खुलेको १७ दिन मै बन्द भयो कोरला नाका
जोमसोम : खुलेको १७ दिनमा नै कोरोला नाका बन्द भएको छ। प्रतिकुल मौसमका कारण नाका बन्द भएको हो। उपल्लो मुस्ताङमा अत्यधिक चिसो र हिमपातको सम्भावना रहेको र चीनतर्फ पनि आर्थिक कारोबार कम भएसँगै सीमा नाकाबाट आफ्ना गन्तव्यमा प्रस्थान गरिसकेकाले नाका बन्द भएको हो।
कोरला नाका आजदेखि अर्को सूचना जारी नभएसम्म अघोषित रुपमा बन्द भएको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट(राजु)ले जानकारी दिए।
प्रतिकुल मौसमका कारण उपल्लो मुस्ताङका अधिकांश स्थानीय बेसी झरिसकेको र कतिपय बेसी झर्ने तयारीमा रहेको अध्यक्ष बिष्टले बताए।
चीनतर्फको लिजीमा आर्थिक कारोबार घटेकाले नेपाल-चीन दुई पक्षीय आपसी मौखिक समझदारीमा केही समयका लागि कोरला नाका बन्द गर्न लागिएको अध्यक्ष बिष्टको भनाइ छ।