उजाडिदै हिमाल, जोखिममा हिमताल

उजाडिदै हिमाल, जोखिममा हिमताल

ओखलढुंगा : ठूला एवं धनी राष्ट्रहरूले प्राकृतिक स्रोत साधनको अत्यधिक दोहन गरेर तीव्र औद्योगिकीकरण गरिरहेका छन्। उनीहरूले गर्ने प्राकृतिक स्रोत र ऊर्जाको व्यापक प्रयोग तथा मानव सिर्जित समस्याका कारण उच्च मात्रामा हरितगृह ग्यास उत्पादन भइरहेको छ। त्यसबाट पृथ्वीको तापमान बढ्दै गएको छ। 

तापमान बढ्दै जाँदा हाम्रा सुन्दर हिमालको हिउँ पग्लिएर कालापहाड जस्ता देखिन थालेका छन्। समयमा हिउँ नपर्ने, भएको हिउँ पनि पग्लिने र हिमताल बढ्दै गएर कुनै पनि बेला बाढी पहिरोको जोखिम मोल्नुपर्ने अवस्थामा नेपाल परेको विज्ञहरू बताउँछन्। त्यसैकारण, दुबईमा बिहीबारबाट सुरु हुने कोप–२८ सम्मेलनमा नेपालले ठूला एवं धनी राष्ट्रका कारण हिमालमा परेको प्रभावबारे गम्भीर रूपमा विषय उठाएर क्षतिपूर्ति माग्नुपर्ने विज्ञहरूको सुझाव छ। 

सेताम्य हिमाल, किन भए कालापहाड ? 

सुन्दर हिमाली शृंखला कालापहाड जस्ता देखिन थालेका छन्। हिमरेखामाथि माथि सर्दै जान थालेका छन्। आजभोलि त हिउँ नै पर्न छोडेको छ। यस्ता बिचित्रका दृश्य देखेर हिमालसँगै लुकामारी खेल्ने बासिन्दाहरू छक्क पर्न थालेका छन्।  

हिमालका बासिन्दाहरू हिमालका फेदको तापक्रमबारे प्रष्टै अनुभव गर्न थालेका छन्। नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पा २० वर्ष पहिलेको अनुभव सुनाउँदै भन्छन्, ‘उ बेला होचा पिकहरू पनि सेतै देखिन्थे, हिमालहरूमा कतै कालो धब्बा देख्नुपर्दैनथ्यो।’ 

कात्तिकदेखि फागुनसम्म ४÷५ फिटसम्म हिउँ जमेको देखेका शेर्पा अहिले मंसिर आधा बित्दासमेत हिउँ नपरेको देखेर छक्क छन्। हिमाललाई पानी पँधेरोजस्तो बनाएका पर्यटन व्यवसायीहरू हिमाल उजाडिदै गएको प्रतिचिन्ता व्यक्त गर्न थालेका छन्। हिमालय क्षेत्रमा कार्बन उत्सर्जनले पारेको असरबारे सरकारले अन्तर्राष्ट्रिय समुदायलाई बुझाउनुपर्ने हिमालवासीको सुझाव छ। 

हिमालमा हिउँ नपर्नु, परेको हिउँ चाँडै बिलाएर जाने र हिमालका फेदमा हिमतालको क्षेत्रफल बढ्दै जाने गरेको तथ्यले जलवायु परिवर्तनको सीधा असर हिमालमा परेको सहजै अनुमान गर्न सकिन्छ। विश्वव्यापी रूपमा बढिरहेको कार्बन उत्सर्जनका कारण मुलुकको तापक्रम बढिरहेको छ। यसको सीधा असर हिमालय क्षेत्रमा पर्दा हिमाल, हिमनदी र हिमतालहरूको पग्लिने र फैलने गति तीव्र भइरहेको छ। 

