राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक आज पनि बस्दै, लामिछानेले राजनीति प्रतिवेदन पेस गर्ने
महोत्तरी : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक आज पनि महोत्तरीको जलेश्वरमा बस्दैछ। सोमबारबाट सुरु भएको बैठकमा पार्टीका पदाधिकारीसहित केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति सहभागी रहेका छन्।
आज बिहान ८ बजेबाट ९ बजेसम्म संसदीय दलको बैठक र ९ देखि १० बजेसम्म केन्द्रीय समितिको छुट्टाछुट्टै बैठक बस्ने कार्यतालिका छ। संयुक्त बैठक भने ११ बजेबाट सुरु हुनेछ।
रास्वपाका संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीका अनुसार आज सभापति रवि लामिछानेले बैठकमा पार्टीको राजनीति प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ। आज महाधिवेशनको कार्यविधि तथा प्रक्रियाबारे महामन्त्री र सहमहामन्त्रीले छलफल चलाउनेछन्।
बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, प्रदेशहरूबाट सांगठनिक एवं राजनीतिक प्रतिवेदन, पार्टीको आर्थिक प्रतिवेदन, सासंदहरूको र संसदीय कार्यको समिक्षा, महाधिवेशन विधि र पार्टीको समग्र राजनीतिक रोडम्याप र अवलम्बन गर्ने नीतिका बारेमा छलफल र निर्णय हुनेछ।
यसअघि मधेसका आठवटै जिल्लामा गई समग्र अवस्था बुझेकाले यस बैठकले मधेसको हितमा अवश्य नै ठोस निर्णय गर्ने रास्वपाले जनाएको छ।