युरोप घुमाउने यात्रा

समीक्षा

युरोप घुमाउने यात्रा

‘तपाईं यसरी एक्लै यात्रा गरिरहनुहुन्छ ?’ त्रिभुवन विमानस्थलको मुख्य चेकिङ काउन्टरका कर्मचारीले सोधेको प्रश्नसँगै साहसी महिलाको यात्रा अघि बढ्छ। निर्धक्कसँग एक्लै एक्लै घुम्न मन पराउने बिन्दु सुवेदी नेपाली साहित्यमा सुपरिचित नारी स्रष्टाको नाम हो। नियात्रा विधा अन्य विधाजस्तो कोठामा बसेर भाव पर्गेलेर, सोचेर वा कथ्ने विषय हुँदै होइन। यात्रा विधाको कृति तयार पार्न लेखकले घुमेकै हुनुपर्छ। बिन्दुले डेढ महिनासम्म अस्ट्रियाको भियना हुँदै युरोपका विभिन्न ठाउँ भ्रमण गरेर लेखेको नियात्रा संग्रह युरोप यात्राका संस्मरण सेर्गेम प्रकाशनले पाठकमाझ ल्याएको हो।

‘एक्लै टाढाको यात्रा नगर्नू’ भनेर नेपालको एयरपोर्टका कर्मचारीले भनेको कुराले मनमा त्रास फैलिएपछि आफूले आफैंसँग गरेको अन्तरसंवाद साँच्चै मनछुने छ कृतिमा। अन्ततः त्यो डरको निवारणका निमित्त ट्वाइलेटमा गएर आफूले कानमा लगाइराखेको हीराको टप फुकालेर पर्समा राखेपछि मन शान्त हुन्छ लेखकको। आमाका लागि दिल्लीभन्दा दोहा ट्रान्जिट अझ सजिलो हुनेछ भन्ने छोराको सल्लाहअनुसार उनी दोहा ट्रान्जिट विमानमा सवार हुन्छिन्। उनी उडेको विमानमा यात्रा गर्ने झन्डै ८० प्रतिशत यात्रु खाडी मुलुकमा काम गर्न गएका नेपाली युवा हुन्छन्। रोजगारीको खोजीमा त्यसरी निस्किएको देख्दा कस्को मन नदुख्ला ? उनी पनि दुखेको छ।

दोहा ट्रान्जिटमा भियनाका लागि प्रतीक्षालयमा बसेका बेला एउटै ड्रेस र उस्तै एकैनासका ब्याकप्याक बोकेका किशोर वयका ५० जति युवक छुट्टी मनाउन हिँडेका त्यही विमानमा भेटिन्छन्। उनै युवा सिटमा पनि बस्नुपर्दा अनि एक्लै बुढीमान्छे देखेर हेपेको कुराले मन छुन्छ। संसारकै पुरुषहरूले नारी जातिलाई किन यसरी सतही रूपमा हेर्छन् होला ? तर अचानक खुसी भएँ ती केटाले आफूलाई हेपेको थाहा पाएपछि बिन्दु किताब निकालेर पढ्न थाल्छिन्। त्यो देखेपछि उनीहरू तुरुन्तै परिवर्तित भएको नियात्राकारको भनाइ छ।

साँच्चै, पुस्तक भन्ने वस्तु कति प्रभावशाली हुँदोरहेछ ? रोचक प्रसंग पुस्तकबाटै : उनीहरू विद्यार्थी थिए र शिक्षित देशका थिए। उनीहरूले केही समय अघिसम्म यो बुढी कहाँबाट हाम्रो बीचमा बस्न आइपुगिछ भन्ने प्रष्टै भाव देखाएका तिनले अब भने मलाई उनीहरूकै हजुरआमालाई गर्नेजस्तै व्यवहार गर्न थाले (१६८)। भियनाको पहिलो दिनको भ्रमण सकेर सञ्जु फिल्म हेरेको र युरोपमा पनि हिन्दी फिल्मका लागि हाउसफुल भएको यो पहिलो घटना रहेछ। नेपालमा पनि यो फिल्मले साँच्चै तहल्का मच्चाएको थियो। सञ्जय दत्तको जीवनमा घटेका घटनामा आधारित यो फिल्ममा रणवीर कपुर हिरो छन् भने आमा नरगिसको रोल मनिषा कोइरालाले गरेकी छन्। भियनाको प्रसिद्ध सिमेट्री (चिहानघारी) हेर्न जाँदा कफिनहरू बेच्न राखिएको कुरा पढ्दा उदेक लाग्छ। चिहानघारी हेर्दाहेर्दै लेखकले जापान बस्दाकी मिल्ने साथी योको अबेकोले भनेको कुरा झट्ट सम्झिन्छिन्। जापानमा मृत्युपश्चात्का सम्पूर्ण सामग्री मृत्युअगाडि आफैं गएर रोजेर किन्नु पर्दोरहेछ।

