गीत के लिए जो मरता था...!
जिता था जिस के लिए, फूलों सा चेहेरा तेरा, कभी खुसी कभी गम, परदेशी परदेशी, मुझे निन्द ना आएजस्ता सयौं चर्चित हिन्दी गीत नसुन्ने कमै होलान्, जुन समीरले लेखेका हुन्। उनै चर्चित गीतकार सयौं गीत ‘सुपरहिट’ भए।
सन् १९९० को दशकमा बलिउडमा लोकप्रिय उनी सर्वाधिक गीत लेखेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा पहिलो गीतकारमा नाम लेखाउन सफल भए। ६५० भन्दा बढी फिल्मका समेतगरी चार हजारभन्दा बढी गीत लेखे उनले। बुवाले ‘सबैथोक बन्नू तर गीतकार नबन्नू’ भने पनि समीर अन्ततः गीतकार नै बने। नाम र दाम दुवै कमाए अनि विश्वमा चिनिए पनि। गीतका पारखीहरूको मनमा बस्न सफल ६५ वर्षीय गीतकार समीर अञ्जान अभिनन्दन ग्रहण गर्न नेपाल आएका बखत अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले उनीसँग लिएको अन्तर्वार्ता :
नेपालमा स्वागत छ । कस्तो लाग्यो नेपाल ?
धन्यवाद। नेपाल अत्यन्तै सुन्दर लाग्यो किनकि मलाई प्राकृतिक सुन्दरताले अत्यन्तै तान्छ। जहाँ प्रकृति भेट्छु, त्यहाँ रमाउँछु। नेपालमा त चारैतिर पहाड छ, हरियाली छ अझ हिमालैहिमाल। जुन ठाउँ हेरे पनि भव्य लाग्छ। धेरै खुसी छु, नेपाल धेरै मन पर्यो। नेपाल पहिलोपटक आएँ अब पटकपटक आउने प्रयास गर्नेछु। किनकि यहाँ आउँदा धेरै लेख्न सकिनेरहेछ।
समीरको अर्थ के हो?
‘वायु।’ (हाँस्दै) ‘मै ओ हुँ कि मेरे बेगर कोही जी नही सकता’ (हिन्दीमा)। कैयौं शुभचिन्तक हुनुहुन्छ जो मेरो गीत नसुनी बस्नै सक्नुहुन्न।
अब विषयमै प्रवेश गरौं। तपाईं कसरी गीतकार बन्नुभयो ?
म गीतकार बन्नु वंशाणु गुण नै होजस्तो लाग्छ। बुवा अञ्जान पनि गीतकार हो। खाइके पान बनारसवाला... जस्ता अमिताभ बच्चनका ९० प्रतिशत गीत बुवाले नै लेख्नुभयो। सिर्जना कहीँ न कहीँ मेरो रगतमै थियो। चाहेर, नचाहेर मलाई पारिवारिक वातावरणले गीतकार बनायो। सानैदेखि केही लेख्ने सौख पनि थियो। सौख क्रमशः व्यवसायमा बदलियो। बुवा अञ्जान बलिउडमा गीत लेखनमा जम्नुभयो।
अमिताभ बच्चनका ९० प्रतिशत गीतसमेत लेख्नुभयो। सफलताका बावजुद बुवाले गीतकार बन्दा खेपेका पीडा र संघर्ष बताउँदै मलाई भन्नुभएको थियो, ‘छोरा, सबैथोक बन्नू तर गीतकार नबन्नू।’ बुवाको चाहनाविपरीत म गीतकार बनें।मेरा गीतहरूको किताब चाँडै नै शृंखलाबद्ध रूपमै आउँदैछ।
तपाईं गीतकार नबन्नु भएको भए जीवनमा के गर्नुहुन्थ्यो होला ?
बैंकमा जागिर मिलिसकेको थियो, सेन्ट्रल बैंक अफ इन्डियामा। दुई दिन जागिर खाएँ। गीतकार बनेको थिइनँ भने बैंकर बन्थें सायद।
एउटा गीतकारले गीत लेख्न बस्नुअघि गर्नुपर्ने तयारी के हुन्छन् ?
