घाँसीकुवामा भएको दुर्घटनाका घाइतेलाई गाउँपालिकाले सहयोग गर्ने
धनकुटा : पृथ्वी राजमार्ग खण्ड अन्तर्गत तनहुँको घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनाप्रति साँगुरीगढी गाउँपालिकाले दुःख व्यक्त गरेको छ।
धरानबाट पोखरा जाँदै गरेको ग १ ख ७८९५ नम्बरको यात्रुवाहक बस तनहुँको घाँसीकुवामा बिहान सवा ६ बजे दुर्घटना हुँदा ३६ जना यात्रुमध्ये दुई जनाको ज्यान गएको थियो।
जिल्लाको साँगुरीगढी गाउँपालिका-९ का हस्त राई र ठेगाना नखुलेको ५० वर्षे टोपबहादुर मगरले ज्यान गुमाएका थिए। साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईद्वारा हस्ताक्षरित शोक विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका यात्रुहरूको मृत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको छ।
दुर्घटनामा घाइते भएका यात्रुहरूको शीघ्र स्वास्थ्य लाभको कामना कामना गर्दै प्रभावकारी उपचारका लागि सम्बन्धित निकायसँग अनुरोध गरिएको छ।
दुर्घटनामा घाइते भएका अधिकांश यात्रु साँगुरीगढी गाउँपालिका वडा नम्बर ७, ८ र ९ का यात्रु भएको अध्यक्ष राईले बताए। उनका अनुसार अहिले यात्रुहरूको विवरण संकलन गर्ने कार्य भइरहेको छ। अधिकांश घाइतेको आर्थिक अवस्था न्यून रहेकाले गाउँपालिकाबाट सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे।