संविधानमाथि प्रहार अशुभ संकेत
दुर्गा प्रसाईंको आन्दोलनसँगै संविधानको आधारभूत चरित्रमाथि प्रहार भएको दृष्टान्त बाहिर आएको छ। यो गम्भीर विषय हो। यसको समयमै निदान खोज्नुपर्छ। अरू विरोध जस्तो उपेक्षा गर्न मिल्दैन। यो राज्यविरुद्धको भइसक्यो। राजद्रोह नै भइसकेको छ। यसले मुलुकमा अस्थिरता ल्याउँछ।
प्रणाली बन्न दिँदैन। नेपालका अधिकांश अस्थिरता संविधानसँग जोडिएका छन्। आन्दोलनपिच्छे संविधान फेर्ने काम राम्रो होइन। यो टिकाउहोस् भन्ने हाम्रो चाहना छ। संविधान संशोधन गरेर भए पनि निरन्तरता दिनुपर्छ। असन्तुष्ट पक्षका माग सम्बोधन संविधान र संसद्भित्रबाट गर्नुपर्छ। संविधानका आधारभूत चरित्र फेर्न त मिल्दैन। शान्तिपूर्ण मत प्रकट गर्ने अधिकारको सम्मान गर्नुपर्छ।
सरकारका काम प्रतिविरोध र असन्तुष्टि प्रकट गर्नु स्वाभाविक नै हो। तर, संविधानको आधारभूत चरित्रमाथि प्रहार गर्नु भनेको देशका लागि शुभ संकेत होइन। संविधानको भावनाअनुसार कार्यान्वयन हुन सकिरहेको छैन। संविधान मिच्ने काम भइरहेको छ। संविधानलाई कमजोर बनाउने काम भइरहेको छ।
(संविधानविद् ढुंगाना पूर्वसभामुख हुन्)