मानव पाइला

समाज/संस्कृति

मानव पाइला

भौतिक मानवशास्त्रीका मतअनुसार एसियातर्फ ओराङओटाङको हाँगोमा एक करोड वर्षअघि रामापिथेकस/शिवालिक पिथेकस उद्विकास भएको थियो। यसको अर्थ मानिसको पूर्वज अफ्रिकामा थियो।

चाल्र्स डार्बिनले जीवका उत्पत्तिबारे गहिरो रुचि राख्थे। उनी भेटेसम्म जीवका नमुनाहरू संकलन गर्थे। २२ वर्षको उमेरमा पाँच वर्षसम्म दक्षिण अमेरिका, अफ्रिका र अस्ट्रेलियामा जीवबारे खोजअध्ययन गर्न अवसर पाए। उनले विगेल नामको पानीजहाजबाट गरेको त्यो यात्रामा प्रशस्त मात्रामा जीव नमुना संकलन तथा त्यस सम्बन्धमा टिपोट तयार गरे।

त्यसपछि दुई दशक अध्ययन गरेर लेखेको ‘द ओरिजिन अफ स्पेसिज’ (सन् १८५९) शीर्षक पुस्तकमा पृथ्वीमा रहेका जुनसुकै जीव पहिलेका कुनै जीव प्राकृतिक रूपमा क्रम विकास भई नयाँ स्वरूपमा उद्विकास भएका हुन् भन्ने मान्यता अघि सारे। पुस्तक प्रकाशनपछि युरोपमा डार्विनको हदैसम्मको आलोचना भयो। पत्रपत्रिकाका टाउको डार्विनको र शरीर बाँदरको कार्टुन छापिए। त्यसपछि आममानिसमा विस्तारै मानिसको पूर्वज बाँदर थियो होला भन्ने भ्रम उत्पन्न भयो।

मानिस र बाँदरमा निकै धेरै फरक छ। मानव मस्तिष्क विशेषगरी अनुभूत गर्न, समस्या समाधान गर्न, सोच्न तथा अन्तरक्रिया गर्न सक्षम छ। बाँदरको दिमागी क्षमता यस्तो छैन। बाँदरको दिमागको आकार पनि मानिसको भन्दा आधा सानो छ। युरोपमा डार्विनकै पालादेखि मानिसको पूर्वज कुनै पुच्छर नभएका जीव थिए होला भन्ने सोंच थियो। त्यस्तो मानव पूर्वज लाखौं वर्षपहिले उद्विकास भई लोप भइसकेको हुनुपर्छ भन्ने सन्देह थियो।

हुन त हिजोआज पुच्छर नभएको बाँदरजस्ता चिम्पाञ्जी, गोरिल्ला, ओराङओटाङ, गिब्बन आदि अस्तित्वमा छन्। मानिससहित त्यस्ता जीवलाई समग्रमा ‘एप’ भनिन्छ। चिम्पाञ्जी र गोरिल्ला अफ्रिका महादेश तथा ओराङओटाङ र गिब्बन दक्षिणपूर्व एसियाका घनाजंगलमा छन्। तिनीहरू चाहिँ बाँदरभन्दा मानिसका नजिकका नातेदार हुन्।

सबैभन्दा नजिक चिम्पाञ्जी

मानवशास्त्र अर्थात् एन्थ्रोपोलोजी हिजोआज कल्चरल एन्थ्रोपोलोजी, बाइलोजिकल एन्थ्रोपोलोजी, लिंगुइस्टिक एन्थ्रोपोलोजी, आर्कियोलोजिकल एन्थ्रोपोलोजी, एप्लाइड एन्थ्रोपोलोजी, भिजुअल एन्थ्रोपोलोजी, मेडिकल एन्थ्रोपोलोजी, इन्भारोमेन्टल एन्थ्रोपोलोजी, पोलिटिकल एन्थ्रोपोलोजीमा विभक्त छ। बाइलोजिकल एन्थ्रोपोलोजिष्टले एप र बाँदर समूह (प्राइमेट) को विकास, आनुवंशिकी र भिन्नतालाई अध्ययन गर्छ।

