सान्टोस् प्रकरणमा नैतिक प्रश्न

सान्टोस् प्रकरणमा नैतिक प्रश्न
सुन्नुहोस्

डिसेम्बर १, २०२३ शुक्रबार। अमेरिकी सञ्चार माध्यमहरूमा अमेरिकी कंग्रेसको तल्लो सदन अथवा हाउस अफ रेप्रेसेन्टेटिभका सदस्य जर्ज सान्टोस्लाई सदनको बहुमत सदस्यले गरेको मतदानको आधारमा सांसद पदबाट निष्कासन गरेको समाचार छाएको पाइयो। उनी न्युयोर्क राज्यको एक निर्वाचन क्षेत्रबाट निर्वाचित रिपब्लिकन पार्टीका प्रतिनिधिसभा सांसद थिए। 

यो निष्कासन अमेरिकी कंग्रेसको इतिहासमा पहिलो घटना भने होइन। योभन्दा पहिले विभिन्न कालखण्डहरूमा दुवै पार्टीका यस्ता पाँच सांसदहरू निष्कासित भइसकेका रहेछन्। आरोप, अभियोग भिन्दाभिन्दै हुन सक्छन् तर तल्लो सदनले आफ्नो अधिकार प्रयोग गरी आफ्नै सहकर्मीलाई निष्कासन गरेको अमेरिकी इतिहासमा यो छैटौं घटना थियो। उनी माथि मुख्य रूपमा वैयक्तिक विवरणमा झूटा सूचना दिएको र चुनावी चन्दाको व्यक्तिगत दुरुपयोग गरेको आरोप लागेको थियो। 

यसैलाई आधार मानेर तल्लो सदनमा सान्टोस्लाई सांसद पदबाट निष्कासन गर्न प्रस्ताव पेस भएको थियो। उक्त प्रस्तावमा रिपब्लिकन र डेमोक्र्याट दुवै पार्टीका बहुमत सदस्यहरूको मतले उनलाई निष्कासित गर्ने निर्णय गरेको थियो। सम्भवतः उक्त रिक्त पदका लागि अब मध्यावधि चुनाव हुनेछ। 

३५ वर्षीय रिपब्लिकन राजनीतिकर्मी सान्टोस्ले सन् २०२० को चुनावमा विजयी भएर सदनमा पहिलो पटक प्रवेश पाएका थिए। उनीमाथि लगाइएका आरोपहरूलाई हेर्दा मेरो मस्तिष्कमा दुइटा पाटो उघारिदिएको छ। पहिलो, अमेरिकाजस्तो विकसित, सुसंस्कृत–सभ्य र शिक्षित मुलुकमा पनि सांसद जस्तो गरिमामय पदमा बस्ने व्यक्ति यस्तो नैतिक पतन हुने घटनामा सम्मिलित हुन सक्छ ? दोस्रो पाटो, हामीलाई सामान्य लाग्ने यस्तो घटनाले पनि एउटा सांसदको पद गुम्न सक्छ ? के अमेरिकी प्रजातान्त्रिक अभ्यासले मात्र यो सम्भव भएको हो ? के नेपालमा पनि यो सम्भव छ ? आदि। 

अमेरिकी चुनावको बेला एउटा उम्मेदवारको क्षमता उसले उठाएको चुनावी चन्दाले पनि प्रतिविम्बित गरेको हुन्छ। चुनावमा हुने अर्थ संकलनले चुनाव क्षेत्रमा एउटा उम्मेदवारको प्रभाव दर्शाइरहेको हुन्छ। सम्भावित विजेताको पूर्वाअनुमान गर्न सजिलो पार्दछ। पारदर्शी चन्दा संकलन र खर्चले स्वतन्त्र र निष्पक्ष चुनावको पनि आकलन गर्न मद्दत पुर्‍याइरहेको हुन्छ। नेपालमा पनि चुनावी अभियानलाई पारदर्शी बनाउन निर्वाचन आयोगले निर्वाचनपूर्व प्रत्येक निर्वाचन क्षेत्रलाई निश्चित खर्चको सीमा तोकिदिएको हुन्छ। तर त्यसको परिपालना कति हुन्छ, यो नैतिक प्रश्न हमेशा अनुत्तरित छ। पारदर्शी चुनावी खर्चको विवरण पेस गर्ने अमेरिकी परिपाटीले एउटा विजयी प्रतिनिधिलाई पनि नैतिकता र इमान्दारिताको बन्धनले बाँधेको हुन्छ। सही र तथ्यगत विवरण पेस गर्नाले अनियमितता र नैतिक उल्लंघनलाई छेक्न मद्दत मिल्छ। यसले उठाउन सक्ने प्रश्नहरूले एक जिम्मेवार व्यक्तिलाई जवाफदेही बनाउँछ। हामीकहाँ भने कमजोर जवाफदेहिताले नैतिकता सधैं छायाँमा परिरहेको हुन्छ। 