उत्कृष्ट गीत लेख्न ‘गड गिफ्ट’ नै चाहिन्छ। तर पनि विभिन्न चरण पार गर्दै उचाइ चुम्नुपर्छ। लेख्दै सच्याउँदै जानुपर्छ। लेखे पनि छन्द मिल्दैन, कलात्मक हुँदैन। लेख्दै गएपछि गल्ती भेटिँदै जान्छ, सच्याउँदै जानुपर्छ। कुनै सूत्रविशेष हुँदैन।
गीत लेखिरहँदा र लेखिसकेपछि ध्यान दिनुपर्ने विषय ?
मैले त धेरै गीत फिल्म र तिनको कथाका लागि लेखें। तिनमा पात्रका लागि लेख्छु। कथाले जे माग्छ त्यसमा केन्द्रित हुन्छु। सिर्जना कति समयमा हुन्छ ? भन्ने प्रश्नको जवाफ कठिन छ, कुनै समय नै हुँदैन। कुनै दिन १५ मिनेटमै लेखें त कुनै समय १५ दिनसम्म दिमागमा केही आएन। ‘मुड’मा पनि भर पर्छ।
मिलन कि बिछोडका गीत लेख्न बढी रुचाउनु हुन्छ ?
जिन्दगी जिउने क्रममा मिलन र बिछोड दुवैको सामना गर्नुपर्छ नै। मिलन हुन्छ, त्यो पनि लेखिन्छ, लेख्छु। कैयौंको बिछोड भएको देख्छु त्यो पनि महसुस गर्छु र लेख्छु। म ‘रोमान्टिक गीत’ लेख्न बढी मन पराउँछु। ९० प्रतिशत गीत मेरा रोमान्टिक छन्।
गीत र जीवनको सम्बन्ध कस्तो हुँदोरहेछ ?
गीतको सबै सम्बन्ध भनेकै जीवनसँग हुन्छ। यदि जीवन बाँचेनौं, भोगेनौं भने कसरी लेख्नु ? सकिन्न। भोगेकै कुरा गीतको भावमा आउने हो। जीवनमा केही नहाली कसरी त्यो बाहिर निस्कन्छ ? देखेभोगेकै कुरा गीतमा लेख्छु।
समाजका लागि गीत किन चाहिन्छ ? के भूमिका हुन्छ गीतको देश र नागरिकका लागि ?
गीत नै एउटा यस्तो माध्यम हो जुन जनमनमा सजिलै पुग्छ। गीतसंगीत यस्तो माध्यम हो जुनसँग मानिस सबैभन्दा पहिले जोडिन्छ। गीत मन पर्यो भने उसले गुन्गुनाउन वा गाउन थाल्छ। अनि गहिराइ बुझ्न थाल्छ कि गीतको अर्थ र महत्त्व के हो ? गीत चाहे प्रेम, देश वा समाजका लागि होस्, सुनेपछि प्रेम बढ्छ, देशप्रेमको भाव जाग्छ।
तपाईं गीत लेखेर संगीतबद्ध गराउनु हुन्छ कि संगीतको धुनमा गीत लेख्नुहुन्छ ?
दुवैमा लेख्छु। खासगरी फिल्मका गीतमा यी दुवै तरिका अपनाउनुपर्छ। मलाई धुन सुनाएपछि वा कथा भनेपछि लेख्न पनि सजिलो लाग्छ र लेखेर दिनु भने पनि सहज नै लाग्छ।
आफ्नो स्वतन्त्र भावना लेख्न सजिलो कि कसैले दिएको विषयमा लेख्न सजिलो हुन्छ ?
