जनमतले मनायो रंगभेद विरुद्धको एकता दिवस
राजविराज : काठमाडौंको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा गिरफ्तार भएको दिनको स्मरणमा जनमत पार्टीले सप्तरीको राजविराजसहित विभिन्न ठाउँमा नाराजुलुस र सभा गरेर रंगभेदविरुद्धको एकता दिवस मनाएको छ।
राज्य पक्षबाट नश्ल, रंग र वर्णको आधारमा विभेद हुँदै आएको भन्दै सो को अन्त्यका लागि रंगभेदविरूद्ध एकता दिवस मनाइएको जनमत पार्टीका केन्द्रीय सदस्य सुरेन्द्र मधेसीले बताए।
राजविराजस्थित जिल्ला पार्टी कार्यालयबाट निक्लिएको जुलुसले रंगभेद् आक्रमण अन्त्य गर्नुपर्ने नारासहित नगरपरिक्रमा गर्दै सहिद दशन चोकमा कोणसभा गरेको छ।
जुलुसमा सहभागीलाई धन्यवाद व्यक्त गर्दै जनमत पार्टीका सप्तरी इन्चार्ज रामगमन साहले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा समेत विभेद भइरहेकोले रंगभेद अन्त्य गर्ने राष्ट्रिय संकल्प लिनुपर्ने बताए।
जनमत पार्टीले २०७१ मंसिर १० गते काठमाडौंको खुल्लामञ्चमा कार्यक्रम गर्ने क्रममा पार्टी अध्यक्ष सिके राउतलगायत नेता कार्यकर्ता गिरफ्तार भएका थिए। सोही घटनाको स्मरणमा जनमत पार्टीले हरेक वर्ष मंसिर १० गते रंगभेदविरुद्धको एकता दिवस मनाउँदै आएको छ।
ज
नमत पार्टीका अध्यक्ष सिके राउतले रंगभेद् अन्त्य गर्न र राष्ट्रिय एकता तथा सद्भावका लागि मंसिर १० गतेलाई रंगभेदविरूद्धको एकता दिवस मनाउन प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका छन्। प्रस्तावमा मंसिर १० गतेलाई रंगभेदविरुद्ध एकता दिवस मनाउन र रंगभेद नगर्ने राष्ट्रिय संकल्प लिन संकल्प प्रस्ताव दर्ता गरिएको बताइएको छ।
हिमाल, पहाड तथा मधेशका विभिन्न समुदायहरूमाथि पटक पटक राज्य पक्ष र शासक वर्गबाट नश्ल, रंग र वर्णको आधारमा विभेद हुँदै आएको प्रस्तावमा भनिएको छ- 'नश्ल, रंग र वर्णको आधारमा अनेकौं अपमानजनक शब्दहरू प्रयोग गरिनुका साथै दैनिक व्यवहारदेखि लिएर राज्यका प्रक्रियाहरूमासमेत विभेदको शिकार हुनु परेको छ।'