बाइलोजिकल एन्थ्रोपोलोजिस्टले सन् २००५ मा चिम्पाञ्जीको ‘होल जिनोम’ अध्ययन सुरु गरे। होल जिनोम भनेको जीव कोषमा भएको डिअक्सीराइबोन्युक्लिक एसिड अन्तरनिहित सम्पूर्ण सांकेतिक जैविक विवरण हो। डिअक्सीराइबोन्युक्लिक एसिडलाई छोटकरीमा डीएनए भनिन्छ। यसमा सम्बन्धित जीवकायावत् कुरा ब्लुप्रिन्टका रूपमा अन्तरनिहित हुन्छ,। होल जिनोम अध्ययनमा त्यही ब्लुप्रिन्ट अध्ययन हुन्छ।

बाइलोजिकल एन्थ्रोपोलोजिस्टले सन् २०१३ सम्ममा २४ वटा चिम्पाञ्जीका होल जिनोम अध्ययन सम्पन्न गरे। यसले मानिस र चिम्पाञ्जीबीच करिब ९८ प्रतिशत होल जिनोम मिल्दाजुल्दा छन् भन्ने देखायो। यस्तै, एक अर्को अध्ययनमा मानिसको होल जिनोम चिम्पाञ्जीपछि गोरिल्ला र ओराङओटाङसँग मिलेको पाइयो। तर, एउटा हाँगोबाट गोरिल्ला, चिम्पाञ्जी र मानिस तथा अर्को हाँगोबाट ओराङओटाङ उद्विकास भएको रहेछ। भौतिक मानवशास्त्रीका मतअनुसार एसियातर्फ ओराङओटाङको हाँगोमा एक करोड वर्षअघि रामापिथेकस/शिवालिक पिथेकस उद्विकास भएको थियो। यसको अर्थ मानिसको पूर्वज अफ्रिकामा थियो। ओराङओटाङको पूर्वज एसियामा। अफ्रिका र एसियाको वातावरण फरक भएकाले मानिसका पूर्वज रुखबाट जमिनमा ओर्लिएरविचरण सुरु गर्‍यो। ओराङओटाङ अझै ब्रुनाई र सुमात्रा टापुका घनाजंगलमा रुखमै रमाइरहेको छ।

मानिसतर्फको पूर्वजबाट क्रमशः ९० र ७० लाख वर्षपहिले गोरिल्ला र चिम्पाञ्जी छुट्टिएर गएका थिए भन्ने छ। यस्तै, चिम्पाञ्जी छुट्टिएर गएपछि पनि मानिसतर्फको हाँगोबाट मानवजस्तै ओस्ट्रालोपिथेकस, केन्यापिथेकस, पारान्टोपस हुँदै करिब २५ लाख वर्षपहिले होमो समूह उद्विकास भएछ। तर, होमो समूहबाहेक अन्य सबै लोप भए। होमो समूहअन्तर्गत पनि एक दर्जनभन्दा बढी भिन्न मानव प्रजाति उद्विकास भए भनिन्छ। तीमध्ये होमो सेपियन्स अर्थात् अहिलेको मानव याने हामी मानिसमात्र अस्तित्वमा छौं। यद्यपि, करिब ४० हजार वर्षअघि लोप भएको होमो नियन्डरथल र होमो डोनिसोवान्सको जिन होमो सेपियन्समा केही मात्रामा छ। त्यसले उनीहरूबीच संसर्ग हुन्थ्यो भन्ने बताउँछ।

युरोपियनमा होमो नियन्डरथलको केही जिन छ। यसले होमो सेपियन्स कुनै लोप भएको होमो प्रजातिबाट क्रमविकास वा उद्विकास भएको र यसक्रममा अन्य प्रजातिको जिन समिश्रण हुन पुगेको अनुमान गर्न सकिन्छ। होमो सेपियन्सको फेला परेका सयौं जीवाष्ममध्ये सबैभन्दा पुरानो तीन लाख वर्षको सन् २०१७ मा उत्तरपश्चिमी अफ्रिकी देश मोरोक्कोमा फेला परेको छ। अहिलेसम्म त्यही जीवाष्मलाई मानिस उद्विकासको पहिलो स्तम्भ मानिएको छ।

