जोसिलो आवाजसँगै उहाँ तयार देखिनुभयो, ठूलो अनुहार, चम्किला आँखा, कालो भादगाउँले टोपी, गलामा मफलर, सेतो कमिजमाथि गोजीवाला स्विटरमा।
२०७४ सालको एकाबिहानै टिनिनी फोनको घण्टी बज्यो। उठाएँ। उताबाट मेरो तारिफमा फूल बर्सन थाल्यो। आवाजमा सुनियो, ‘एउटा बालकले अर्काे बालकको लागि यति त्याग ? यो त कुनै संस्कारी परिवारमा हुर्किएको बच्चाले मात्रै गर्न सक्छ। यसको मतलव हो, तपाईंले आफ्ना बालबालिकालाई पक्कै राम्रो संस्कार दिनुभएको छ। अनि फेरि यसको मतलव यो पनि हो कि तपाईंले बालबालिकालाई यति संस्कार दिनु भएको छ भने तपाईंले बालसाहित्यलाई पक्कै पनि न्याय गर्नु हुन्छ।’
ओहो ! म भने यो के भइरहेको छ ? मलाई यति धेरै प्रशंसा गर्ने मान्छे को हो ? अझ उहाँले धेरै प्रशंसा गर्नुभएको थियो तर यो लेख लेख्नुभन्दा निकै समय अगाडिका कुरा भएकाले दिमागबाट ओइलाइसकेको थियो यो। केहीबेर प्रशंसा सुनेपछि मलिनो बोलीमा उहाँलाई सोधे, ‘धन्यवाद । तर हजुरलाई चिनिनँ नि ?’ हाँसोसँगै आवाज आयो, ‘मलाई शान्तदास मानन्धर भन्छन्।’
छक्क र दंग दुवै भएँ । दबिएको आवाजमा बोलें, ‘नमस्कार हजुर !’
शान्तदासले फोन गर्नुभएको प्रसंग थियो– मेरो बालकथा ‘हिमालको उज्यालो’को । त्यो कथामा एक बालकले सडकबालकलाई गरेको माया र उसका लागि गरेको त्यागको कथा थियो। शान्तबा त्यो बेला बालपत्रिका ‘बालकोसेली’को सम्पादन र प्रकाशन गर्नुहुन्थ्यो। त्यसैमा पठाएको त्यो कथा पढेपछिको प्रतिक्रिया थियो उहाँको। पहिलेदेखि नै उहाँसँग भेटेरै कुरा गर्ने चाहना फोनले बढाइदियो। एक्लै जानुभन्दा साथीसँग जान पाए सजिलो। यस्तै सोचेर बालसाहित्यकार अनन्त वाग्लेलाई फोन गरें। भेट्न जाने योजना बन्यो। दिएकै समयमा हामी उहाँको निवास न्युरोडको झोछें पुग्दा घर बन्द थियो।
२०७२ सालको भुइँचालोले हल्लाएकाले सायद घरलाई टेकोले अड्याएको रहेछ। न्युरोडका अधिकांश पुराना घर त्यसरी नै टेकोमा थिए। फोन गरेपछि ‘नजिकै छु, आइहालें’ भन्नुभयो। नभन्दै दुई मिनेटमै टुप्लुक्क। ओहो ! उहाँलाई देखेर लाग्यो ‘के हामी ८२ वर्षको वृद्धलाई भेट्न आए हौं ?’ अहँ होइन। कहाँ ८२ वर्षको वृद्ध हुनु ? उहाँ त २८ वर्षको युवा हो, उहाँको सम्पूर्ण हाउभाउ हेर्दा त। के सोचेर उहाँलाई भेट्न गएकी थिएँ तर उल्टो भयो।
सोचेथें– खटियाको भित्तापट्टि ब्लाङ्केट ओढेर चस्मा अढ्याई पुस्तक पढिरहनु भएको हुँदो हो। शान्तदास बा ! कहाँ त्यसरी बस्ने मानिस हुनुहँुदो रहेछ र ? आएर ढोकाको चाबी खोल्नुभयो कति सजिलै। न उहाँको आँखालाई चस्माको जरुरत थियो, न त हातलाई लौराको। एकटकले उहाँलाई हेरिरहेकी थिएँ। मेरो मनस्थिति बुझेर होला अनन्त सर मलाई हेरेर हाँसिरहनु भएको थियो। उहाँ शान्तबाबारे पूर्ण जानकार जो हुनुहुन्थ्यो। उहाँको पछि लाग्दै गर्दा भन्नुभयो, ‘बिस्तारै आउनु है ! अलिअलि हल्लिन्छ पनि। राति त म यहाँ बस्तिनँ नि। छोेरीको घरमा जान्छु। एक्लै बस्न सकस पनि लाग्न थालेको छ।’
