नाका नखुल्दा सिप्चेतबासीलाई समस्या, म्याद नाघेको नुन खान बाध्य

नाका नखुल्दा सिप्चेतबासीलाई समस्या, म्याद नाघेको नुन खान बाध्य
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखा, चुम्चेतका बासिन्दा नुनको खोजीमा दिन माया मारेर फिलिम, नाग्चेतसम्म धाउन बाध्य छन्। मोटरबाटो नपुगेको सो गाउँका बासिन्दा नुन खोज्ने ध्याउन्नमा झोला बोकेर फिलिम तथा नाग्चेतसम्म धाउने गरेको बताउँछन्।

नाग्चेत पुगेर पनि म्याद नाघेको भानुनुन ल्याउन बाध्य भएको उनीहरू बताउँछन्। ‘नाग्चेतबाट ३० किलो भानु नुन ६६० रुपैयाँमा ल्याएका छौँ’, चुम्चेतको सर्दीभीरमा नुन बोकिरहेको अबस्थामा भेटिएका सिप्चेतका रिञ्जिन लामाले भने, ‘पहिले चाइनाबाट नुन ल्याउँथ्यौँ। अहिले नाका बन्द भयो। तलबाट ल्याउनु परेको छ, जमाना फेरियो। नाका बन्द भएर नुन पाएनौँ, चामल पाएनौँ। जुत्ता पाएनौँ, चिया पाएनौँ। हामी यताका मान्छे खोले, तरकारीमा बोसो हाल्छौँ, बोसो पाएनौँ। मर्चा बनाउने हड्डीहरू पनि ल्याउँथ्यौँ, त्यो पनि पाएनौँ।’ 

तिब्बतको बजारमा पाइने खालका सामान तल्लो भेगमा नपाइने भएकाले त्यस्ता सामग्रीको अभाव खेपिरहेको उनले बताए। सरकारले ढुवानी अनुदानमा दिएको नुन नाग्चेतबाट आफैले बोकेर ल्याउँदा प्रतिकिलो २२ रुपैयाँ पर्ने, तर गाउँको पसलमा किन्दा धेरै महंगो पर्ने अर्का स्थानीयको भनाइ छ। ‘नाग्चेतमा ३० पोका नुन ६६० रुपैयाँमा पाइन्छ। त्यही नुनलाई गाउँको पसलमा तीन पोकाको पाँचसय रुपैयाँ तिर्नुपर्छ’, नुन बोकिरहेका अर्का स्थानीय तेञ्जिङ दोर्जे लामा भन्छन्, ‘चाइना खुलेको भए आफ्नै याक, चौँरी, घोडामा बोकाएर ल्याउँदा सस्तो पर्थ्यो। तलबाट ल्याउँदा कि आफैले भारी बोकेर ल्याउनु पर्छ, पसलमा महंगोमा किन्नुपर्छ।’ 

धनी मान्छेले खच्चडमा बोकाएर ल्याए पनि आफूहरूले आफ्ना लागि आफैंले बोकेर ल्याएको उनले बताए। धेरै मैलोधैलो देखिने पाकेटको नुन कहिलेको हो भन्ने बारे थाहा नभएको फुञ्जो लामाको भनाइ छ। ‘यी यही हो पाकेट। लेखेको अक्षर सबै मेटिसकेको छ’, सर्दीभीरमा नुन बोकिरहेका अर्का स्थानीय फुञ्जोले भने, ‘मान्छेले मात्र खाने हो भने त यति नुनले पाँच, छ महिनालाई पुग्छ। गाईवस्तुलाई पनि खुवाउनु पर्छ। यत्तिले धेरै दिनलाई पुग्दैन, धेरै चाहिन्छ।’

भानु नुन चार वर्षदेखि बेच्न छाडिसकेको नुन ढुवानीको जिम्मा पाएका धनकुमार गुरुङको भनाइ छ। ‘भानु नुन त्यहाँ लैजान छोडेको त चार  भइसक्यो। अचेल आयोनुन ढुवानी भएको छ। उहाँहरूले कसरी भानु नुन लानुभयो थाहा छैन’, गुरुङले भने।

चामल बरु नपाए पनि आफ्नै बारीको गहुँ, जौ, सिस्नुको ढिँडो खाएर पेट पाल्न सकिने, तर नुन अति जरुरी रहेको चुम्चेत गाउँका पासाङ लामा बताउँछन्। ‘चामल भन्दा नुनको धेरै दुःख छ’, उनी भन्छन्, ‘चामल नभएर त के फरक पर्छ र ? आफ्नै बारीको गौँ, जौ, फापर, लट्टेको ढिडो, सिस्नु, खोले खाएर पेट पाल्न सकिन्छ। नुन नभए कसरी सकिन्छ ?’, उनी भन्छन्, ‘हरेक कुरामा नुन नभै हुन्न। तर नुनको धेरै दुख छ। यताको पसलमा नुन किन्न पनि पाइँदैन। नुन किन्न नाग्चेत पुग्नुपर्छ। नाग्चेत जान एकदिन लाग्छ, फर्कन एक दिन लाग्छ।’ 

रोजगारी केही पनि नपाएका यहाँका बासिन्दा खेतीपातीको काम र अर्काको घर बनाउने डकर्मी, सिकर्मी, कुल्लीको काम गरेर कमाएको थोरै आम्दानीको भर पर्नुपरेको उनको भनाइ छ। सरकारले दुर्गम भेगका बासिन्दाका लागि बर्सनि साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत ढुवानी अनुदानको आयोनुन पठाउने गरेको छ। 

चारवर्ष अघिसम्म साल्ट ट्रेडिङले भानु नुन मात्र पठाउने गर्थ्यो भने चारवर्ष यता आयोनुन मात्र पठाउने गरेको छ। गतवर्ष पठाएको करिब तीनसय क्वीण्टलमध्य करिब डेढसय क्वीण्टल आयोनुन चुमनुब्री गाउँपालिका-३ नाग्चेतमा रहेको स्थानीय बहादुर गुरुङको भनाइ छ। ढुवानी अनुदानको नुन बिक्री नभएर थन्किने गरेको चुमनुब्री ३ का वडाअध्यक्ष रामकुमार गुरुङको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.