ओ. ओ. ए. थ्यौरी

माथिको विवरणले बताउँछ कि मानिस अफ्रिकामा उद्विकास भई अन्य महादेशमा पैmलिए। यसलाई आउट अफ अफ्रिकन थेउरी भनिन्छ। जीवाष्म अध्ययनअन्तर्गत ओस्टियोलोजी शाखाबाट मानव र गैरमानव दुवैका हड्डीको अध्ययन हुन्छ। ओस्टियोलोजिस्टले जीवाष्म टुक्डोबाट सम्बन्धित जीवाष्म बनिएको व्यक्तिको उमेर, लिंग, स्वास्थ्य र अन्य विशेषता पत्तो लगाउँछ। साथै तिनीहरू बसेका वातावरण जान्न अन्य आयाम अध्ययन गरिन्छ। यस्तै, हिजोआज जीवाष्मबाट उक्त जीवको तस्बिर उतार्ने प्रविधि विकास भइसकेको छ।

मानिसको जीवाष्म संसारका धेरैजसो देशमा फेला परेका छन्। फेला परेको मानव जीवाष्म आधारमा प्रागैतिहासिक कालमा मानव चहलपहल कताकता थियो भन्ने कुरा र तिनका बसाइँसराइको खाका तयार हुन्छ। यसका निम्ति जियोक्रोनोलोजिस्टले जीवाष्म र पुरातात्विक साइटको उमेर निर्धारण गर्न विभिन्न डेटिङ प्रविधिहरू प्रयोग गर्छन् र मानव विकास तथा प्रवास समयरेखा पत्तो लगाउँछन्।

टोनी जोसेफले लेखेको ‘अर्ली इन्डियन्स’ शीर्षक पुस्तकमा प्रागैतिसिक होमो सेपियन्स अफ्रिकाबाट चार ठाउँबाट युरोप र एसिया प्रवेश भएको मार्ग उल्लेख छ (सन् २०१८, पृष्ठ ३६)। ती बाटाहरू हुन् (क) मोरोक्कोदेखि स्पेन– स्ट्रेट अफ गिब्रल्टार (ख) ट्युनिसियादेखि सिसिली– उत्तर अफ्रिकी देशदेखि इटली ग) इजिप्टदेखि मध्यपूर्व र घ) पूर्वी अफ्रिकी देश इरिट्रियादेखि येमन तथा सउदी अरब।

दक्षिण एसिया हुँदै अस्ट्रेलिया

अफ्रिकाबाट एसिया प्रवेश भएका मानिस दक्षिण एसियामा करिब ८०–९० हजार वर्ष पहिले आइपुगे। उक्त कुरा भारतको मध्य प्रदेशस्थित रायसेन जिल्लामा अवस्थित भीमबेट्काको गुफाको चित्रहरूबाट प्रस्ट हुन्छ। भीमबेटका सात पहाडमा फैलिएको र प्राकृतिक रूपमा हुने चट्टानी स्वरूपबाट भरिपूर्ण एक मनमोहक ठाउँ हो, जुन एक्काइसौं शताब्दीका अधिकांश मानव निर्मित निवासहरूभन्दा धेरै प्रभावशाली र भव्य छन् (टोनी जोसेफ, सन् २०१८: १६)।

तर, सन् २०१८ मा तामिलनाडु राज्यको अत्तिरामपक्कममा दुई लाखदेखि ७० हजार वर्ष पुराना मानव निर्मित ढुंगाका औजारहरू फेला परेका छन्। यसबारे पूर्ण अनुसन्धान भइसकेको छैन। यसले होमो सेपियन्स अफ्रिकाबाट दक्षिण एसिया कहिले आइपुगेको थियो भन्ने प्रश्न खडा गरेको छ। तर, ती हतियारहरू होमो सेपियन्सबाहेक अन्य प्रजातिबाट बनाइएको पनि हुन सक्छ। त्यहाँ डीएनए रहेको जीवाष्म फेला परे। जसबाट ती कहिले बनाइए भन्ने कुरा स्पष्ट हुन्छ।

