मैदान मर्मतमै ठूलो लगानी

मैदान मर्मतमै ठूलो लगानी
सुन्नुहोस्

फिदिम : सामान्यतया तयारी अवस्थामा रहेको खेल मैदानमा क्लबहरूले गोल्डकपजस्ता फुटबलका ठूला प्रतियोगिता सञ्चालन गर्दै आएका छन्। तर, पाँचथरमा भने हरेक पटक गोल्डकप सञ्चालन गर्न क्लबले मैदान मर्मत गर्नुपर्ने बाध्यता छ। खेलकुदप्रति राज्यको उदासिनताले मैदान निर्माणको दायित्व क्लबले बेहोर्नु परेको खेलप्रेमीहरूको तर्क छ। राज्य जिम्मेवार नभएकै कारण पाँचथर फुटबल क्लबले किराँत गोल्डकप सञ्चालन गर्न वर्षेनी मैदान मर्मतका लागि ठूलो रकम खर्चिनुपरेको छ। 

स्तरीय प्रतियोगिता सञ्चालन गर्न मैदान निर्माणमा ठूलो लगानी गर्नुपरेको पाँचथर फुटबल क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए। ‘मैदान तयार गर्न राज्यका निकायले चासो नदिँदा जिल्लामा गोल्डकपलगायतका फुटबलका प्रतियोगिता सञ्चालन हुन नसकेको धेरै वर्ष भयो’, मगरले भने ‘फुटबलपे्रमीहरूको भावनालाई कदर गर्न मैदान मर्मत गरेर गोल्डकप सञ्चालन गर्ने हिम्मत गरेका हौं।’ 

शनिबारदेखि फिदिम माविको खेल मैदानमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित किराँत गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ। प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीले सहभागिता जनाउने निश्चित भएको छ। उक्त प्रतियोगितालाई स्तरीय बनाउन क्लबले मैदान मर्मतमा ठूलो लगानी गरेको हो। ‘मैदान मर्मतका लागि आठ लाखभन्दा बढी खर्चनुप¥यो’, सचिव राजु राईले भने ‘मैदानको लेबल मिलाउनेदेखि अस्थायी प्यारापिट निर्माणमा क्लबले लगानी गरेको छ।’ मैदान मर्मतमा मात्रै झण्डै १० लाख अतिरिक्त खर्च बढेको क्लबको दावी छ। ‘मैदान मर्मतको काम अन्तिम चरणमा पुगेको छ’, मगर भन्छन् ‘स्तरीय गोल्डकप सञ्चालन गर्न कडा मेहनतका साथ मैदान तयार गरेका हौं।’ 

सदरमुकाम फिदिममा २०७६ सालदेखि गोल्डकप सञ्चालन हुन सकेको छैन। मैदान अभावले चार वर्षयता स्तरीय गोल्डकप सञ्चालन हुन नसकेको हो। फिदिम माविको स्वामित्वमा रहेको मैदानको पर्खाल २०७६ साउनमा भत्किएपछि पाँचथरमा स्तरीय गोल्डकप सञ्चालन हुन नसकेको हो। मैदानको पर्खाल भत्किएपछि फिदिममा सञ्चालन हँुदै आएका फाल्गुनन्द गोल्डकप र पाँचथर गोल्डकप फुटबल प्रतियोगिता बन्द छन्। लामो समयसम्म स्तरीय गोल्डकप सञ्चालन नहुँदा प्रतिभाहरू निराश भएको भन्दै पाँचथर फुटबल क्लबले मैदान मर्मत गरेर गोल्डकप सञ्चालन गर्न लागेको हो।

सदरमुकाममा स्तरीय मैदान निर्माणका लागि २०७७ माघमा ठेक्का लागेको थियो। १० करोड ७९ लाखमा पीएस किराँतेश्वर मैनाचुली जेभीले निर्माणको जिम्मा पायो। निर्माण कम्पनीले निर्धारित समयमा काम नसक्दा फिदिममा खेलकुदका गतिविधि ठप्प छन्। ३० वटा सटर भएको सपिङ कम्प्लेक्ससहितको खेल मैदान बनाउन लागिएको उक्त मैदानको काम आधा पनि भएको छैन। हालसम्म ४० प्रतिशत भौतिक र ३१ प्रतिशत बित्तिय प्रगति भएको बताइएको छ।

निर्माण कम्पनीले काममा ढिलाई गरेपछि क्लबले मैदान मर्मत गरेर गोल्डकप सञ्चालनको तयारी गरेको हो। किराँत गोल्डकपमा हालसम्मकै सर्वाधिक पुरस्कार राशिको व्यवस्था गरिएको छ। १६ गतेबाट सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी जम्मा आठ टोलीले सहभागिता जनाउने छन्। मंसिर १६ गते हुने उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लब र तेह्रथुमको मितेरी फुटबल क्बलबीच भिडन्त हुनेछ। १७ गते सञ्चालन हुने खेलमा इलामको रेडहर्ष फुटबल क्लबसँग झापाको बिर्तामोड युनाइटेड क्लब भिड्नेछ। मंसिर १८ गते हुने खेलमा डीएफसी मोरङसँग दार्जिलिङको युनाइटेड फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ। मंसिर १९ गते हुने खेलमा ताप्लेजुङको कर्णसिंह सोनाम स्मृति क्लबसँग काठमाडौंको हिमालयन शेर्पा क्लब भिड्नेछ। 

प्रतियोगिताको प्रथम पुरस्कार चार लाख चार हजार चार सय ४४ रुपैयाँ र दोस्रो पुरस्कार दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ राखिएको छ। प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई पाँच हजार, प्रतियोगिताको उत्कृष्ठ खेलाडीलाई १० हजार र म्यान अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गर्ने आयोजकको तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.