सहचालकले चलाएको ट्रकले ठक्कर दिँदा ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते

सहचालकले चलाएको ट्रकले ठक्कर दिँदा ९ वटा सवारीसाधनमा क्षति, २ जना घाइते

विराटनगर : सहचालकले लापरबाहीपूर्ण तरिकाले चलाएको ट्रकको ठक्करबाट बिहीबार दिउँसो मोरङको उर्लाबारीमा ९ वटा सवारीसाधनमा क्षति पुगेको छ। 

प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी नगरपालिका-५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारी साधनहरुलाई दिउँसो २:२० बजेतिर ठक्कर दिएको हो। ट्रकको ठक्करबाट ३ वटा अटो टेम्पो, ३ वटा मोटरसाइकल, २ वटा सीटी सफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। 

उनका अनुसार गुडिरहेका बेला अनियन्त्रित बनेको ट्रकले सडकको छेउमा लहरै पार्किङ गरेर राखिएका सवारीसाधनलाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट को २ ह ४७२२, प्रदेश १-०२-००३ ह ३४०६ र प्रदेश १-०२-००३ ह २९४० नम्बरको अटो तथा प्रदेश १-०२-०५१ प ४४२२,  मे ११ प १९९५ र प्रदेश १-०१-०१४ प ७४४३ नम्बरको मोटरसाइकलमा क्षति पुगेको दाहालले बताए। 

त्यस्तै, प्रदेश १-०१-००२ ह २५५० र को १ ह ७६८५ नम्बरको सफारी एवं को २ च २३ नम्बरको पिकअपमा क्षति पुगेको छ। गिट्टी लोड गरिएको ट्रकले ठक्कर दिँदा केही सवारीसाधनमा पूर्ण र केहीमा सामान्य क्षति पुगेको जानकारी डीएसपी दाहालले दिए। 

उनका अनुसार दुर्घटनामा परेर दुईवटा अटोका चालकहरू घाइते भएका छन्। २९४० नम्बरको अटोका चालक उर्लाबारी-१ का ४० वर्षीय दिलकुमार बोहोरा र ४७२२ नम्बरको अटोका चालक उर्लाबारी-६ का ४२ वर्षीय पदमप्रसाद भट्टराई घाइते भएका हुन्। सामान्य अवस्थाका घाइतेको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

डीएसपी दाहालका अनुसार दुर्घटना भएका बेला ट्रक इलामको फाकफोकथम गाउँपालिका-४ का २२ वर्षीय योगेन्द्र थापामगरले चलाएका थिए। थापामगर उक्त ट्रकका सहचालक रहेको प्रहरीले जनाएको छ। चालक नभएका बेला उनले ट्रक चलाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। थापामगरसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स)समेत छैन। 

दुर्घटनालगत्तै आफूलाई ट्रकको चालक बताउने सुनील शंकर प्रहरीको सम्पर्कमा आएका छन्। उनी ट्रकका सक्कली चालक हुन् कि हैनन् भन्ने यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार शंकरले भने सहचालकले आफूखुसी चाबी लगेर ट्रक चलाउँदा दुर्घटना भएको बताएका छन्। 
सहचालक थापामगर भने आफूले चालकसँग अनुमति लिएर नै ट्रक चलाएको दाबी गर्छन्। 

अचानक सडक पार गरेको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको उनले प्रहरीलाई बताएका छन्। ट्रक र सहचालक थापामगर तथा ट्रकको ठक्करबाट क्षति पुगेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान थालेको छ। घटनासँग सम्बन्धित अन्य विषय अनुसन्धानपछि पत्ता लाग्ने डीएसपी दाहालले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.