जर्मनकी गुड्रन कर्बिनसले दाङ–देउखुरी उपत्यकामा ६०–७० हजार वर्ष पुराना ढुंगे हतियार प्रशस्त मात्रामा फेला पारेकी थिइन्। भूगर्वविद् खुमनारायण पौडेलले गुड्रनसँग पुराताŒिवक काम सिक्ने अवसर पाए। यसबारे गुड्रनले ‘प्रिहिस्ट्री कल्चर्स इन् नेपाल’ (सन् २००७) शीर्षक पुस्तक दुई भोलममा लेखेकी छन्। नेपालको उत्तरतिर हिमालयको पर्खाल र दक्षिणतर्फ घनाजंगल र ठूला नदी तथा फाँटिला उपत्यका नभएका कारण पुरातात्विक अध्येता प्रागैतिहासिक मानव गतिविधि खोज गर्न त्यति आकर्षित भएनन्। पहिले भएका खोज अनुसन्धानमा पहाडभन्दा भित्री मधेसमा 
बढी मानव चहलपहल भएको पाइन्छ।

अमेरिकाबाट प्रकाशित हुने पीएनएएस शीर्षकको जर्नल (१०४ः२१) मा होमोसेपियन्स दक्षिण एसियाबाट करिब ५० हजार वर्षपहिले अस्ट्रेलिया पुगेको बाटोको स्केच छ (सन् २००७ः८७२६–८७३०)। उक्त लेखमा उसबखत समुद्री सतह हिजोआजभन्दा निकै कम भएका कारण न्यु गाइनिया र अस्ट्रेलियाबीच स्थलमार्ग थियो भन्ने उल्लेख छ। त्यही जमिनको बाटो होमो सेपियन्स दक्षिणपूर्व एसियाबाट अस्ट्रेलिया पुगे। अझ, अगस्ट २०१८ मा प्रकाशित पीएनएएस जर्नल (११५: ३४) मा उत्तरी अस्ट्रेलियामा करिब ६५ हजार वर्षपहिलेको होमोसेपियन्स जीवाष्म पाइएको विवरण छ (पृ. ८४८२–८४९०)। हिजोआज न्यु गाइनिया र अस्ट्रेलियाबिच ५०–८० मिटर गहिरो समुद्र छ।

युरोसिया स्टेप्प

ग्रिस र इजरायलमा करिब दुई लाख वर्ष पुरानो होमोसेपियन्सको जीवाष्म सन् २०२१ मा फेला पर्‍यो। यसबाट होमोसेपियन्स त्यहाँबाट करिब एक लाख वर्षअघि युरोसिया स्टेप्पतर्फ लागे भन्ने अनुमान छ। युरोसिया स्टेप्पमा रहेका घाँसेमैदानमा ठूला जनावर त थिए तर चाँडो दगुर्न नसक्ने भएका कारण अफ्रिकाको जस्तो खतरनाक थिएनन्। बरु सजिलै सिकार गर्न सकिन्थ्यो। हंगेरी, रसिया, काजकिस्तान, युक्रेन, मंगोलियाहँुदै उत्तरपूर्वी चीनको मन्चुरियासम्मको भूभागलाई युरोसिया स्टेप्प भनिन्छ। होमो सेपियन्सले त्यहाँ ६०–७० हजार वर्ष सिकार गरेर बिताए। युरोसिया स्टेप्पमा रहेका मानिस जाडोका कारण अफ्रिका र मध्यपूर्वका भन्दा गोरा भए।

दसौं हजार वर्ष एकै ठाउँमा बस्दा जलवायु परिवर्तन, उत्परिवर्तन र अनुकूलन हुने क्रममा युरोसिया स्टेप्पमा भिन्न स्वरूप र आनीबानीका मानिस करिब ३० हजार वर्षअघि उद्विकास भए। तिनीहरू आर्य र मंगोल नश्ल भनेर चिनिन्छन्। यसैक्रममा युरोसिया स्टेप्पको पश्चिमतर्फ विशेष आर्य जिन उद्भव भयो। त्यसैबाट पछिल्लो कालखण्डमा युक्रेनमा रहेका मानिसमा बाइक्रोमोजोम ह्याप्लोग्रुप आरवनए उद्विकास भयो। यसलाई आर्य समुदायको विशेष जेनेटिक मार्कर अर्थात् आनुवंशिक चिह्न मानिन्छ।

