान्त्रिक प्रविधिले सीमित कामदार, कम समय, कम लागत र समयमै काम गर्न सजिलो माध्यम भएकाले जिल्लाका आधा जसो किसानले आधुनिक प्रविधिको यान्त्रिक मिनि ट्रेलर उपकरण प्रयोग गरिरहेको थासाङ-२ सौरुका किसान सोजन हिराचनले बताए।