अस्ट्रियाका तत्कालीन सम्राट्को मुख्य राजदरबार होफबर्ग प्यालेस भियनाको प्रमुख पर्यटकीय क्षेत्र हाम्रै हनुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबारजस्तै लागेको कुरा उल्लेख गर्ने साहित्यकार बिन्दुको शब्द चयन गर्ने शैलीले पाठकलाई मन्त्रमुग्ध बनाउँछ। कतिपय यात्रा पुस्तक लम्बेतान र गन्थन—मन्थन थोपरेर बोझिलो बनाइएका हुन्छन् तर ती सबैलाई चिरिदिएको छ यो पुस्तकले। मोजार्टबारे लेखेकी छन्ः होफबर्ग दरबार परिसरको एउटा आकर्षण मोजार्टलाई समर्पण गरेर बनाइएको उनको संगीतको नोटेसन अंकित बगैंचा र उनको पूर्ण कदको मूर्ति पनि हो। यसबाहेक यहाँ प्रसिद्ध लेखक गोथे मोर्जाइको सालिक पनि छ। फ्रान्समा क्रान्तिको आगो दन्किएको बेला थोरेसाकी कान्छी छोरीको हृदयविदारक कथा के रहेछ भन्ने थाहा पाउन त पाठकले किताब पढ्नैपर्छ।

घुम्न जानु भनेको त्यहाँको सेरोफेरो, संस्कृति, विकास आदिको अवलोकन गर्नु, सिक्नु, अनुभूत गर्नु र रमाउनु हो।

नाति धवल चुडालको व्रतबन्धमा भियना पुगेकी लेखक हिन्दु धर्मअनुसार गरिने विशेष कार्यहरूको विशेष प्रकारका पूजाविधि वर्णन गर्छिन्। यद्यपि उनी आफू भने बुद्ध धर्ममा आस्था राख्ने बताउँछिन्। संजोगले असार २९ गते युरोपमा धूमधामले भानु जयन्ती मनाइरहँदा उनी धेरै पहिले पति अभि सुवेदीसँग सिक्किमको राजधानी गान्तोक पुगेको र यस्तै तामजामका साथ भानु जयन्ती मनाएको कुरा स्मरण गर्छिन्। लुभ्रमा पुगेर मोनालिसा हेर्ने उनको इच्छा अन्ततः पूरा भएपछि लेख्छिन् : लियोनार्दो दा भिन्चीले सोह्रौं शताब्दीको सुरुकै वर्षमा बनाएको यो चित्रले आजसम्म पनि उत्तिकै लोकप्रियता कायम गरिरहेको छ। यही एउटा चित्रलाई लिएर कति पुस्तक लेखिए होलान्, कैयौं बहस भएका होलान्। त्यसैले त आजसम्म पनि लुभ्र म्युजियमको शान नै मोनालिसा रहिरहेको छ नि।

घुम्न जानु भनेको त्यहाँको सेरोफेरो, वातावरण, मौसम, कला, संस्कृति, विकास आदिको अवलोकन गर्नु, सिक्नु, अनुभूत गर्नु र रमाउनु हो। घरव्यवहार एकातिर पन्छाएर घुम्न निक्लनु महिलाका लागि चानचुने कुरा होइन। राष्ट्रिय वाणिज्य बैंककी सेवानिवृत्त कर्मचारीमात्र सम्झन्थें यो यात्रा पुस्तक नपढेको भए । मोनालिसाको रहस्यमयी मुस्कानको वर्णन गर्न सक्ने नेपाली नारीप्रति उनी । मोनालिसाकै कुरा— लुभ्र म्युजियमको ढोकाभित्र पस्दा निकै परको भित्तामा भएको मोनालिसाले चुम्बकले जसरी तानेको र उताबाट फरक्क फर्केर दृष्टि लगाउँदा पस्ने ढोका माथिको भित्तामा टाँगिएको विशाल चित्र कलाले झ्याप्पै गोडाहरू रोकिएको महसुस गरें। त्यति ठूलो क्यानभासमा त्यति जीवन्त चित्रकला पहिले देखेकी थिइनँ।

