सर्वसाधरण त्रसित
तीनकुनेमा दुर्गा प्रसाईंका कार्यकर्ता जम्मा हुन नदिने प्रहरीको रणनीति, पैदलयात्रीसमेत निशानामा
काठमाडौं : दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी हुन तीनकुने आएका उनका समर्थकमाथि प्रहरीले निगरानी बढाएको छ। तीनकुनेमा ४/५ जनाको समूह बन्ने बित्तेकै उनका कार्यकर्तालाई तत्काल नियन्त्रणमा लिने प्रहरीले रणनीति बनाएको छ।
प्रशासनले तीनकुने क्षेत्रलाई निषेधित क्षेत्र घोषणा नगरेपनि आजको कार्यक्रमका लागी प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाललाई कार्यक्रम गर्न अनुमति प्रदान नगरेको भन्दै प्रहरी सक्रिय भएका हुन्।
तीनकुने क्षेत्रमा अहिले पैदल यात्रा गरिरहेका सर्वसाधरण नागरिकमाथि पनि प्रहरीले सोधपुछ जारी राखेको छ। आफ्नो गन्तव्यमा हिँडेका सर्वसाधारणसमेत प्रहरीको निशानामा परेका छन्। प्रहरीसँग विवाद गर्यो कि उसले भ्यानमा हालिहाल्छ।
तीनकुनेको पेट्रोल पम्प नजिकै जम्मा भएका १०/१५ जनाको समूहलाई सिंनामगलतर्फ फर्काएको छ भने प्रहरी पनि उनीहरुको पिछा गर्दै गएको छ। तीनकुने क्षेत्रमा रहेका चिया पसलहरुमा समेत प्रहरीले सोधपुछ गरिरहेको छ। कतिपय अवस्थामा प्रहरीले सुरक्षाका नाममा सर्वसाधरणलाई त्रसित बनाएको छ।
शुक्रबार बिहान प्रसाईं समूहका समर्थकलाई प्रहरीले तीनकुनेमा धरपकड गरेको थियो। प्रत्यक्षदर्शीका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार सहभागी हुन आएका ८/९ जनालाई तीनकुनेबाट प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो।
अहिले तीनकुने क्षेत्रमा प्रहरीले सर्च अभियानसमेत सञ्चालन गरेको छ। प्रहरीको कडा सुरक्षा घेरामा रहेका मेडिकल व्यवसायी प्रसाईंले बिहीबारदेखि काठमाडौंमा जारी प्रदर्शन कायम रहने बताउँदै आएका छन्। भक्तपुरको ठिमीस्थित निवासमा शुक्रबार बिहान पत्रकारहरूसँग आफ्नो आन्दोलन नरोकिने पुन दोहोर्याएका थिए।
स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला/जम्मा हुन नदिने प्रशासनले जनाएको छ। ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंशात्मक गतिविधि गर्न उक्साउने र व्यक्तिकेन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबारदेखि काठमाडौंको तीनकुने क्षेत्रमा भेला/जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन विथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ।’ सहायक प्रमुख जिल्ला अधिकारी एवम् प्रवक्ता रविन्द्रप्रसाद आचार्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन।’
नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा विना हातहतियार शान्तिपूर्वक भेला हुने संविधान तथा प्रचलित कानुन प्रदत्त अधिकारको उपभोग र सोको सम्मान गर्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा भनिएको छ,‘सुरक्षा निकायसँग समन्वय गरी कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित एवं व्यवस्थित रूपमा सञ्चालन गर्ने सुनिश्चिततासहित लिखित रूपमा माग भई आएमा आयोजकसँगको समन्वयमा उपयुक्त स्थानमा कार्यक्रमस्थल उपलब्ध गराई सुरक्षा प्रदान गरिने गरेको र आगामी दिनमा समेत सोही बमोजिम हुने ब्यहोरा अवगत गराइन्छ।’