महराइन रामवती, जसको सहयोगले सयौं नवजात शिशुको जन्म भयो

महराइन रामवती, जसको सहयोगले सयौं नवजात शिशुको जन्म भयो
शनिबार आफ्नै गाउँमा सम्मानित भएकी रामवती महरा। तसबिर : मनिका झा

जनकपुरधाम : ७० वर्षीया रामवती महराको आँखा शनिबार पटक-पटक रसायो। उनी निकै भावुक भएकी थिइन्। जीवनमा पहिलो पटक उनलाई सार्वजनिक मञ्चमा यसरी सम्मान प्राप्त भएको थियो, त्यो पनि ती व्यक्तिहरूबाट जसलाई उनले आफ्नै हातले जीवन दिएकी थिइन्।

 
धनुषाको औरही गाउँपालिका-३ परवाहामा अवस्थित युवा नाट्यकला परिषद्ले आफ्नो ३९औं स्थापना दिवसको अवसरमा गाउँमा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउनेहरूलाई सम्मान गर्ने क्रममा रामवती सम्मानित भएकी हुन्। रामवती १५ वर्षकी थिइन्, जब उनको विवाह परवाहाका बेचन महरासँग भयो। उनको माइत घर धनुषाकै सोहनी गाउँमा छ। सामान्य लेखपढ गर्नसमेत नजानेकी रामवती जातीयरूपमा समाजमा पछि पारिएको भए पनि उनको हातमा भएको सीपले उनलाई सक्षम र उत्कृष्ट बनाएको हो।
 
गाउँमा बर्थिङ्ग सेन्टर र अस्पताल जाने सहज सुविधा नभएको समयमा प्रसवले छटपटिने महिलाहरूको लागि एकमात्र सहारा हुन्थिन् ‘महराइन’। चमार जातिको भएको हुनाले बोलचालको भाषामा ‘चमाइन’ भनिसमेत सम्बोधन गर्ने गरिएका महिलाहरूलाई अलि सम्मानित रूपमा महराइन भन्ने गरिएको छ। महराइनहरूले विरासतमै प्रसुति सेवा गराउने सक्षमता पाएकी हुन्। पुस्तौपुस्तादेखि मधेसका ग्रामिण भेगमा स्वास्थ्य सेवाको घर-घरमा पहुँच नहुँदा घरमै पुगेर छोरी, बुहारीको प्रसुति जाँच गर्ने काम महराइनहरूले नै गर्दै आएकी हुन्। 

रामवती तिनै ‘महराइन’हरूको प्रतिनिधित्व गर्छिन्। जसले अहिले पनी मधेसका गाउँहरूमा समयमा अस्पताल पुग्न नसकेका सयौं महिलाहरूलाई प्रसवको समयमा प्रसुति गराउन सहजीकरण गर्ने गर्छिन्। रामवतीकी सासु भुलरी देवी परवाहा गाउँमा वर्षौंदेखि महिलाहरूलाई प्रसुति गराउँदै आएकी थिइन्। सासुको संगतमै रामवतीले पनि गर्भवती महिलाहरूको जाँच गर्ने, भर्खर जन्मिएका शिशुको सालनाल काट्ने, नवजात शिशुलाई मालिस गर्नेसहितका सीपहरू सिकिन्। 

सासु भुलरी बुढेसकाल लागेर थला परेपछि रामवती हातमा भएको सीपकै बलमा गाउँमा छोरी, बुहारीहरूलाई प्रसुति गराउँदै हिँड्न थालिन्। उनले अहिलेसम्म कति बच्चाहरूलाई जीवन दिइन्, उनलाई त्यसको गन्ती भने याद छैन। तर, गाउँका अधिकांश घरमा उनको हातबाट जन्मिएकाहरू बच्चाहरू छन्। ‘कतिको त बुबा पनि मेरै हातले जन्मिएका छन् भने त्यसको छोराको पनि मेरै हातबाट प्रसुति गराएको छु,’ रामवती भन्छिन्, ‘कति जना छन् त्यो मलाई याद छैन। तर, धेरै छन्। जबसम्म मेरो यो जीन्दगी रहन्छ, म छोरी बुहारीहरूलाई प्रसवको पीडाबाट निकाल्न मद्धत गरिरहन्छु।’

सुरुसुरुमा गाउँमा कसैको घर प्रसुति गराउन गयो भने बच्चाको सालनाल काटेको र सबै सफाई गरेबापत आधा सेर (एक पाउ) धान र पुरानो सारी दिने चलन थियो। तर, विस्तारै समय फेरिएको रामवती बताउँछिन्। ‘अहिले त बढीले अस्पताल वा स्वास्थ्य चौकीमै प्रसुति गराउँछन् जुन कि राम्रो पनि हो। यसबाट आमा र बच्चा दुवैको ज्यान सुरक्षित हुन्छ। तर, मेरो हातमाथि सबैलाई विश्वास भएर होला अहिले पनि गाउँघरमा कसैको छोरी बुहारी गर्भवती भएपछि मलाई देखाउन ल्याउँछन्। कतिपयको सबै स्वास्थ्य अवस्था राम्रो रहँदा घरमै प्रसुति गराउँछन् र त्यस्तो बेलामा मैले सकेसम्म सहयोग गर्छु।’ बच्चा जन्मिएको आजकल उनले एक हजार रुपैयाँ लिने गर्छिन्। उनले बच्चालाई नियमित मालिससमेत गर्दै आएकी छन्। जसबापत उनले २५० रुपैयाँ लिने गरेकी छन्। 

गाउँघरमा गर्भवती महिलाहरूको लागि ठूलो सहारा रहेकी रामवतीलाई उनको कामकै मूल्यांकन गरेर तत्कालीन देउरी परवाहा गाउँ विकास समिति ५ को वाड सदस्यमा समेत निर्वाचित गरिएको थियो। अवस्था र व्यवस्था दुवै फेरिए पनि गरिबी र आर्थिक दुरावस्थाले रामवतीको जीवनमा खासै परिवर्तन ल्याउन सकेको छैन। अहिले बुढेसकालमा उनको शरीर अशक्त हुन थालेको छ। केही महिना अगाडिमात्रै पक्षघात रोगले शरीरमा आक्रमण गरेपछि उनको खुट्टा पहिलाजस्तो छैन। तर जस्तोसुकै अवस्थामा पनि उनी कामप्रति पूर्ण समर्पित छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.