जल तथा मौसम विज्ञान विभागको अध्ययनअनुसार सन् १९७१ देखि २०१४ सम्म हिमालको तापक्रम ०.०५६ डिग्रीका दरले बर्सेनि बढिरहेको छ। सन् २०१७ को अध्ययनअनुसार हिमाली क्षेत्रमा यो दर ०.०८६ डिग्रीसम्म छ। यही कारण हिमाल उजाडिदै गएका छन्। हिमताल फैलिने र हिमनदीहरू पग्लिने दर उच्च हुँदा वर्षादमा बाढी आउने र हिउँदमा नदीमा पानी घट्ने क्रम बढेको पाइएको छ।  

फैलिँदै हिमताल

खुम्बु क्षेत्रमा पनि अन्य हिमाल झै तापक्रम वृद्धिको असर फरक छैन। कञ्चनजंघा र मकालु क्षेत्रमा पनि हिमरेखा उकालो लाग्ने र ट्रिलाइनमाथि सरेका तथ्यहरू भेटिएका छन्। बेलायतको लिड्स र अमेरिकाको एरिजोना विश्वविद्यालयका अध्येताहरूले सन् १९८४ देखि २०१५ सम्म गरेको अध्ययनले खुम्बु क्षेत्रमा सो अवधिमा ३ सय ८५ प्रतिशतले हिउँ पोखरी बढेको उल्लेख गरिएको थियो। 

खुम्बुमा ३० वर्ष पहिले पोखरीको क्षेत्रफल २८ हजार ७५५ वर्गमिटर थियो। हिउँ पग्लेर सन् २०१५ मा पोखरी बढेर १ लाख ३९ हजार १५ वर्गमिटरमा फैलिएको सोधकर्ताहरूको दाबी छ। हिमताल फैलनु भनेको हिउँ पग्लेर तालको आकार र पानीको मात्रा बढ्नु हो। यसरी फैलिएका हिमताल फुट्ने खतरा पनि उत्तिकै छ। जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय अन्तर सरकारी संस्था (आईपीसीसी) को तथ्यांकअनुसार पृथ्वीको तापक्रम सन् २०११ देखि सन् २०२० सम्ममा १.०९ डिग्री बढेको देखिन्छ। 

वैज्ञानिकहरूले अहिलेको तापक्रम वृद्धिदरलाई १.५ डिग्रीमा रोक्नुपर्ने सुझाव दिइरहेका छन्। सन् २०१५ मा पेरिसमा भएको जलवायु सम्मेलनपछि सबै मुलुकले सन् २१०० भित्र पृथ्वीको तापक्रम २ डिग्रीभन्दा कम राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर आईपीसीले भने १.५ डिग्रीको तापक्रम वृद्धिदर आउँदो सन् २०४० मै पुग्ने जनाएको छ।

इसिमोडको अध्ययनले पनि पृथ्वीको भन्दा नेपालको हिमाल क्षेत्रको तापक्रम वृद्धिदर धेरै हुने प्रक्षेपण गरेको छ। विश्वको तापक्रम वृद्धिदर १.५ डिग्रीमा रोक्न सके पनि नेपालका हिमालमा त्यसको तुलनामा ०.३ डिग्री उच्च तापक्रम रहने अनुमान छ। 

२१ ताल उच्च जोखिममा 

सन् २०२० मै नेपालसहित चीन, भारत, म्यानमार, अफगानिस्तान, पाकिस्तान, भुटानका ग्लेसियरहरूको बृहत् अध्ययन गरेको इसिमोडको अध्ययन प्रतिवेदनले ४७ वटा हिमताल खतराको सूचीमा राखेको थियो। तीमध्ये नेपालमा २१ वटा हिमताल फुट्नेसक्ने जोखिम औंल्याइएको थियो। सो अध्ययनले हिउँ पग्लिएर बनेको इम्जा र च्छो रोल्पालाई सबभन्दा जोखिमपूर्ण भनेको छ।

