अजितले अहिलेसम्म अमेरिका, जापान, भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, इटलीलगायत १५ भन्दा बढी प्रदर्शनी गरेका छन्।
घरमा पूजाआजा या यस्तै पुण्य कर्म हुँदा जब चामल या गहुँको पिठोको रेखीबाट सुन्दर चित्रहरू बनाइन्थ्यो, त्यही चित्र अजित शाहको दिमागमा बस्यो। फलतः नेपालको जनकपुरधाममा जन्मिएका उनी मिथिला आर्टको दूतको रूपमा अन्तर्राष्ट्रिय जगत्मा परिचित छन्।
सानैदेखि मिथिला कलालाई नियालेर हेर्थे अजित। घरमा पूजाआजा भएका बेला उनले चामलको रेखीले बनाइने मण्डपबाटै आर्ट गर्न सिकेका हुन्। भन्छन्, ‘चामलको रेखीले त्यो मिलेको नक्सा घरमै बनाउनु हुन्थ्यो, त्यही हेरेर आर्ट गर्न सिकें।’ उनलाई आठ कक्षादेखि चित्र कोर्ने लत बस्यो। रहर र बाध्यता हुँदै व्यावसायिक मिथिला कलाकारका रूपमा परिचित शाहले मिथिला आर्ट गर्न थालेको झन्डै ४३ वर्ष हुन थाल्यो। हालसम्म ३५ सयभन्दा बढी चित्र बनाए।
स्कुल पढ्दादेखि नै अजित चित्र बनाएर बेच्थे। जनकपुरमा घुम्न तथा अनुसन्धानका लागि आउने देशीविदेशीले उनका चित्रलाई खुब मन पराउँथे। जब तिनले किन्थे तब उनलाई अरू पनि चित्र बनाउँ बनाउँ लाग्थ्यो। चित्र कोर्नु एउटा अद्भुत कला हो। यो पेसामा लागेकासँग छुट्टै सिर्जना हुन्छ। व्यक्तित्व, रहनसहन, लुगा लगाउने चलन, जीवनस्तर, पेसा, व्यवसाय, धर्म, हिमाल, पहाड र दैनिकीलाई टपक्कै टिपेर चित्र कोर्न माहिर छन्, अजित।
सानोमा आमाबुवा धानको भकारी, लगाएका लुगा र खेतीपाती झल्किने गरी छोराले चित्र कोर्दा असाध्यै खुसी हुनुहुन्थ्यो। सम्झन्छन्, ‘त्यही खुसी र बुवाआमाको आडभरोसाले मलाई थप बल मिल्यो। यही पेसाबाट जीवन गुजारिरहेको छु।’ सुरुसुरुमा जब अजितले चित्र कोरेर स्कुलमा शिक्षकशिक्षिकालाई देखाउँथे, तब पुरस्कार पाउँथे। अजितको घरमा सानोमा चित्र कोरेर पुरस्कारस्वरूप पाएको सिसाकलम र कापीको चाङ हुन्थ्यो। यसरी कर्म गर्दै जाँदा उनले थुप्रै राष्ट्रिय पुरस्कार पाए। अजित भन्छन्, ‘मैले कोरेका चित्रहरू जापानको पुस्तकालयदेखि अमेरिकी राष्ट्रपतिको कार्यालयसम्म टाँगिएका छन्।’
अजितले मिथिला कलामा योगदान दिएबापत नेपालका राष्ट्रपतिबाट प्रबल जनसेवा पुरस्कार पाएका छन्। दुई पटकसम्म उत्कृष्ट उद्यमी पुरस्कार पाएका अजितले संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट लोककला राष्ट्रिय प्रतिभा पुरस्कार थापेका छन्। मैथिली एसोसिएसनबाट मिथिला रत्नबाट समेत सम्मानित उनी अम्बेडकर अवार्डबाट सम्मानित व्यक्ति हुन्। उनको जीवनी भारतको जीटीभी, जापानको एनएचके टेलिभिजनले वृत्तचित्रसमेत देखाएका छन्।
अजितले अहिलेसम्म १५ भन्दा बढी प्रदर्शनी गरिसकेका छन्। अमेरिका, जापान, भारत, बंगलादेश, श्रीलंका, सिंगापुर, इटली, बेल्जियम, भियना, जर्मनीलगायत देशमा अजितले आफ्नो कला देखाएका छन्। उनले अमेरिकाको बोस्टन, रोड आइल्यान्ड, न्युयोर्क, भर्जिनिया, क्यालिफोर्निया र हार्डवर्ड विश्वविद्यालयमा पनि प्रदर्शनी गरेका छन्।
सन् २००३ मा देशकै प्रतिनिधित्व गरेर अजितले जापानमा कला देखाए। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा पनि उनले मिथिला आर्टको प्रदर्शनी गरे। नेपालमा मिथिला कलाको पुस्तकालय खोल्ने सपना बोकेका उनी भन्छन्, ‘सबैको सहयोग भयो भने जनकपुरमा मिथिला पुस्तकालय खोल्ने ठूलो धोको छ।’