पुस्तक पढ्दापढ्दै अचानक अभि सुवेदी आएर ठिंग उभिन्छन् पानी भर्ने निहुँमा, कतै चैं ग्रिसको प्रसिद्ध एम्फिथिएटरको बयान गर्न। धेरै ठाउँमा डा. अभिको नाम छ। बर्लिनमा डालीसँग भेट शीर्षकमा त अभिकै नाममा समर्पित एउटा सिंगै लेख छ। जापानमा धेरै समय बिताएकी लेखकले युरोप यात्रामा पनि धेरै पटक जापान सम्झेकी छन्। पेरिसमा काग देखेपछि टोकियोको सिन्जुकु पार्कमा अभिसँग घुम्न गएको बेला कागहरूले मच्चाएको आतंकको सम्झना गर्दै पेरिसको कागको नाममा कविता लेखिन् उनले। रोमन भग्नावशेषलाई हेर्दा नामक शीर्षकको उनको कविता पनि मन छुनेछ।

आफूलाई मनपर्ने ठाउँमा एक्लै पुग्दाको हर्षोल्लास यसरी छचल्किएको छ एक ठाउँमा ः जे होस्, जसरी होस् सोधखोज गर्दै यतिबेला म नोत्रेदाम गिर्जाघर अगाडि उभिएकी छु। मेरो खुसी उम्लिएर पोखिन खोज्दै छ। मेरा लागि त एक्लै यहाँ यसरी आइपुग्नु कोलम्बसले अमेरिका पत्ता लगाए जत्तिकै भएको छ। संसारमा पीएचडी अध्ययन सुरुआत भएको हम्बोल्ट विश्वविद्यालय घुमेकी नियात्राकारले बर्लिनमा डालीसँग भेट लेखमा पतिलाई कुनै विशेष उपहार खोजेको र साल्भाडोर डालीको पुस्तक किनेर नेपाल ल्याएको सन्दर्भ पुस्तकमा छ। अनेकौं किसिमका सुगन्धित अत्तरको बजार देखेर छक्क परेकी लेखकले ती असाध्यै महँगा अत्तर हेरेर मात्र मन बुझाए पनि महँगा किताब किन्न चैं डराइनन्।

पेरिस डायरीको पेज नम्बर ८६ मा प्रथम विश्वयुद्धको जानकारीमूलक टिपोट छन्। पेरिसमा भेटिएकी साथी ओट्लीले गाइड बनेर धेरै ठाउँ घुमाउँछिन् नियात्राकारलाई। उनै बिन्दुको गाइड बनेकी ओट्लीको सुन्दरताको वर्णन जति गरे पनि सकिँदैन भन्दै पेरिसमा जन्मेर हुर्केकी ओट्लीको सुन्दरतालाई शब्दमा गरेको वर्णन पढिरहौं जस्तो लाग्छ। हामीले कति कुरालाई पढेकै भरमा इम्याजिन गर्छौं नि यस्तो होला भनेर।

मलाई चाहिँ ओट्लीले तानेको जस्तै स्टाइलमा सिगार तान्ने मन भयो आकाश ताकेर फुरुरुरु...। यसरी पेरिसको इतिहास, भूगोल, आर्किटेक्चर, राजनीतिक र सांस्कृतिक महŒवका बारेमा बुझेकी उनले सँज एलिजे, लुभ्र म्युजियमको विस्तृत वर्णन पढ्दै गर्दा कतिबेला उनी मण्डिकाटार पुगिसक्छिन्, पाठकले हत्तपत्त पत्तो पाउँदैनन्। इतिहासको प्रख्यात कला र अराजक विचारको आन्दोलनबारे पाठकलाई बुझाउने बिन्दुले युरोपमा खाएको अमुक खानेकुराको नाम गोप्य राखेकी छन्। चकलेटकी पारखी उनले कति चकलेट खाइन् ? किताबका प्रत्येक पानालाई थाहा छ। यात्राका मात्रै रोमाञ्चक किस्साहरू समेटेर पनि यो निकै पठनीय कृति बनेको छ। निडर, सचेत र आत्मनिर्भर नारीको उदाहरण बन्न सफल छन् बिन्दु सुवेदी यस कृतिमार्पmत। घरमै बसेर युरोप टुर गरेको अनुभूति भयो। २०५९ मै जापानमा एक वर्ष नामक पहिलो पुस्तक लेखेकी बिन्दुका कुइराको घर, अंशुको यात्रा, मेरी दिदी र ऊ  नाममा अन्य कृति पनि प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.