बाइक्रोमोजोम ह्याप्लोग्रुप आरवनए भएका समुदाय मध्यएसियाबाट दक्षिण एसियातर्फ ईसापूर्व २००० मा प्रस्थान गरे। उनीहरू सिन्धुघाँटी आसपासका क्षेत्रमा ईसापूर्व १५०० मा आइपुगेका थिए। उनीहरूसँग घोडाले तान्ने बग्गीजस्तो यातायातका साधन थियो। खेती गर्दैनथे। पशु मासुका निम्ति पाल्थे। उसबखत सिन्धु सभ्यता विलय भइसकेको पाँच सय वर्ष भइसकेको थियो। सिन्धु सभ्यता विलयको बारेमा एक वर्षअघि एक रोचक वैज्ञानिक लेख प्रकाशित छ। उक्त लेखअनुसार सिन्धु घाटीमा ईसापूर्व २००० ताका करिब दुई सय वर्ष पानी परेन। लेखमा त्यसकारण सिन्धु सभ्यता त्याग्नु परेको बताइएको छ।

आर्य समुदाय ईसापूर्व २००० मा जब दक्षिण एसियातर्फ बढे, तब उसबखत ग्रिक, ल्याटिन, संस्कृत, अंग्रेजी र जर्मन भाषा उद्भव भइरहेको थियो। उल्लिखित भाषामा बाबा, आमा वा पुरुष, स्त्री जनाउने शब्दलाई कमशः पटेर र मटर, पेटर र मेटर, पितृ र मातृ, फादर र मोदर तथा वाटर र मुटर भनिन्छ। दक्षिण एसियामा आएपछि आर्य समुदायले संस्कृत भाषा विकास गरे। २३÷२४ सय वर्षअघि ब्रम्ही लिपि आविष्कार भयो। अनि वेद लेखियो।
यस्तै, युरोसियन स्टेप्पको पूर्वी उत्तरी भागमा आर्यभन्दा पृथक् नश्ल उदय भयो। उनीहरू प्राचीनकालमै मंगोलिया, चीन, जापान, कोरिया, तिब्बत, दक्षिण तथा दक्षिणपूर्व र मध्य एसियामा फैलिएका थिए।

बेरिङ ल्यान्डब्रिज

दुई अमेरिकी महादेशलाई ‘न्यु वल्र्ड’ भनिन्छ। जब न्यु वल्र्ड क्रिस्टोफर कोलोम्बसले पत्ता लगाए, तब मानिस कहिले र कसरी अमेरिका पुगे होलान् भन्ने खोजअनुसन्धानको प्रश्न थियो। युरोप र एसियाबाट अमेरिका ज्यादै टाढा छ। बीचमा समुद्र छ। सर्वप्रथम सन् १९३७ मा स्विडेनका एक वनस्पतिविज्ञले उत्तरपूर्वी साइबेरिया र संयुक्त राज्य अमेरिकाको अलाष्काबीच करिब २० हजार वर्षअघि जमिनबाट जोडिएको थियो भन्ने तथ्य उजागर गरेका थिए। उनले त्यो भूभागलाई बेरिङया भनेका थिए।

