बजार प्रवर्द्धनका लागि कृषि मेला
धनकुटा : ग्रामीण क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तुको बजार प्रवर्द्धनका लागि साँगुरीगढी गाउँपालिका-५ डाँडाबजारमा कृषि मेला प्रदर्शनीको आयोजना गरिएको छ। साँगुरीगढी गाउँपालिका र वडा नम्बर ५ को संयुक्त आयोजनामा सञ्चालन गरिएको मेलामा कृषि मेला व्यवस्थापन समिति र गाउँ विकास कार्यक्रम सामुदायिक विकास कोषले व्यवस्थापन गरेको छ।
कृषि मेला प्रदर्शनीमा ५ नम्बर वडा भरिका किसानले उत्पादन गरेको काउली, रायोको साग, गोलभेँडा, लौका, मुला, कागती, किवी, च्याउ जस्ता कृषिजन्य वस्तुहरू प्रदर्शनीमा राखिएको थियो।
किसानले उत्पादन गरेको कृषिजन्य वस्तुलाई एक आपसमा प्रतिस्पर्धा गराई तरकारी बाली, अन्नबाली, फलफूल बाली, मसला बाली गरी चार विधामा २२ जना किसानलाई नगदसहित पुरस्कृत गरिएको थियो।
वडाले हरेक वर्षको कृषि मेला प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ। प्रदर्शनीले वडा भरिका किसानको भेटघाट हुने र एक आपसमा कृषिजन्य वस्तु उत्पादन सम्बन्धी अन्तरसंवाद हुने वडाध्यक्ष खड्गबहादुर लिम्बुले बताए।
मेलाको कारण किसानहरू भेला भई एक आपसमा अनुभव साटासाट र उनीहरूबीच उत्पादनमा प्रतिस्पर्धा हुने अध्यक्ष लिम्बूको भनाइ छ। कृषि मेला प्रदर्शनीको उद्घाटन साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले र कार्यक्रमको सञ्चालन वडाका कर्मचारी छत्र याखाले गरेका थिए।