सबैभन्दा जोखिम रहेको इम्जा क्षेत्रमा सन् १९८८ देखि सन् २००८ सम्ममा १ डिग्री सेल्सियसले तापक्रम वृद्धि भएको देखाएको थियो। लगत्तै सन् २०१६ मा इम्जा तालबाट ३.४ मिटर ताल पानीको सतह घटाइएको थियो। हिमाली क्षेत्रमा कुनै बेला उच्च तापक्रम वृद्धि हुने त कुनै बेला उच्च चिसो हुने गरेको छ। कहिले मंसिर नलाग्दै हिमपात भरिन्छन् तर कहिले चैत महिनासम्मै पनि भरिदैनन्। यसको मुख्य कारण जलवायु परिवर्तनबाट हिमालय क्षेत्रमा बढेको तापक्रम नै भएको विज्ञहरू बताउँछन्।

नेपालका हिमनदी विज्ञ एवं काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.रिजनभक्त कायस्थले ‘पर्नुपर्ने हिउँ, पर्दैछ पानी’ लेखमा उल्लेख गरेअनुसार हिमनदी नेपालमा ३ हजार ८ सय ८ वटा छन्। सन् २०१५ को अध्ययनअनुसार मुलुकमा  हिमतालको संख्या २ हजार ७० छ। हिमताल पूर्वी भागमा बढी छन्। नेपालभित्र २१ वटा ठूला र गहिरा हिमताल अति जोखिमयुक्त छन्। नेपालको पूर्वपट्टि तिब्बत क्षेत्रमा पनि २५ वटा त्यस्ता ठूला र अति 
जोखिमयुक्त हिमताल छन्। 

कात्तिकदेखि फागुनसम्म ४/५ फिटसम्म हिउँ जम्थ्यो। मंसिर आधा बित्दासमेत हिउँ परेको छैन।
लामाकाजी शेर्पा, पर्यटन व्यवसायी 

कोप, कोप भनेर मात्र हुँदैन। सरकारले न अध्ययन गरेको छ , न त डाटा नै छ।  
प्रा.डा. रिजनभक्त कायस्थ, हिमनदीविद्  

नेपालकै पश्चिमतर्फ भारतको उत्तराखण्डतिर पनि एउटा हिमताल छ, जुन जोखिम अवस्थामा छ। यसरी नेपाललाई जोखिमयुक्त हुने हिमतालको संख्या ४७ छ। उक्त लेखमा इसिमोड र यूएनडीपीको रिपोर्टलाई उदघृत गर्दै प्राध्यापक डाक्टर कायस्थले विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालमा र अझ हिमाली क्षेत्रमा २५÷३० वर्षदेखि नै देखिइरहेकाले हिमनदीहरू साँघुरिनु र हिमताल बढ्दै जानुमा हिमाली क्षेत्रमा मात्रै नभई नेपालकै समग्र क्षेत्रमा तापक्रम वृद्धि भएको उल्लेख गरेका छन्। यसबाट कार्बन उत्सर्जनबाट विश्वमा बढेको तापमानको असर हिमालय क्षेत्रमा कसरी परिरहेको छ, भने बुझ्न कठिन पर्दैन। 

सुक्दै हिमनदी 

युनिभर्सिटी अफ मेनको नेतृत्वमा रहेका वैज्ञानिकहरूले विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेको ‘साउथ कोल ग्लेसीअर’ विगत २५ वर्षमा ५४ मिटर (१८० फिट) घटिसकेको पत्ता लगाएको बीबीसीले उल्लेख गरेको छ।  समुद्रको सतहभन्दा झन्डै ७,९०६ मिटर उचाइमा रहेको उक्त हिमनदीमा पहिलोपटक बरफ जम्न लागेको समयभन्दा बरफ पग्लिने गति ८० गुणा चाँडो रहेको बताइएको छ। यसबाट हिउँ वा पानी जमेर रहन नसक्ने अवस्थामा पुगेका छन्। 