  • कर्णाटकबाट बंगालमा शासन गर्न पुगेका हिन्दुपति सेन राज्य जब १३ शताब्दीको सुरुमा पतन भयो। त्यसपछि उताबाट नेपाल प्रवेश गरी सप्तरीको रूपनगरमा पहिलो राज्य स्थापना गरे। त्यसपछि मकवानपुर, पाल्पा हँुँदै बाइसे, चौबिसे राज्य स्थापना गरे। यस्तै, भारतीय समथर भूभागमा बसोबास गर्ने नेपालको तराई भागमा बसाई सरे। मध्य तथा पश्चिम नेपालको पहाडी भूभागमा उत्तरपूर्व भारत तथा बर्मातिरबाट आएका समुदाय प्राचीनकालमै फैलिएका थिए। गोर्खा राज्य विस्तार हुँदा वैदिक आर्य, तामाङ, विश्वकर्मा तथा परियार नेपालभर पुगे। कोशीमा क्षेत्री तथा मगर सेनकालको सुरुमा र वैदिक आर्य सेनकालको अन्तमा पुगे।
  • मध्य तथा पश्चिम नेपालको पहाडी भूभागमा उत्तारपूर्व भारत तथा बर्मातिरबाट आएका समुदाय प्राचीनकालमै फैलिएका थिए। गोर्खा राज्य विस्तार हुँदा वैदिक आर्य, तामाङ, विश्वकर्मा तथा परियार नेपालभर पुगे। कोशीमा क्षेत्री तथा मगर सेनकालको सुरुमा र वैदिक आर्य सेनकालको अन्तमा पुगे।

२० हजार वर्षपहिले त्यसबेला त्यहाँ पानी त थियो तर अहिले जस्तो थिएन। त्यहीबाट उत्तरपूर्वी साइबेरियामा रहेका मानव आहारा खोजी क्रममा उत्तरअमेरिकास्थित अलाष्का पुगे। हिजोआज त्यहाँ रहेको समुद्रलाई बेरिङ समुद्र भनिन्छ। विश्वप्रख्यात जर्नल साइन्स (३१९ः१४) मार्च संस्करण २००८ मा प्रकाशित सामग्रीमा साइबेरियामा बसोबास गर्ने मानव बेरिङ ल्यान्डब्रिज भएर करिब २२ हजार वर्षअघि अमेरिका पुगे भन्ने जनाइएको छ। उनीहरू करिब १४ हजार वर्षअघि दक्षिण अमेरिका पुगेका थिए।

तिब्बती पठार

मानव एक अर्को एक प्रजाति होमो डोनिसोवान्स तिब्बत र साइबेरियामा ४०/५० हजार वर्ष अघिसम्म अस्तित्वमा थियो। होमो डोनिसोवान्ससँग होमो सेपियन्सको संसर्ग हुन्थ्यो। तिब्बती समुदायमा होमो डोनिसोवान्सको डीएनएको केही प्रतिशत हिस्सा पाइन्छ। उच्च भूभागमा बस्ने होमो डोनिसोवान्समा कम अक्सिनमा रहन सक्ने क्षमता थियो। शेर्पा तिब्बतमा पनि छन्, यता नेपालमा पनि छ। शेर्पामा डोनिसोवान्सको केही प्रतिशत जिन रहेको जानकारी निकैवटा वैज्ञानिक लेखमा प्रकाशित भइसकेको छ।

शेर्पा तिब्बती भाषाको ‘शार’ र ‘पा’ दुई शब्दबाट बनेको बताइन्छ। अघिल्लो र पछिल्ला दुई शब्दका अर्थ क्रमशः पूर्वी र जनता हँुदो रहेछ। पछिल्लो कालमा शेर्पाहरू पूर्वी तिब्बतको खाम प्रान्तमा थिए। त्यो प्रान्त १०औं शताब्दीदेखि सन् १९५० सम्म न त ल्हासाको अधीनस्थ थियो न चीनकै। त्यहाँ दुई दर्जनभन्दा बढी छुट्टाछुट्टै राज्य थिए। सम्भवतः त्यहीबाट आएकाहरू पश्चिम नेपालका खाम मगर हुन्। जसले खाम भाषा बोल्छन्। शेरी बी. ओर्टनरले ‘हाई रेलिजियन’ शीर्षक पुस्तकमा नेपालमा शेर्पा तिब्बतको खाम प्रान्तबाट सन् १४८० बाट आएको उल्लेख गरेका छन् (सन् १९९२ः२६)। यस्तै, सन् १९८९ मा रोबर्ट पौलले लेखेको ‘द शेर्पाज् अफ नेपाल इन् द तिबेतन कल्चरल कन्टेष्ट’ नामक पुस्तकमा तिब्बती संस्कृतिका यावत वृत्तान्त छ। पौलले शेर्पाले तिब्बती संस्कृति लिएर नेपाल भित्रिएको जनाएका छन्।

