३ दिनमै सुत्केरी मेलापातमा
गोरखा : चुमनुब्री ६ चुम्चेत गाउँकी डेढ वर्षकी नाङ्सा ल्हामु अहिले हजूरआमाको काखमा हुर्किरहेकी छन्। २०७८ साल फागुनमा उनलाई जन्माएको केही घण्टामै उनकी आमा धावा साङ्मोको मृत्यु भएको थियो।
पाँच दिनको कडा सुत्केरी व्याथाले थलिएकी उनलाई सुरक्षित सुत्केरी गराउन नसकेपछि बच्चा जन्माएपछि उनको मृत्यु भएको हो। उनलाई बचाउन परिवारले हेलिकोप्टर माग्दै हारगुहार नगरेका होइनन्। झञ्झटिलो प्रक्रिया पूरा गर्दागर्दै पाँचौँ दिनमा नाङ्सा जन्मिइन्। सन्तानको मुख हेर्न नपाई धावा साङ्मोले मृत्युवरण गरिन्। त्यसको केहीबेरमा हेलिकोप्टर आइपुग्यो। एकदिन पनि आमाको दूध चुस्न नपाएकी नाङ्सा ल्हामु अहिले हजूरआमाको काखमा हँसिली, रसिली छिन्।
उद्धारका लागि हेलिकोप्टर कुर्दाकुर्दै मर्नुपरेको यो मात्र पहिलो घटना भने होइन। उनीजस्ता सुत्केरी, बिरामी तथा घाइतेहरू समयमै उद्धार हुन नसक्दा मृत्युको मुखमा पुग्नु परेको यसअघि पनि धेरै उदाहरण छन्। चुमनुब्री गाउँपालिका सडक सञ्जालले जोडिएको छैन। सातवटा वडामध्य कुनै पनि वडामा मोटरबाटो छैन। मोटर चढ्न यहाँबाट दुईदिन पैदल हिँड्नु पर्छ। वरिपरि कतै गतिलो स्वास्थ्य संस्था पनि छैन, बर्थिङ सेण्टर पनि छैन।
यहाँका बासिन्दा स्वास्थ्यप्रति न सचेत हुन जानेका छन्, न स्वास्थ्यप्रति संवेदनशील नै। हिमाली भेगका बासिन्दाको स्वास्थ्यप्रति न त सरकारले प्राथमिकतामा राखेर कार्यक्रम बनाउँछ। ‘यहाँका महिला कसैले पनि गर्भ परीक्षण गराउँदैनन्’, चुम्चेत स्वास्थ्यचौकीका अहेव ङवाङ तेञ्जिन लामा भन्छन्, ‘गर्भ परीक्षण गराइरहेको भए धावा साङ्मो पनि अकालमा मर्नु पर्दैनथ्यो। गर्भको अवस्थाबारे समयमै थाहा हुन्थ्यो, बेलैमा बच्ने र बचाउने उपायहरू सोच्न सकिन्थ्यो।’ तर चुम्चेतका कुनै पनि महिलाले गर्भ परीक्षण नगराउने उनले बताए।
‘९ महिनाको अवधिमा चारपटक गर्भ परीक्षण गराउनु पर्छ। चारपटक गर्भ परीक्षण गराउने महिलालाई सरकारले सुत्केरी भएपछि बाटोखर्च, पोषण खर्च भनेर भत्ता पनि दिन्छ’, ङवाङले भने, ‘तर यहाँ कोही पनि परीक्षण गराउँदैनन्। लाज मान्छन्। जँचाउने चलनै नभएपछि को आयो, को आएन भन्नै परेन।’ अहेब ङवाङले जे भने पनि जँचाउनका लागि गर्भवती इच्छुक हुने हो भने यहाँ गर्भवती महिलाको अवस्था बारे परीक्षण गर्ने दक्ष जनशक्ति पनि छैन, उपकरण पनि छैन। वडाको कुनै पनि स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर नरहेको उनको भनाइ छ।
मातृशिशुको सुरक्षाबारे चेतनाको अभाव र गरिबीका कारण यहाँका महिला सुत्केरी भएको ३ दिनपछि साविकका काममा खटिन्छन्। ‘यहाँका महिलाहरू सुत्केरी भएको ३–४ दिनपछि त उठेर हिँडिहाल्छ काममा’, अहेब ङवाङ भन्छन्, ‘पहिलेदेखिकै चलन हो, तिनीहरूलाई कसरी रोक्न सकिन्छ र ?’ कामका कारण सुत्केरीहरूले आवश्यक मात्रामा आराम गर्ने अवसर नपाउने उनले बताए।
सुत्केरी अवस्थामा गह्रुंगो काम गर्दा आइपर्ने तत्कालीन तथा दीर्घकालीन असरबारे महिलाहरू सचेत नहुँदा उनीहरूको स्वास्थ्यमा गम्भीर असर परिरहेको पूर्वशिक्षक पासाङ लामाको भनाइ छ। ‘बच्चा जन्मेको एक दुई दिन भएपछि आमा काममा जाँदो रहेछ’, उनी भन्छन्, ‘आफू आराम पनि नगर्ने, बच्चालाई चाहिँदोजति खुराक पनि नखुवाई कामको पछाडि दगुरेको चाहिँ मैले देखेको छु है। त्यही भएर हो कि, विगतमा बच्चा जन्माइराखेर आमा मरिगाको मैले देखिराको हो।’
गाउँमा तीन कक्षासम्म पढ्ने स्कूल मात्र छ। यहाँका महिलाले पढ्ने, लेख्ने अवसर पाएका छैनन्। लेखपढ नभएका उनीहरू गर्भवती तथा सुत्केरी हुँदा अपनाउनु पर्ने सुरक्षाका बारेमा सचेत छैनन्। ‘पोसिलो खानेकुरा पनि गाउँठाउँमा के पाइन्छ र’, पूर्वशिक्षक पासाङ भन्छन्, ‘सधैं ढिँडोफाँडोको भर हो। भात खान त चाडपर्व आउनु पर्छ। बच्चालाई कुपोषण भयो कि भएन भनेर कसले जाँच्छ ?’ यहाँको दुःख देख्न सरकारका तर्फबाट कोही नआएको उनको भनाइ छ।