अध्ययनमा सहभागी वैज्ञानिकहरूले झन्डै २ हजार वर्ष लागेर बनेको बरफ सन् १९९० को दशकयता पग्लिएको पत्ता लगाएका छन्। उनीहरूले हिमनदीमा रहेको बाक्लो हिउँ थुप्रो खिइएको र त्यसको तल अवस्थित कालो बरफ बाहिर देखिएकाले घाम पर्दा पग्लिने प्रक्रिया झन् तीव्र भएको बताएका छन्। null

हिमाली क्षेत्रमा हिउँ तथा बरफ चाँडै पग्लेर बगिसक्ने भएकाले पानीको सञ्चिति नहुँदा पहाडमा समेत खानेपानीका मुहान तथा खोला खोल्साहरूमा पानीको मात्रा घट्दै गएको स्थानीयको अनुभव छ। विगतका मूलहरू धेरै ठाउँमा सुकेपछि लिफ्टिङबाट खानेपानीका योजना सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। ट्रान्स्परेन्सी इन्टरनेसनल नेपालले इसिमोडको सहयोगमा पछिल्लो पटक गरेको एक अध्ययनअनुसार नेपालमा सन् १९७७ देखि २०१० सम्म करिब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको जनाएको छ। 

सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ।  हिमतालको तीव्र विकासले हिमताल विस्फोटनको जोखीम बढेको छ भने कोसी, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा सम्भावित खतरनाक ४७ वटा हिमताल भएको पुष्टि गरेको छ। 

सरकारले विश्व समुदायमा नेपालको पर्यावरण जोगाउने पहलमा गरेको योगदान र हरित गृह ग्यास उत्सर्जनले पारेको असरबारे बुझाएर क्षतिपूर्तिको माग गर्नुपर्नेमा विज्ञहरूको जोड छ। चीन, अमेरिका, भारत, रुस, फ्रान्सलगायतका मुलुकले बढी हरितगृह ग्यास उत्सर्जन गर्छन्। वैज्ञानिकहरूले कार्बन उत्सर्जनको अवस्था अहिलेजस्तै भइरहे तापक्रम ३.५ देखि ४ डिग्री बढ्नेतिर उन्मुख छ भनेर चेतावनी दिएका छन्। 
सरकारको कमजोर भूमिका 

विगतका विश्व जलवायु सम्मेलन (कोप) सम्मेलनहरूमा नेपालको सहभागिता निकै कमजोर भएकाले आफ्ना समस्याबारे बुझाउन नसकेको टिप्पणी हुने गरेको छ। हरित गृह उत्सर्जन गर्ने देशहरूबाट नेपालले क्षतिपूर्ति पाउनु पर्नेतर्फ सरकारी तवरमा प्रभावकारी काम हुन नसकेको विज्ञहरूले औंल्याएका छन्। हिमनदीविद् प्रा.डा. रिजनभक्त कायस्थ सन्२०१७ देखि सरकारी तहबाट कुनै अध्ययन नभएको भन्दै कोप सम्मेलन भनेर मुखले बोल्दैमा परिणाम नआउने बताउँछन। ‘सबैजना कोप, कोप मात्रै भन्छन, कायस्थ भन्छन, तापक्रममा भएको वृद्धि र असरबारे सरकारसंग डाटा छैन। मुखले कोप भनेर मात्र केही हुंदैन।’

विज्ञहरू कोप २८ सम्मेलनमा नेपालको उपस्थिति र दाबी प्रभावकारी हुनुपर्नेमा  जोड दिन्छन्। विश्व जलवायु सम्मेलन (कोप–२८) मा जानुपूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘कोप–२८ मा माग्नेका रूपमा होइन योद्धाका रूपमा प्रस्तुत हुने’ घोषणा गरेका थिए। जलवायु परिवर्तनको असरका क्षेत्रहरू र त्यसबाट परेको असरबारेमा नेपालमा सरकारी तहमा यसबारे पर्याप्त अनुसन्धान र जलवायु अनुकूलनका काम पनि भएका छैनन्। १३ वर्ष पहिले निर्माण गरिएको जलवायु परिवर्तन नीति २०६७ समयमानुकूल परिमार्जन गरेर अघि बढ्नुका अतिरिक्त सम्मेलनमा प्रधानमन्त्रीले अरू देशका कारण नेपाली पीडित भइरहेको कुरा प्रष्ट उठाउनु पर्ने पर्यटन व्यवसायी लामाकाजी शेर्पाको सुझाव छ। 