पछिल्लो जनगणना २०७८ अनुसार शेर्पाको संख्या १ लाख ३० हजार ६ सय ३७ छ। शेर्पा समुदायको जनसंख्यामा भोटे समुदायको संख्या पनि केही जोडिएको हुनुपर्छ। किनभने पहिले भोटे समुदायले नागरिकता लिन निकै कठिन थियो। सरकारी कर्मचारीवृत्तमा भोटेमध्ये केही तिब्बतबाट भर्खर नेपाल प्रवेश भएको बुझाइ थियो। यसैले, भोटेले सरकारी कागजातमा प्रायः शेर्पा लेखाउँथे। हुन पनि कतिपय भोटे चीनले जब तिब्बतलाई पूर्ण अधीनमा लियो। त्यसबेला तिब्बती धर्मगुरु दलाई लामासँगै भारत प्रवास जान नसकेकाहरू नेपाल बसाइँ सरे। शेर्पाहरू तिब्बती बौद्ध धर्म अनुयायी हुन र योग्य मानिसको पुनर्जन्म हुन्छन् भनेर विश्वास गर्छन्।

हाना रौबरले लेखेको ‘अफ साल्ट एन्ड राइस’ (सन् २०२२) शीर्षक पुस्तकमा तिब्बतबाट नेपाल प्रवेश मार्गहरूका सांकेतिक नक्सांकन छ। यसअनुसार लिम्बू, भोटे, शेर्पा, नेवार, गुरुङ, थकाली, डोल्पो समुदाय, मुगु समुदाय, लिमी उपत्यकाको भोटे (खम्पा) र ब्याँसी समुदायबाट सन् १९३० भन्दा पहिले नुन ल्याउने १६ वटा नेपाल तिब्बतबीच मार्ग देखाइएको छ (पृष्ठ ३३)। प्राचीनकालमा मानिस तिनै संकेत गरिएका नुन ल्याउने नाकाबाट तिब्बतबाट नेपाल प्रवेश भएका थिए भनेर बुझ्दा अन्यथा हुँदैन।

येल्लो र याङ्जे उपत्यका

तिब्बतको खाम प्रान्तसँग जोडिएको छ, चीनको सिचुआन र युनान प्रान्त। खाम भूभागको उत्तरतर्फ हिजोआज चीनको क्विन्घाई प्रान्त छ। त्यहाँको एक हिमालबाट संसारकै तेस्रो लामो याङ्जे नदी उद्भव भएको छ। चीनमा येल्लो रिभरपछि याङ्जे नदी उपत्यकामा प्राचीनकालमा मानव सभ्यता थियो। मानिसले याङ्जे नदी उपत्यकामा करिब ९ हजार वर्षपहिले धान उपभोग गर्थे। त्यहाँबाट धानखेती गर्ने मानिस दक्षिणपूर्व एसिया, दक्षिण एसियामा पुगे। पूर्वी नेपालमा त्यहीबाट धान ल्याउने समुदाय लिम्बू हुन्। यो तथ्य लिम्बूमा रहेको जिन याङ्जे उपत्यकामा धान खेती गर्ने समूहबाट उद्भव भएको हो भन्ने यो पंक्तिकारले नयाँ पत्रिकाको १३ असोज २०८० संस्करणमा ‘धानको बसाइँसराइ: चीनको सिचुवानदेखि नेपालसम्म’ शीर्षकमा लेखेको छ।

यस्तै, फक्सटेल भनिने सेटारिया इटालीका वैज्ञानिक नाम दिइएको कागुनो पनि लिम्बू मुन्धुममा कुरा निस्कन्छ। लिम्बू मुन्धुममा कागुनोलाई प्यारु भन्छन् (याक्थुङ साम्जिक मुन्धुम २०७९ : २३८–२३९)। कागुनो येल्लो र याङ्जे नदी उपत्यकामा उद्विकास भएको हो। लिम्बूले उत्तैबाट पूर्वी नेपालमा ल्याएको हुनुपर्छ।

