खोटाङको बराहपोखरीमा सांस्कृतिक महोत्सव

खोटाङको बराहपोखरीमा सांस्कृतिक महोत्सव
सुन्नुहोस्

उदयपुर : उदयपुरसँग सिमाना जोडिएको खोटाङको बराहपोखरी प्रवद्र्धनका लागि सांस्कृतिक महोत्सव आयोजना गरिएको छ। खोटाङको दक्षिणी क्षेत्रमा पर्ने बराहपोखरीलाई पर्यटकीय हबको रूपमा विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो। 

बराहपोखरी गाउँपालिकाको आयोजना र खोटाङ कलाकार समाजको सहआयोजनमा दुई दिने बृहत् सांस्कृतिक महोत्सव आयोजना गरिएको हो। महोत्सवमा गाउँपालिकाभित्रका विभिन्न जातजातिको आ–आफ्नो मौलिकता, संस्कृति र पहिचान झल्काउने सांस्कृतिक झाँकी र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको सांगीतिक प्रस्तुति रहेको गाउँपालिकाका प्रमुख शालिकराम बञ्जाराले बताए। धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा दुई दिन बृहत् मेला लगाइएको उनले बताए। ‘बराहपोखरीलाई प्रवद्र्धन गर्न सांस्कृतिक महोत्सव आयोजना गरिएको हो’, उनले भने, ‘यो महोत्सवले गाउँपालिकाको आर्थिक उन्नतिमा समेत सघाउ पुग्ने अपेक्षा गरेका छौं।’ 

महोत्सवमा चर्चित गायक शम्भु राई, हास्यकलाकार सुबोध गौतम, गायक कमल खत्रीलगायतका दुई दर्जनभन्दा बढी कलाकार सहभागी रहने सहआयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक रूपकुमार राईले बताए। महोत्सवमा भर्खरै सम्पन्न ‘खोटाङ प्रतिभा– २०८०’ का विजेताको समेत सांगीतिक प्रस्तुति रहने जनाइएको छ। परापूर्वकालदेखि लाग्दै आएको मेलाका साथै सांस्कृतिक महोत्सवलाई लक्षित गर्दै गाउँपालिकाले पालिकाभरि दुई दिन सार्वजनिक बिदाको घोषणा गरेको छ। संसारकै लोपोन्मुख रातो माछा पाइने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीलाई नेपाल सरकारले एक सय गन्तव्यस्थलको सूचीमा समावेश गरेको अध्यक्ष बञ्जराले बताए।

हरिबोधनी एकादशीका अवसरमा धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा बालन र संगिनीसमेत नाच्ने चलन छ। चार दशमलव ४६ हेक्टर क्षेत्रफलमा फैलिएको ‘अर्धचन्द्राकार’ को पोखरीमा पाइने दुर्लभ रातो माछाले पर्यटकको मन लोभ्याउने गरेको स्थानीय एमाले नेता ईश्वर बञ्जराले बताए। परापूर्वकालमा एउटा घरको अँगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसलाई बराहपोखरी भनिएको किंवदन्ती छ। चारैतिर पहाडैपहाडको बीच भागमा रहेको समथर जमिनमा बराहपोखरी रहेको छ। 

विवाह गरेको लामो समयसम्म सन्तान नभएका जोडीले पूजाआजा गरेमा सन्तान प्राप्ति हुने विश्वास छ। धार्मिक आस्थाका धरोहर मानिने बराहतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुँदै गएको गाउँपालिका उपप्रमुख भूवलराज राईले बताए। बराहपोखरी आउने पर्यटकलाई लक्षित गरेर पालिकाले तीन वटा डुंगासमेत सञ्चालनमा ल्याएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.