नेपाललाई २९ स्वर्ण
काठमाडौं : नेपाल सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपमा आइतबार सर्वाधिक २९ स्वर्ण पदक जित्दै शीर्ष स्थानमा रहेको छ। नेपालले थप २६ रजत र ६ कांस्य पनि जित्यो।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगितामा भारत २५ स्वर्ण, २२ रजत र १७ कांस्यसाथ दोस्रो भयो। नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगितामा तेस्रो स्थानको बंगलादेशले ६ स्वर्ण, ७ रजत र १४ कांस्य हात पार्यो।
यस्तै ४ स्वर्ण, १ रजत र १९ कांस्यसाथ पाकिस्तान चौथो, २ स्वर्ण, ८ रजत र २९ कांस्यसाथ श्रीलंका पाँचौं तथा २ कांस्यसाथ भुटान छैटौं भए। विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्यसचिव सूर्यलाल भण्डारी, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, कराते महासंघका महासविच दावा गुरुङलगायतले पुरस्कृत गरे।
दुईदिने प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका, भुटान र पाकिस्तान गरी ६ राष्ट्रका १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी थिए।