अझ कुनै विषय दिए भने झनै त्यसप्रति न्याय दिलाउने प्रयास बढी गर्छु। किनकि गीत बलियो र उत्कृष्ट कथा र परिस्थितिबाट उब्जिएको सन्दर्भबाट हुन्छ। कवि मन सधैं स्वतन्त्र नै हुन्छ। जे मनमा आउँछ, लेख्छ। बन्देज हुँदैन, हुनुहुँदैन।
तपाईंले लेखेका गीतमा कति प्रतिशत सन्तुष्ट हुनुहुन्छ ? जहाँ शब्द, संगीत र गायनको साँच्चिकै तालमेल मिलेको छ।
सन्तुष्ट भन्ने कुराको कुनै सीमा नै हुँदैन। एउटा थोपाको ‘प्यास’ जहिले पनि समुन्द्र बन्ने हुन्छ। एउटा, दस हजार वा एक लाख गीत लेख्नोस्, कुनै सीमा हुँदैन यति वा यस्तो लेखेपछि सन्तुष्ट हुन्छु भन्ने। शब्द, संगीत र गायनको तालमेल मिल्यो भनेर शतप्रतिशत सन्तुष्ट त हुँदैन। कहिलेकाहीँ मलाई मन पर्दैन तर निर्देशकलाई मनपर्छ वा कहानीमा ‘फिट’ हुन्छ। यो व्यावसायिक बाध्यता पनि हो गीतकारको।
तपाईंले लेखेका गीतमा यथार्थ धेरै छन् कि काल्पनिक ?
बिनाकल्पना गीत कसरी लेखिन्छ र ? कल्पनामा जानैपर्छ। सोच्नु भएन भने लेख्नुहुन्छ कसरी ? जुन कल्पना गर्यो, त्यही विश्वमा पुगिन्छ र त्यसैअनुरूप शब्द सिर्जना गर्न थालिन्छ।
गीत रेकर्डिङ सकिएपछि आफूलाई चित्तबुझ्दो भएन भने के गर्नुहुन्छ ?
कतिपटक त केही गर्न पाउँदिनँ। कैयौं पटक कोसिस गरें। दोस्रो ‘भर्सन’ सुनाएँ। मन परे दोस्रो छान्छन् नत्र पहिलो नै लिन्छन्। हरेक गीतको पछाडि कुनै न कुनै ‘कहानी’ हुन्छ। गीतमा बीचबीचमा अनेक
प्रयोग भएका घटना छन्।
आफ्ना सबै गीतको रेकर्डिङमा स्टुडियोमा सँगसँगै बस्नुहुन्छ कि संगीतकार र गायक–गायिकालाई जिम्मेवारी दिनुहुन्छ ?
समय र परिस्थिति मिलेसम्म अधिकांश गीत रेकर्डिङमा बस्छु। म बस्दा राम्रो हुन्छ, लाग्छ र बस्छु पनि।
तपाईंका सयौं गीत मन पराइएका छन्, सुपरहिट पनि छन्। तपाईं आफूलाई मन परेका पाँच गीतको बोल भनिदिनोस् न।
गीत होइन, मलाई उत्कृष्ट लागेका पाँच फिल्मका नाम भन्छु— दिल, आशिकी, साजन, दिवाना, राजा हिन्दुस्तानी, हम हे राही प्यारके। थुप्रै छन् कुनमात्र राम्रो लाग्छ भनूँ। कुनै बुवालाई सोधियो, तपाईंलाई कुन छोरो राम्रो लाग्छ ? सबै सन्तान उसका लागि राम्रो हुन्छन्।
तपाईंको गीत सिर्जनाको सबैभन्दा उत्तम समय कतिबेला र कस्तो वातावरण हो ?
बिहानको समय उपयुक्त लाग्छ, ‘अर्ली मर्निङ’। अधिकांश गीत सबेरै लेखेको छु। बिहान ६ बजेदेखि कम्तीमा तीन÷चार घण्टा लेख्छु अनि साँझमा ५ बजेदेखि नौ साढे नौसम्म।
संयोगान्त र वियोगान्तमध्ये कुन भावमा बढी गहिरिनु हुन्छ? किन त्यस्तो भावले बढी तान्छ ?
जुन कलाकार छ जस्तो कलाकार छ उसकै जीवन बाँचेको महसुस गर्छु र गीत लेख्छु।
सन् १९९० को दशकमा तपाईंका गीत सुपर–डुपर बने। यसको रहस्य के होला ?
