उदयपुर रेडक्रसमा अनियमितता

उदयपुर रेडक्रसमा अनियमितता
सुन्नुहोस्

उदयपुर : रक्त सञ्चार सेवा केन्द्र स्थापनाका लागि विदेशबाट पठाएको रकम हिनामिना भएको पाइएको छ। प्रवासी उदयपुर एकता समाज सेवा मलेसियाले रक्त सञ्चार केन्द्र सञ्चालनार्थ अक्षयकोष निर्माण गर्न नेपाल रेडक्रम सोसाइटी (नेरेसो) उदयपुरलाई २०६९ सालमा पठाएको तीन लाख रुपैयाँ हिनामिना भएको हो। 

कोषको साँवाब्याज दुवै रकम ११ वर्ष बढी समय पुग्दा समेत बेपत्ता भएपछि समाजका अध्यक्ष राजकुमार राईले छानविन र कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई निवेदन दिएका छन्। प्रवासी समाज र रेडक्रसबीच भएको सम्झौता अनुसार रक्त सञ्चार केन्द्र सञ्चालन नभएको र रकमको अवस्था बुझ्दा कहीँ कतै नदेखिएपछि प्रजिअलाई निवेदन दिन बाध्य भएको अध्यक्ष राईले बताए। 

२०६८ भदौ २४ गते तत्कालीन प्रमुख जिल्ला अधिकारी वीरबहादुर राइको अध्यक्षतामा बसेको सर्वदलीय सर्वपक्षीय भेलाले रक्त सञ्चार केन्द्रको दिगो श्रोत व्यवस्थापन गर्न अक्षय कोष स्थापना गर्ने निर्णय अनुरूप प्रवासी एकता समाजले ५ लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता गरेको थियो। 

सोही अनुसार पहिलो किस्तावापत ३ लाख रुपैयाँ समाजले तत्कालीन सभापति विनोदकुमार बस्नेतलाई २०६९ वैशाख ५ गते रकम हस्तान्तरण गरेको थियो। तर, नेरेसोले अक्षय कोष स्थापना सहमति अनुसार नगरेपछि समाजले दोश्रो किस्तावापतको २ लाख रुपैयाँ रोकेको थियो।

अध्यक्ष राईले भने, ‘रक्त सञ्चार सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि बुझाएको पहिलो किस्ताको अवस्था के छ भन्ने हामीले बुझ्ने प्रयास गर्यौं, तर उहाँहरूले त्यस बारे कुनै पनि जानकारी दिनु भएन र चाहनु पनि भएन त्यसपछि हामीले दोस्रो किस्ता रोकेका हौ। ‘हामीले दुःख गरेर पठाएको रकमको अवस्था के छ भनेर बुझ्न पाउनु हाम्रो अधिकार थियो, सोही अनुसार बुझ्यो तर केही जवाफ नआएपछि रकम मात्र रोकेनौ,' उनले भने, ‘२०७३ साउन २५ र भदौ २८ गते लिखित रूपमा पत्राचार गरि रकम फिर्ता मागेका थियौं त्यसको पनि कुनै जवाफ नआएकाले रकम हिनामिना नै भएको हामीले निष्कर्ष निकालेका हौ।'

पटक–पटक पत्राचार गर्दा समेत हामीलाई आलटाल गरी अल्मल्याउने प्रयास भएपछि आफ्नो जिल्लाको सामाजिक हितका लागि विदेशमा रगत पसिना बगाएर पठाएको रकम हिनामिना हुनुले सारै दुखित बनाएको उनले गुनासो पोखे। ‘हामीलाई रकम फिर्ता चाहिएको थिएन, आफ्नै जिल्लाका जनताले सेवा पाउन भन्ने हिसाबले सहयोग गरेका थियौँ,' राईले भने, ‘तर त्यसको सदुपयोगको साटो दुरुपयोग भएकाले मन दुख्यो र फिर्ता मागेका हौ, त्यति गर्दा पनि नभएपछि खोजीका लागि प्रजिअलाई निवदेन दिएका हौं।'

निवेदनमा रकम अनियमिमता भएको भए कारबाहीँको समेत माग गरिएको छ। ‘रेडक्रस जस्तो पबित्र संस्थामा यस्तो हुन्छ भन्ने कल्पना गरेका थिएनौ,' अध्यक्ष राईले भने, ‘रक्त सञ्चार सेवा जनताको सहजताका लागि खोलिएको हो, त्यस क्षेत्रमा यस्तो हिनामिना हुनु दुःखदायी हो।'

राईले रेडक्रस केन्द्रीय समिति काठमाडौं, जिल्ला शाखा, जिल्ला प्रहरी कार्यालय उदयपुरलाई बोधार्थ दिई प्रजिअलाई सम्बोधन गरि निवेदन दिएका छन्। अक्षय कोषको रकम हिनामिनाका सन्दर्भमा प्रजिअ गौतमले निवेदन उपर छानविन प्रकृया सुरु भएको बताए। उनले भने, ‘छानविन सुरु गरेका थियौ, सहायक प्रजिअको सरुवा भएर जानु भयो, त्यसले केही समस्या भयो, तर पनि हामी चाँडै टुंग्याउने प्रयासमा छौं।' ‘निवेदनसँगै तत्कालीन सभापति विनोद बस्नेतको समितिलाई हामीले के भएको हो भनि पत्रमार्फत सोधेका थियौं, जवाफमा कर्मचारीलाई तलब भत्ताको वैकल्पिक व्यवस्था नभएकाले पछि सोधभर्ना गर्ने गरी खर्च गरेका हौ भन्ने छ, त्यस विषयमा पनि छानविन हुन्छ', प्रजिअ घिमिरेले भने।

रकमका विषयमा रेडक्रस शाखाका वर्तमान सभापति मदनराज कटुवालले रक्त सञ्चार सेवा केन्द्र सञ्चालन गर्न कुनै पनि अक्षय कोष स्थापना नभएको बताए। उनले भने, ‘अक्षय कोष स्थापना गर्न रकम आएको भन्ने पहिला सुनेको थिए, अहिले हाम्रो टिम आएपछि खोज्ने क्रममा हिनामिना भएको भन्ने निवेदन आइपुगेको छ, यस विषयमा छानविन गर्छौं।'

पुरानो समितिले अहिलेसम्म पनि बरबुझारथ नगरेकाले कोषको अवस्थाका विषयमा बैंकहरूमा बुझ्दासमेत कहीँ जम्मा भएको नदेखिएको बताए। उनले भने, ‘हामीले बरबुझारथ गर्न पटक–पटक पत्राचारगर्दा समेत उहाँहरू सम्पर्कमा आउनु भएको छैन, आज कोषको कुरा उठेको छ, उत्तिकै संस्थाको सवारी साधन दुरुपयोगको कुरा आएको छ, यसर्थ अव हामी कानुनी उपचार खोज्छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.