सोअल मुलार्डले लेखेको ‘ओपेनिङ द हिडेन ल्यान्ड’ शीर्षक पुस्तकमा लिम्बू र लेप्चा सिक्किममा कम्तीमा ईसापूर्व पाँचौं सहशताब्दीमा आइपुगेको उल्लेख छ (सन् २०११: ९)। सिक्किमसँग पूर्वी नेपालको सिमाना जोडिएको छ। यसले लेप्चा सिक्किम, नेपाल दुवैतिर करिब सात हजार वर्षअघि थिए भन्ने संकेत गर्छ। लेप्चाहरू याङ्जे नदी उपत्यकाभन्दा केही उत्तरतर्फबाट आएको बताइएको छ।

त्यतैबाट राईलगायत कतिपय पश्चिम नेपालमा बसोबास गर्ने गैरक्षेत्रीबाहुन दक्षिणपश्चिम चीन भएर हिमालय भन्ज्याङ पारगरी दक्षिण एसिया प्रवेश भएका हुन्। करिब चार हजार वर्षअघि दक्षिणपश्चिम चीनस्थित तारिम उपत्यकामा मानव सभ्यता उच्च स्तरमा विकास भएको थियो। त्यहाँ पाइएका ममीभूतहरू चिनियाँमूल र गैरचिनियाँ मूलका छन्। तारिम उपत्यकालाई उहिले काशी भनिन्थ्यो। त्यो व्यापारिक केन्द्र पनि थियो।

भारतको काशी चाहिँ त्यसैका प्रतिलिपि नाम हो। राई मुन्धुमविद् भोगी चाम्लिङले केही राई समुदायको मुन्धुममा उनीहरू तारिम उपत्यकाभन्दा दक्षिणतर्फको हिमालयबाट भन्ज्याङ पार गरेर भारतहुँदै तराईबाट पूर्वी पहाडी भूभागमा प्रवेश भएको कान्तिपुर दैनिकमा ‘बास बस्दै बस्दै नेपाल’ शीर्षक लेखमा लेखेका छन् (१८ मंसिर २०७८)।

भारतबाट नेपाल

खेतीपाती गर्ने इरानी करिब १० हजार वर्षपहिले दक्षिण एसिया आएका थिए। सिन्धु सभ्यता करिब ईसापूर्व २६००–१९०० सम्म हराभरा थियो। करिब चार हजार वर्षअघि जलवायु परिवर्तनका कारण सिन्धु सभ्यता विलय सुरु भएको थियो। मानिस त्यहाँबाट दक्षिण भारत र पाकिस्तानतर्फ लागेका थिए। त्यहाँका मानिस द्रबिडियन थिए। भारतको झारखण्डतिर आउने द्रबिडियनको सुनसरी र मोरङ जिल्लामा बसोबास छ। तिनीहरू उराउँ/कुडुख हुन्।

युनानी सेनाले ईसापूर्व तीन सय वर्षअघि भारतमा आक्रमण गरी भारतको निकै ठूलो हिस्सा कब्जा गरे। त्यसपछिका केही शताब्दीमा भारतबाट हिन्दुहरू विशेषतः लिच्छवि शरणार्थीका रूपमा नेपाल प्रवेश गरे।

इरानतिरबाट गएका चीनको तारिम उपत्यकामा केही मात्रामा थिए। उनीहरू भारत र पाकिस्तानको सीमावर्ती क्षेत्रबाट हिमाल हुँदै उत्तरपश्चिम भारत (उत्तराखण्ड) भएर पश्चिम नेपालमा आए। उनीहरू खस हुन्। वैदिक आर्यले खसलाई पश्चिम नेपालमा १२औं शताब्दीपछि क्षेत्री बनाएर सामाजिक रूपमा नजिकको सम्बन्ध स्थापित गरे। उसबखत दक्षिणबाट प्रवेश भएकाको आर्यको मात्र गोत्र प्रचलन थियो। त्यसपछि थरका प्रचलन सुरु भयो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.