इन्भेस्टमेन्ट कम्पनी पनि हेर्ने कि ?
काठमाडौं : नेपाल स्टक एक्सचेन्जमा कुल सात वटा इन्भेस्टमेन्ट (लगानी) समूहका कम्पनी छन्। २०७७ फागुन १५ देखि कारोबार हुने यस उपसूचकमा साबिकका अन्य समूहका चार कम्पनीलाई सारिएको थियो।
सुरुमा नागरिक लगानी कोष, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी, नेपाल पूर्वाधार बैंक, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट रहेको समूहमा पछि सीईडीबी हाइड्रो, इमर्जिङ नेपाल र हाथवे इन्भेन्टमेन्ट पनि थपिए।
इन्भेस्टमेन्ट समूहलाई ‘लगानी समूह’ पनि भन्ने गरिन्छ। यस समूहका कम्पनीले सेयर बजार, जलविद्युत्, घरजग्गालगायत क्षेत्रमा लगानी गर्दै त्यसबाट प्रतिफल लिने गरेका छन्।
प्राप्त प्रतिफलमा कम्पनीको खर्च कटाएर सेयरधनीलाई नाफा दिँदै आएका छन्। यी समूह इक्विटी वा कर्जाको रूपमा लगानी गर्ने गर्छन्। हेरौं, चालू आर्र्थिक वर्षको पहिलो त्रैमासिकसम्मको वित्तीय विवरणअनुसार कुन परिसूचकमा कुन कम्पनी अब्बल ?
चुक्ता पुँजी
नेप्सेमा सूचीकृत सबैभन्दा ठूलो इन्भेस्टमेन्ट कम्पनी एचआईडीसील हो। कम्पनीको चुक्ता पुँजी २२ अर्ब ७७ करोड रुपैयाँ बढी छ। यस्तै सबैभन्दा सानो कम्पनी इमर्जिङ नेपाल हो। हाथवेबाहेक यी कम्पनीको साधारण सेयरको अंकित मूल्य १०० रुपैयाँ हो। हाथवेको भने प्रतिकित्ता ५० रुपैयाँमात्र हो।
खुद नाफा
नेप्सेमा सूचीकृत लगानी (इन्भेस्टमेन्ट) समूहका सात वटा कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०–८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले सबैभन्दा बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले ४१ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको छ भने इमर्जिङ नेपालको नाफा सबैभन्दा कम मात्र १९ लाख रुपैयाँ छ।
दोस्रो धेरै नाफा कमाउने कम्पनी हो, एचआईडीसीएल। कम्पनीले ३७ करोड ८९ लाख खुद नाफा गरेको छ। एचआईडीसीएल र निफ्रा दुवै २० अर्ब रुपैयाँभन्दा धेरै पुँजी भएका कम्पनी हुन्।
प्रतिसेयर आम्दानी
सबैभन्दा धेरै प्रतिसेयर आम्दानी नागरिक लगानी कोषको रहेको वित्तीय विवरणले देखाउँछ। कोषको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा रहँदा सबैभन्दा कम हाथवे इन्भेस्टमेन्टको रहेको छ।
सबैभन्दा बढी नेटवर्थ भने सीईडीबी हाइड्रोपावर कम्पनी (सीएचडीसी) को छ। कम्पनीको नेटवर्थ १६३ रुपैयाँ ९० पैसा रहेको छ।
दोस्रो बजार मूल्य र पीई रेसियो
पर्फमेन्स खासै गतिलो नभए पनि लगानी समूहका कम्पनीको सेयर दोस्रो बजारमा महँगो पर्छ। २० करोड कित्ताभन्दा बढी सप्लाई भएका एचआर्ईडीसीएल र निफ्राबाहेक सबै कम्पनीको सेयर किन्न दोस्रो बजारमा प्रतिकित्ता दुई सय रुपैयाँभन्दा बढी खर्चनुपर्छ। यी सातमध्ये सबैभन्दा महँगो सेयर नागरिक लगानी कोषको हो। मंगलबारको क्लोजिङ प्राइसअनुसार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९ सय २० रुपैयाँ छ।
यता पीर्ई रेसियोअनुसार विश्लेषण गर्ने हो भने लगानी समूहको सेयर किन्दा खासै प्रतिफल नहुने देखिन्छ। दोस्रो बजारमा २४ देखि ५ सय ५३ रुपैयाँसम्म तिर्दा पनि यी कम्पनीको सेयरबाट एक रुपैयाँ प्रतिफल प्राप्त गर्न धौ धौ हुन्छ। पीई रेसियोले दोस्रो बजारको मूल्य र ईपीएसको अनुपात देखाउँछ।
अर्थात्, यी कम्पनीबाट एक रुपैयाँ कमाउन दोस्रो बजारमा कति मूल्य तिर्नुपर्छ भन्ने हिसाब पनि पीई रेसियोले दिन्छ। यस अर्थमा इन्भेस्टमेन्ट समूह प्रतिफल कम भए पनि भविष्यमा राम्रो हुने अपेक्षासाथ लगानीकर्ताले किन्न रुचाउने कम्पनी हो भन्दा फरक पर्दैन।