हरेक मानिसको जीवनमा एक बहुतै भव्य समय आउँछ। उसको सफलताको शिखर आउँछ। त्यसैले कोही ‘बेस्ट एक्टर’ बन्छ, कोही ‘बेस्ट डिरेक्टर’ बन्छ। १५–२० वर्षको मेरो दौड थियो, त्यसमा अत्यन्तै धेरै काम गरें। जे जति र जस्ता सपना थिए, यसबीच सबै पूरा पनि गर्न सफल भएँ।
९० को दशकको उकालो अनि २०२० को यो एक किसिमले ओरालो, कसरी लिनुहुन्छ ?
चढ्नुपर्ने कुरामा चढ्नै पर्यो। यत्ति हो जुन उकालोमा पुगेर कतिञ्जेल रोकिने हो ? त्यो सक्नु नै उपलब्धि हो। गीतकार हो वा संगीतकार हो वा स्टार हो, कोही यस्तो छैन जो सुरुदेखि अन्तिमसम्म ‘नम्बर वान’को ‘पोजिसन’मा रहन्छ। आरडी बर्मन हुन् वा लक्ष्मीकान्त प्यारेलाल, आनन्द बक्सी वा अरू कोही, सबै एकपटक शिखर चुमे पुनः धर्तीमा ओर्लिए। म पनि त्यही हुँ।
गीतसंगीतको बिनाको जीवन कस्तो लाग्छ ?
यो त हुनै सक्दैन। गीतबिना त म बाँच्नै सक्दिनँ। संगीत जीवनमा हुँदैन भने म त कामना गर्छु कि मेरो जीवन नै नभए राम्रो हुन्छ। किनकि म २४सै घण्टा गीतसंगीतमात्र सोच्छु। जीवनमा यसबाहेक केही गरिनँ पनि, केवल लेखें, लेखें, लेखें। याद भएसम्म ७÷८ वर्षदेखि लेखें हुँला। एक दुई लाइन लेख्थें, गुन्गुनाउँथे। जहाँ गए पनि मान्छेले मन पराउँथे। गाउन लगाउँथे, फिल्मका गीतहरू गाउँथें। तिनलाई नक्कल गर्थें। सोच्थें कि मैले लेख्ने गीत यस्तै लेख्न सकूँ।
गीतकारले संगीत जान्नुपर्ने हुन्छ कि हुँदैन ?
आवश्यकमात्र होइन, अत्यन्तै आवश्यक हुन्छ। धेरै नभए पनि आधारभूत ज्ञान त हुनैपर्छ। गीतकारको भित्र कतै केही न केही संगीत हुनैपर्छ। मैले गुन्गुनाएअनुसार नै कैयौं गीत रेकर्ड भएका छन्।
फिल्मका गीतमा पूर्ण शास्त्रीय संगीतको प्रयोग के कति हुन्छ ?
फिल्मका गीतहरूमा त शास्त्रीय संगीतको प्रयोग हुन्छ नै, कहिले कुन राग कहिले कुन।
विश्व संगीतको मानचित्रमा बलिउडको संगीतलाई कसरी मूल्यांकन गर्नुभएको छ ?
डिजिटल मार्केट भएपछि बलिउड संगीत विश्वव्यापी बढी भयो। सिनेमाको ग्लोबलाइजेसन भयो तब। यु–ट्युबमा हेर्ने हो भने सबैभन्दा बढी गीत हिन्दी नै होलान्। बलिउड संगीतको कुनै सीमा छैन।
बलिउड र नेपाली संगीतको सामीप्यता कस्तो पाउनु भएको छ ?
नेपाली संगीतमा अत्यन्तै धेरै मिठास भेट्छु। ‘मेलोडियस’ लाग्छन्, धेरै मेलोडीमै छन्। नेपाली गीतमा साहित्य छ, भावना हुन्छ। नेपाली भावनामा बढी जोडिएका लाग्छन्। अनि प्रकृतिसँग जोडिएका गीत धेरै छन् किनकि नेपाली प्रकृतिसँग जिउँछन्। राम्रो लेख्ने र संगीत हान्ने सर्जक नेपालमा छन्। यही गतिमा काम गरिरहे विश्व प्रतिस्पर्धामा हुनेछ, नेपाली गीतसंगीत। नयाँ प्रविधि र ‘टेक्निक’ चाहिँ अपनाउनुपर्छ। हिन्दुस्तानीमात्र होइन, नेपालीले अमेरिका, लन्डन, चीन सबै देशका गीत सुन्नुपर्छ। विस्तारै विश्वव्यापी गर्ने कोसिस पनि गर्नुपर्छ।
नेपाली आधुनिक गीत र नेपाली चलचित्रका गीत कत्तिको सुन्नुहुन्छ ? कस्ता लाग्छन् ?