आजसम्म जति पनि सम्पत्ति जोडे, अजितले व्यावसायिक ढंगले चित्र कोरेर कमाएकोबाटै जोडे। सन् २०१८ मा अमेरिको आयोवामा प्रदर्शनीका क्रममा उनले कोरेको एउटै चित्र २३ सय डलरमा बिक्री भएको थियो। त्यो चित्र विष्णुको अवतारबारेको थियो। मान्छेको जीवनचक्र देखाइएको चित्र जापानमा ४ लाख रुपैयाँमा बिक्री गरे। उक्त चित्रमा बाल्यकालदेखि मृत्युसम्मका सबै संस्कारलाई समेटेका थिए। २०३९ सालमा एसएलसी दिएका उनी त्यसको दुई–तीन वर्षमै आत्मनिर्भर हुनेगरी यो पेसामा लागे। उनले अध्ययनलाई निरन्तरता दिँदै आत्मनिर्भर हुन आफूसँग भएको कलाको उपयोग गरे। उनले पेन्टिङ बनाएर बेच्ने, अरूलाई चित्रकला सिकाउने, तन्ना र सिरानीमा पेन्टिङ गर्न सिकाउने, नेपाली कागजमा आर्ट गर्न सिकाउने आदि काम गर्दै खर्चको जोहो गर्थे।
छोराछोरीलाई पनि उनले मिथिला आर्टमै जोडे। उनले आफूसँग भएको ज्ञान सयौंलाई सिकाइसकेका छन्। उनका चेलाहरूले पनि नेपालमा राष्ट्रिय पुरस्कारहरू पाइसकेका छन्।
‘आर्ट नै मेरो जीवन हो। यसैले मलाई नाम र दाम दियो। सर्वोत्कृष्ट पुरस्कार पाएँ। यो पेसामा सुन्दर भविष्य पनि छ’, उनी भन्छन्। उनका शिष्यको संख्या ३४ पुगिसकेको छ। उनीहरू पनि यही पेसाबाट जीविकोपार्जन गरिरहेका छन्। अचेल अजित अनलाइनबाटै पनि सिकाउँछन्।
अजित भन्छन्, ‘कलाकार देश चिनाउने दूत हो। कलाकारहरूले बुझ्न जरुरी छ कि मौलिक कलाकृतिलाई जगाउनु पर्छ। कलाकारसँग देशको भेषभूषा, कलासंस्कृतिलाई पनि जगेर्ना गर्ने जिम्मेवारीको बोध हुनुपर्छ।’ हिजोआजका बालबालिका त्यति सिर्जनात्मक नभएकोमा भने उनमा गुनासो छ। थप्छन्, ‘हिजोआज बालबालिकामात्रै नभई युवा पनि मोबाइलमुखी भए, आउने पिँढीलाई सिर्जनात्मक बनाउनुपर्ने हुन्छ। मोबाइलमा मात्रै झुल्यो भने सिर्जनात्मक भइँदैन।’ अजितले सानैदेखि प्रण गरेका थिए्, ‘जबसम्म बाँच्छु, तबसम्म मिथिला आर्टकै लागि जीवन खर्च गर्छु।’ उनी आफूलाई भाग्यमानी ठान्छन् देशको कला, संस्कृति, भेषभूषा, रहन–सहन, जीवनशैली, पेसा–व्यवसायलाई टपक्क टिपेर विश्व समुदायमा देखाउन पाएकोमा।
कलाकार अजित भन्छन्, ‘कामना छ, स्वदेशमै मर्न पाउँ। नेपालको दूतका रूपमा काम गर्न पाएँ। यसमा सबैको योगदान छ, एक्लैले केही हुँदैन।’ उनले आफ्नो कला तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, न्युयोर्कका वर्तमान मेयर एरिक आडम्सलगायतलाई उपहारसमेत दिएका छन्। तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको अफिसले पनि स्वच्छ व्यवसायी संघमार्फत उनका तीनवटा कला किनेको थियो। काठमाडौंका विभिन्न होटलका भित्तामा उनले कोरेका चित्र झुन्डिएका देखिन्छन्।
अजितका चित्रहरू वातावरणमैत्री हुन्छन् भने हानिकारक रङहरूको प्रयोग उनी गर्दैनन्। कला निर्माणका लागि बलश्रमको समेत प्रयोग गर्दैनन्। राजा जनकका पालामा मिथिला प्रान्त थियो। जब सीताको विवाह भयो। तब राजा जनकको घरसँगै सिंगो राज्य चित्रहरूले सिँगारिएको थियो। ती कलात्मक चित्रहरूलाई मिथिला आर्ट भनिन्छ भन्ने मान्यता रहिआएको उनको बुझाइ छ। रामसुन्दरप्रसाद शाह र फूलकुमारीदेवी शाहका साइँला सन्तानका रूपमा मिथिला आर्टलाई विश्व समुदायमा पुर्याउन सफल भएका कलाकार अजित शाहको जन्म नेपालको धनुषा सदरमुकाम जनकपुरधाममा भएको हो।