‘एक्लै ?’ ‘श्रीमती बितिसक्नु भयो र ?’ पुलुक्क अनन्त सरको मुखमा हेरें। उहाँले मुन्टो हल्लाएर ‘उहाँ गइसक्नु भयो’ भनेर जानकारी दिनुभयो। अनि सोधिहालें, ‘अनि छोराहरू ?’ ‘बाहिर हुनुहुन्छ’, अनन्त सरको छोटो जवाफ थियो। कोेठाभित्र भुइँमा लहरै ओछ्याएका चकटीमा अनन्त सर र म बसेका थियौं। बा हातमा केही पुस्तक लिएर आउनुभयो। सामुन्ने बस्नुभयो। अनि सररर पढ्न थाल्नुभयो। चकित भएँ।
झट्ट सोधिहालें, ‘अनि हजुर राम्रोसँग देख्नुहुन्छ ?’ ‘देख्तै छु र त पढ्दैछु’, उहाँले हाँस्तै जवाफ दिनुभयो, ‘कम्प्युटर पनि म यतिकै टाइप गर्छु। यी मेसिनहरूले अझै काम गर्दैछन्। आँखातिर इशारा गर्दै उहाँ बोल्नुभयो। मीठामीठा गफ, रमाइला किस्सा सुन्दासुन्दै झोछेंको त्यो घरमा घण्टौं बितेको पत्तै भएन। हिँड्ने बेलामा आशीर्वाद दिँदै ‘बालसाहित्यमा तपाईंको भविष्य उज्ज्वल देख्छु।’ केही पुस्तक उपहार दिनुभयो। म त्यो दिन माया, प्रेरणा र उत्साहले भरिएकी थिएँ।
केही महिनापछाडि अनन्त सरको जन्मदिनमा पेप्सीकोलाको अटिजम स्कुलमा शैक्षिक सामान लिएर जाने भयौं। शान्तबालाई पनि लिएर जाउँ। दुवैले निधो गरेर फोन गर्यौ। बाले स्विकार्नुभयो। त्यो स्कुलमा जानेदिन बिहानै फोन गरे,ं ‘बुवा ट्याक्सीमा आउनुहुन्छ कि स्कुटर लिएर आउँ ? बस्न सक्नुहुन्छ ?’
‘सकिहाल्छु नि ! मज्जाले सक्छु’, जोसिलो आवाज आयो। उहाँलाई लिन पुग्दा उहाँ तयार हुनुहुन्थ्यो। ठूलो सेतो अनुहार, साना तर चम्किला आँखा, कालो भादगाउँले टोपी, गलामा मफलर, सेतो कमिजमाथि खरानी रंगको गोजीवाला स्विटर लगाएको एउटा युग मेरो अगाडि उभिए झैं लाग्यो । उहाँलाई लिएर पेप्सीकोलातिर हानिएँ।
छिटो पेप्सीकोला पुग्ने सुरमा भुलेछु स्कुटीमा ८२ वर्षको वृद्ध पनि हुनुहुन्छ। सिंहदरबार अगाडि पुगेपछि भन्नुभयो, ‘नानी ! पछाडि म छु है। अलि बिस्तारो । यो उमेर त पछि तपाईंको पनि पो आउँछ है !’
८२ वर्षे वृद्धाको कुराले यति लज्जित भएँ कि उहाँलाई दिने जवाफ थिएन। विकल्प एउटै थियो– स्कुटर बिस्तारै कुदाउनु। स्कुटरमा उहाँलाई बोकेर हिँड्नु नै गल्ती थियो कि ? उहाँको सोचाइ पो युवाको थियो। जोशजाँगर पो युवाको थियो त। उहाँको उमेर त युवा थिएन। गल्ती दोहोर्याउन चाहिनँ। कार्यक्रमपछि ट्याक्सीमा घर पुर्याइदियौं।
पछिल्लोपटक कुरा हुँदा उहाँ छाउनीस्थित छोरीको घरमा हुनुहुन्थ्यो। हस्पिटल भर्ना भएको सुन्नासाथ भेट्न जाने योजना बनाएँ। घरबाट निस्कनुअघि नै उहाँको मुत्युको खबर सुन्नु पर्यो। उहाँलाई भारी मनले हार्दिक श्रद्धाञ्जली भन्नुको विकल्प रहेन।