चुरेमा फस्टाएको अचार उद्योग

चुरेमा फस्टाएको अचार उद्योग
सुन्नुहोस्

कैलाली : नेपालमा रोजगारी छैन भनेर विदेश जानेहरूको लर्को लागि रहेको छ तर कैलालीको चुरेका दिवाकर योगी यतै सम्भावना खोजिरहेका छन्।

चुरे क्षेत्रमा फल्ने सिजन अनुसारको अचार बनाउने, अर्गानिक पहाडी उत्पादनहरू प्रशोधन गरेर उनी खाडी मुलक जाने युवाहरूभन्दा चार गुण बढी आम्दानी गरिरहेका छन्। कैलालीको चुरे गाउँपालिकामा पर्ने भीमदत्त पन्त राजमार्गको फल्टुडेमा छ, हाम्रो अचार उद्योग तथा फलफूल प्रशोधन केन्द्र। 

राजमार्गमै उद्योगको बोर्ड लगाइएको छ।  बुवा हरिशंकर योगीले २०६१ सालदेखि अचार बनाउने कामबाट सुरु गरेको व्यवसाय, अहिले छोरा दिवाकर योगीले अत्याधुनिक प्लान्ट जडान गरेर अचार र अमिलो (चुक) उत्पादन गरिरहेका छन्। 

योगीको उद्योगमा सिजन अनुसार लसुनको अचार, आँपको अचार, अमिलो र खुर्सानीको अचार, सिस्नुको पाउडर, तेजपत्ता, कागतीको रस लगायतका थुप्रै अर्गानिक उत्पादनहरू पाइन्छन्। ‘बुवाले अचारबाट सुरु गर्नु भएको हो, अहिले अमिलो (चुक) पनि उत्पादन गरिरहेको छु। चुक भन्दा पनि बोक्राबाट बढी फाइदा छ’ दिवाकरले भने, ‘चुकको बोक्रा जर्मन निर्यात भइरहेको छ।’

दिवाकरका अनुसार अमिलो १० लिटर रस पकायो भने १ लिटर मात्रै चुक निस्कन्छ। तर सुकाएको बोक्रा भने २५० रुपैयाँ किलो बिक्री भइरहेको छ। ‘अमिलोको दाना किनेर चुक बनाएर बिक्री गर्नमा खासै फाइदा छैन तर बोक्रा बिक्री हुन थालेपछि राम्रो फाइदा हुने गरेको छ’, दिवाकरले भने।

उनीबाट अमिलोको बोझा सुर्खेतको एउटा अर्बल कम्पनीले किलोको २५०का दरले किन्छ। दिवाकर भन्छन्, ‘त्यो सबै बोक्रा जर्मन जान्छ। त्यहाँ त्यो बोक्रा हर्वल चियाका लागि प्रयोग हुन्छ भन्ने सुनेको छु।’ अहिले अमिलोको सिजन हो। कैलालीका चुरे, जोरायल र मोहन्याल गाउँपालिका, डडेल्धुरा, बैतडी र दार्चुलाबाट समेत अहिले उनको उद्योगमा किसानले अमिलोका दाना ल्याई रहेका छन्। 

२०६४ सालमा रिज्म एफपीले उनलाई अचार बनाउने र चुक बनाउने मेसिन सहयोग गरेपछि उनी अर्गानिक उत्पादनमा व्यावसायिक रूपमा लागेका हुन। गाउँघरमा चुक बनाउँदा सामान्य तया परम्परागत काठको कोल्हुमा पेलेर तामाको भाँडामा दाउराले पकाउने गरिन्छ तर योगीको उद्योगमा अचार बनाउने र पकाउने आधुनिक मेसिन राखिएको छ। 

त्यसमा स्टिमबाट पकाउने गरिन्छ। आफ्नो रोजगारी मात्रै होइन, योगीको उद्योगमा सिजन अनुसार १५/२० जना स्थानीय महिलाहरू पनि रोजगारी पाउने गरेका छन्। ‘आपको सिजनमा आम खुर्सिन आउछौं, लसुन र खुर्सानीको पनि सिजन हुन्छ। अहिले अमिलो खुर्सिन आएका छौं’ अमिलोको बोझा निकाल्दै गरेकी फल्टुडेकी खगिसरा रसाइलीले भनिन।

चुकको बोक्रा निकाल्न योगीको यद्योगमा १५/२० जना महिला आएका थिए। अमिलो खुर्सिदै गरेकी अर्की महिला कौसिला रसाइलीले भनिन, ‘एक क्रेट अमिलो खोर्सको सय रुपैयाँ हुन्छ। सक्नेले दिनमा ८ क्रेट पनि बनाउँछन्। सिजन अनुसारको राम्रो रोजगारी भएको छ।

योगीको उद्योगमा स्थानीय किसानको अमिलो, आँप, कागती, लसुन, सिस्नु र खुर्सानी पनि आउछ। उनको उद्योगका कारण स्थानीयको उत्पादनले बजार पाएको छ। गाउँका किसान उनको उद्योगमा भारी बोकेर मौसम अनुसारको कृषि उपज ल्याउने गरेका छन्। स्थानीय चण्डीका रानामगर भन्छिन्, ‘गाउँको उत्पादन गाउँमै बिक्री गर्न पाएकाले सजिलो भएको छ। खुर्सानी, लसुन, आम, अमिलो, कागती, तेजपत्ता, सिस्नु सबै गाउँमै बिक्री हुनेगर्छ।’

दिवाकरले उद्योगमा एक करोड लगानी गरेका छन्। उनका बुवा हरिहर योगीले २०६४ सालमा राष्ट्रिय स्तरको उत्कृष्ट खाद्य उद्यमी तथा व्यवसायी पुरस्कार पनि पाइसकेका छन्। बुवाको कामलाई आधुनिक रूपमा अगाडि बढाएका दिवाकर, पहाडमा पनि स्वरोजगारको प्रचुर सम्भावना छ भन्ने उदाहरण बनेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.