म नेपाली भाषा बुझ्दिनँ। त्यसैले भन्न सक्दिनँ।
नेपालका लागि नेपाली भाषामा पनि गीत लेखौं लेखौं लाग्दैन ? जसरी अनुराधा पौड्याल, साधना सर्गम, उदितनारायण झा आदिले गाए।
मलाई पनि नेपाल आउन र लेख्न मन लागेको छ, प्रयास गर्नेछु। नेपाली भाषा सजिलो छ, सिकूँ लागेको छ। सिकेपछि केही नेपाली गीत त लेख्छु नै। प्लेनमा नेपाल ल्यान्ड हुँदाताका नेपालबारे हिन्दीमा लेखेको छु।
गीत लेखेर विश्व कीर्तिमान कायम गर्नुभएको छ। यो कसरी सम्भव भयो ? कहिल्यै सोच्नुभएको थियो विश्व रेकर्ड कायम गरौंला भनेर ?
विश्वकीर्तिमान त के ? मलाई त लागेको थियो कि मेरो एउटा गीत रेडियो सिलोङमा बज्यो भने गाउँ फर्केर जान्छु। सपनामा पनि सोचेकै थिइनँ कि पूरै विश्वको सबैभन्दा ठूलो गीतकार बनूँला, राम्रो गीत लेखौंला भनेर। यो सबै भगवान्को कृपा, आशीर्वादले हो, सबै श्रोताको माया हो। यो मेरो होइन, मसँग जोडिएका सबैको सफलता हो। मैले कर्म गरें।
बुवाले तपाईंलाई भविष्यमा के बनोस् भनेर चाहनु भएको थियो ?
बुवाका अनेक चाहना थिए तर एउटा चाहना थिएन कि म गीतकार बनूँ। ‘तुम कुछ भी कर्ना लेकिन गीतकार मत बन्ना’ बुवाले भन्नुभएथ्यो। कारण, बुवाले यति संघर्ष गर्नुभएको थियो कि त्यो आगोमा म पनि जलूँ। त्यसैले कमर्स पढाउनुभयो, एमकम गराउनुभयो। बैंकमा जागिर खा भन्नुभो। दुई दिन खाएँ पनि। भाग्यमा त्यो थिएन, गीतकार लेखिएको थियो त्यो भएँ।
कति संगीतकारसँग काम गर्नुभयो ? मन परेका पाँचको नाम ?
खासमा यो पनि विश्वकीर्तिमान नै भयो होला। लाग्छ, मसँग जति कोही गीतकारले संगीतकारहरूसँग काम गरे होलान्। डेढ सय जतिसँग काम गरें हुँला। मनपर्नेमा आनन्द–मिलिन्द, नदीम–श्रवण, अनु मल्लिक, जतिन–ललित, दिलीप सेन–समीर सेन र एआर रहमान। यसबाहेक कमालको संगीतका भेटिए, हिमेशश्रेश मिया। फेरि प्रितम, शंकर ऐसलान।
मनपर्ने गायक–गायिकाको नाम लिनुपर्दा ?
लता मंगेश्कर अनि आशा भोसलेजी। किशोरकुमार अनि मोहमद रफी। यीभन्दा गतिला गायक–गायिका जीवनमा न कोही भए न हुनेछन्। रफीले त गाएनन्, रियाज गरेथे र भव्य तारिफ गरेथे। यो योजना अधुरै रह्यो। बाँकी सबैजसो गायक–गायिकाले गाए। मेरा सबैभन्दा बढी गीत अल्का याग्निक, कुमार सानु, उदीतनारायण झा र अनुराधा पौड्यालले गाए।
भावी योजना के छ ?
भावी जीवनको के ? अन्तिम साससम्म एउटै योजना छ कि गीत नै लेखूँ, लेखिरहूँ।
कीर्तिमान त कायम भयो तर आफ्ना गीत विश्वसंगीतमा कत्तिको सफल छन् जस्तो लाग्छ ?
