टिकेन सेयर बजारको उत्साह
काठमाडौं : सेयर बजारमा सोमबार दोहोरो अंकको गिरावट आएको छ। साताको दोस्रो दिन नेप्से परिसूचक ११.२७ अंकले घटेर १८९६.६७ अंकमा कायम भएको हो।
आइतबार ४७ अंकले बढेको बजारमा २ अर्बमाथिको कारोबार भएको थियो। सोमबार कारोबार रकम पनि १ अर्ब ७५ करोडमा खुम्चिएको छ। यस्तै सेन्सिटिभ इन्डेक्स २.१२ अंकले घटेर ३६२.६९ अंकमा कायम हुँदा कारोबारमा आएका ४ बाहेक सबै समूहथत उपसूचक रातो बने।
सोमबार दिनभर ५२ हजार ४ सय ८० कारोबारमार्फत् २ सय ९० स्क्रिप्टका ६० लाख १७ हजार ३ सय ९७ कित्ता सेयर १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७ सय ५५ रुपैयाँमा किनबेच भए। कारोबारमा आएका १ सय ६६ कम्पनीको सेयर मूल्य घट्दा ६५ वटाको बढेका छन् भने ८ वटाको यथावत रह्यो।
यसदिन सबैभन्दा बढी अपर स्यांगे हाइड्रोको सेयर मूल्य बढेको छ। कम्पनीको भाउ १० प्रतिशतले बढ्दा अभियान लघुवित्त, माथिल्लो मैलुङ खोला जवि, शुभम् पावर र बिशाल बजार कम्पनीका सेयरधनी कर्माधिक कमाउनेको सूचीमा परे।
यता स्वाभिमान लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ८.०४ प्रतिशत गुमाएका छन्। एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, स्वरोजगार लघुवित्त, मिर्मिरे लघुवित्त र थ्रिस्टार हाइड्रोको सेयर मूल्य सर्वाधिक घटेका छन्।
कारोबार सुरु भएदेखि सामान्य बढेको नेप्से परिसूचक दिनभरको उतारचढाव पछि रातो बनेको हो। दोस्रो उत्तराद्र्धमा नेप्से हरियो बन्न सकेन। बजार घटेसँगै लगानीकर्ताको कुल सम्पति १७ अर्ब रुपैयाँले घटेको छ। यसदिन बजार पुँजीकरण २९ खर्ब २४ अर्ब ४२ करोड रुपैयाँ कायम भएको छ।