हिमालय क्षेत्रको असर तराईसम्मै 

पर्यटन मन्त्रालयका अनुसार मुलुकमा ६ हजार मिटरभन्दा माथि उचाइका १ हजार ३ सय १० भन्दा बढी हिमालहरू छन्। जुन नेपालको उत्तरतर्फ पूर्वदेखि पश्चिमसम्म फैलिएका छन्। नेपालको चौडाइ करिब २ सय किलोमिटरले मात्र फैलिएको छ। कुनै पनि हिमताल फुट्यो भने हिमतालबाट बगेर जाने नदी आसपासको बस्ती हिमालदेखि तराईसम्मै बगाउने जोखिम उत्तिकै छ। 

अर्कातिर विश्वमा बढ्दै गएको तापक्रमले सबैभन्दा पहिलो असर हिमाललाई पर्ने गरेको छ। हिमाललाई पर्ने असरले नेपाल जस्तो भूगोल भएको देशलाई ठूलो असर पर्ने विज्ञहरूको भनाइ छ। विकसित देशको तुलनामा कार्बन उत्सर्जन कम गरे पनि जलवायु परिवर्तनको सबैभन्दा बढी मार नेपालले बेहोर्दै आएको छ।

पहाडका सुक्खा र भिरालो जमिन भएका भूगोलहरूमा अत्याधिक वर्षा हुँदा बाढी पहिरो जाने, कतै पानी नपर्दा खानेपानीका मुहानहरू सुक्दै जाँदा खानेपानीको समस्या भोग्नुपर्ने बाध्यता छ।  हिमालमा हिउँ सकिँदै जाँदा नदीका बहाव घट्ेर सिँचाइ, जलविद्युत् उत्पादनदेखि कालान्तरमा खानेपानीकै समस्या आउन सक्ने चिन्ता विज्ञहरूको छ। बेमौसममा हुने भारी वर्षाले पहाडदेखि तराईसम्मै बाढी पहिरो नित्याउनु, पहाडमा नयाँ–नयाँ प्रजातिका बोट बिरुवा भेटिनु पनि जलवायु परिवर्तनको असर भएको डब्लूडब्लू एफ नेपालका जलवायु र ऊर्जा कार्यक्रमका प्रमुख दिपेश जोसीको भनाइ छ।   

जोशीका अनुसार हिउँ मात्र पर्ने ठाउँमा पानी पर्नु, बाढी आउनु जलवायुकै असर रहेकाले अनुकूलनका काममा सबैले ध्यान दिन आवश्यक हुन्छ। तुलनात्मक हिसाबले हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम घटेपछि आलु खेतीमा समेत असर परेको स्थानीय बताउँछन्। हिमालहरूमा हिउँ रित्तिँदै जाने हो हिमाल हेर्न र चढ्न आउने पर्यटक नेपालमै नआउन सक्ने अनुमान गर्न सकिन्छ।

सधैं हिउँले ढाकिने पहाडमा अहिले हिउँ निकै कम समय मात्रै देख्न सकिन्छ। हिमालय क्षेत्रमा भएको तापक्रम वृद्धिले हिमालमा हिउँ रित्तिनुमा जलवायु परिर्वतनको असरले हिमालको तापक्रम बढ्न थालेको र हिउँ पग्लिने दर उच्च हुँदा हिमालहरू काला पहाडमा रूपान्तर हुने अवस्था आएको विभिन्न अध्ययनबाट बुझ्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.