मलाई त थाहा पनि थिएन कि विश्व रेकर्ड राख्नेहरूले फोन गरेपछि थाहा भयो। साँच्चै भन्ने हो भने मैलाई थाहा थिएन कि मैले यति धेरै गीत लेखें भनेर। ‘तपाईंले सबैभन्दा धेरै गीत लेख्नुभयो, हामी तपाईंलाई सम्मान गर्न चाहन्छौं’ भनेपछि महसुस भयो।
‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मै पहिलोपटक गीतकारमा मेरो नाम लेखियो। यसले भित्रैदेखि खुसी त लाग्छ नै, बरु जिम्मेवारी पनि थपिएको पाएको छु।
गीत चल्छन् तर गीतकार सधैं ओझेलमा हुन्छन्। किन होला ?
यो सही हो। यो त एकदमै ठूलो ‘त्रासदी’ हो। यसका लागि हामी धेरै कोसिसमा छौं। एक समय साहिरसा’बले ठूलो लडाइँ गर्नुभो, रेडियोमा गीतकारको नाम भन्दैनथे। लडाइँपछि नाम भन्न थाले। गीत बजाउँदा नाम नभन्ने हो भने गीत ‘ब्यान्ड’ गर्छौं नै भन्यौं। नेपालले
अस्तिको दिन अभिनन्दन गर्यो, त्यहाँ गीतको नाम र मेरो नाम जोड्दा धेरैले भने अरे यो गीत तपाईंले लेख्नुभएको हो ? लाखौंले गीत त सुने तर कसले लेखेको थाहै पाएका छैनन्।
अन्य भाषामा गीत लेख्दा के के चुनौती छन् ?
गीतकारका लागि त सबैभन्दा बढी चुनौती हुन्छन् लेख्दा। गीतकारले हरहमेशा अरूकै लागि गीत लेख्नुपर्छ, आफ्ना लागि होइन। अरूलाई के मनपर्छ मलाई के थाहा ? तर डाक्टर बनेर ‘डायोग्नोसिस’ गर्नुपर्छ कि डाइरेक्टरलाई के मनपर्छ। आफूलाई सर्वोत्कृष्ट लाग्ला तर उसलाई मन परेन भने कुनै अर्थ हुन्न। ओके हुन २० पटकसम्म लेख्नु परेको छ गीतकारले।
बलिउडमा गीत लेखेर गीतकार बाँच्ने अवस्था छ ?
पहिलेभन्दा धेरै राम्रो भएको छ गीतकारको आम्दानी। अझै राम्रो हुनुपर्छ। नयाँ पिँढी कोसिसमा छ।
बलिउडमा गीतकारलाई हेर्ने राज्यको दृष्टिकोण कस्तो छ ?
भारत सरकारले आजसम्म मलाई कुनै सम्मान दिएको छैन। यसकारण म कैयौंपटक दुःखी पनि भएँ। बाँकी सबै ठूला र विशेष सम्मान पाएको छु। यूपी गभर्मेन्टको सबैभन्दा ठूलो सम्मान एस भारती, मध्यप्रदेशको सबैभन्दा ठूलो सम्मान किशोरकुमार अवार्ड मिलेको छ। भारत सरकारले दियो दिएनभन्दा पनि म मेरो काम गर्छु। जिम्मेवारी निभाइरहन्छु।
नेपालीबारे धारणा के थियो ? कस्तो पाउनुभयो ?
जति तारिफ गरे पनि कम हुन्छ। यहाँका नागरिकमा एउटा कुरो धेरै अच्छा देखें— धेरै मेहनती मानिस पाएँ। आत्मनिर्भर देखें। मेहनेतले कमाउन जानेको भेटें। नेपाली भाषा बडोमजा लाग्यो। ‘बहुत मधुर भाषा है— ये अगर झगडा भी कर्ते रहेते हे तो मुझे लगता है कि प्यार करते हे एकदुसरे से।’ मौसम र खानपिनपनि धेरै मजा लाग्यो। नेपाली खाना अच्छा लाग्यो, अलग लाग्यो। लागेको छ– नेपालका लागि केही गरौं।