कांग्रेस लुम्बिनी प्रदेश सम्मेलन : संघियता र हिन्दु धर्मको विषयलाई पुनर्विचार गर्न माग
बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेशको बन्द सत्रमा सहभागीहरुले संघियता र हिन्दु धर्मको विषयलाई पुनर्विचार गर्न माग गरेका छन्। शनिबारदेखि बुटवलमा शुरु भएको नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलनको बन्द सत्रमा उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक र महामन्त्री सुरेन्द्रराज आचार्यले पेश गरेको सांगठनिक प्रतिवेदनमा छलफल गर्दै सहभागीले संघियताको अभ्यास गलत रुपमा प्रस्तुत भएकोले यसको बारेमा कांग्रेसले जनतालाई प्रस्ट बनाउन माग गरेका छन्।
हिन्दुराज्य रहेको नेपाललाई जनताको भावना विपरीत धर्म निरपेक्षता घोषणा गरेकोमा जनता असन्तुष्ट रहेको उनीहरुको भनाइ छ। उनीहरूले कांग्रेसले नेपाललाई हिन्दुराज्य घोषणाको मुल मुद्दा उठाउनु पर्ने माग गरेका छन्। सबै तहका सरकारलाई सञ्चालन गर्न उच्चस्तरीय संयन्त्र तयार गर्ने र जनताको भावना अनुरुप अगाडि बढ्ने बन्द सत्रले निर्णय गरेको छ।
केन्द्रीय तहका सबै नेताहरु वडास्तरबाट प्रतिनिधि छानिनुपर्ने स्पष्ट विधानमा उल्लेख गर्न, पालिका सभापति र प्रदेश क्षेत्रीय सभापतिहरु स्वत: केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिने व्यवस्था गर्न पनि माग गरेको छ। तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको केन्द्रसँग आग्रह गरेको छ। पार्टीको तल्ला संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न केन्द्रलाई आग्रह गरेको हो।
प्रदेश सभापति अमरसिंह पुनले संघिय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गरे।
यस्तै कांग्रेसको क्रियाशिलताको लागि सबै पालिका सभापतिलाई पदेन महाधिवेसन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले आग्रह गरेको छ। पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु पनि तल्लो तहबाट स्वत: प्रतिनिधि भन्ने व्यस्था खारेज गर्न, सबैले तलैदेखि लडेर आउनुपर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ।
बन्द सत्रमा प्रदेश उपसभापति भुवन प्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकास रानाद्धारा प्रस्तुत प्रतिवेदनमाथि ४ वटा समूह बनाएर छलफल भएको कांग्रेसका प्रदेश सदस्य युवा नेता विष्णुप्रसाद पोख्रेलले बताए।