चुनावको प्रचारप्रसार अभियान दौरान सांसद जर्ज सान्टोस्ले होटल, खाना र यात्राको लागि गरेका भद्दा खर्चले नैतिक कठघरामा उभ्यायो। आफ्नो वैयक्तिक विवरणमा उल्लेख गरेका झूटा सूचनाहरूले पनि नैतिकतामा प्रश्न उठायो। हामीलाई सामान्यजस्तो लाग्ने यस्ता घटनाहरू नेपालमा कैयन भए, वर्तमान अवस्थामा पनि भइनै रहेका छन् अनि भविष्य पनि टाढा छैन। अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेसेन्टेटिभमा उठेजस्तै हाम्रो सदनमा पनि यस्तो प्रश्न उठ्ने हो र कारबाही अघि बढाइने हो भने सदन रित्तिन बेर छैन।

चुनावी खर्च विवरण अदृश्य र कहालिलाग्दो छ। प्रतिष्ठित पार्टीका नेताहरूले नै घोषणा गरेका छन् चुनाव खर्चको बारेमा। कसले कति चन्दा उठाए ? पार्टीबाट प्रत्येक निर्वाचन क्षेत्रको लागि कति पैसा उपलब्ध गराइयो ? कति खर्च भयो ? केमा खर्च भयो ? कसले खर्च गर्‍यो ? आदि। वैयक्तिक विवरणको हकमा भन्ने हो भने जिम्मेवार पदीय दायित्व बहन गर्ने उच्च पदस्थ व्यक्तिहरूको जन्म मिति फेरबदल, केरमेटजस्ता घटना धेरै सार्वजनिक भएका छन्। र कत्ति हुँदैछन् हेर्नै बाँकी छ। सही र तथ्यगत विवरण पेस गर्ने हो भने कति उम्मेदवार त चुनावी प्रतिस्पर्धाकै लागि अयोग्य हुन सक्दछन्। 

नेपालका दलहरूको खर्च कसले पुर्‍याउँछ ? वार्षिक सदस्यता शुल्कले पार्टीहरूको कार्यक्रम चल्छ ? पार्टीहरूको अन्य आम्दानीका स्रोतहरू के के हुन् ? जिल्ला जिल्लाका पार्टी संगठन कसरी चल्छ ? अभियान, आन्दोलनको खर्च कहाँबाट आउँछ ? पार्टीहरूका दैनिक खर्चहरू कति छन् ? यो कसले व्यहोर्छ ? कुन कुन बैंकमा खाता छन् र त्यसमा कति निक्षेप छ ? यो एउटा सामान्य नेपालीको मनमा उब्जेका केही जिज्ञासा मात्र हुन्। प्रश्न नहुन सक्छ, अर्थात् सोध्न अथवा उठाउन नमिल्ने कुरा प्रश्न हुन सक्दैन ! मनमा अर्को जिज्ञाशा पनि उब्जिन्छ ! 

के एक सामान्य नेपाली नागरिकसँग नेपालका पार्टी अनि दलहरूसित यस्ता प्रश्न गर्ने अधिकार छ ? एउटा नेपाली नागरिक देशका दलहरूसित यस्तो प्रश्न गर्ने सामथ्र्य र हैसियत राख्दछ ?  यदि हामीमा नैतिक जिम्मेवारी, जवाफदेहिता र इमान्दारिता हुने हो भने त्यस्ता प्रश्न उठ्ने कुरै हुँदैन, सम्भावना नै रहँदैन। पारदर्शी ढंगबाट सबै विवरणको सत्यतथ्य सार्वजनिक हुँदो हो त भ्रष्टाचार, दुराचार, व्यभिचारजस्ता शब्दहरू जनताले सुन्नै पर्ने थिएन। 
अमेरिकी सरकार र त्यसअन्तर्गतका विभिन्न सहयोग निकायहरूले बर्सेनि धेरै संख्यामा नेपालीहरूलाई विभिन्न अमेरिकी राज्यहरूमा अध्ययन, अवलोकन, तालिम, गोष्ठी र सेमिनारहरूमा सहभागी गराएको सुनिन्छ। तर के सिक्छन् भन्ने जिज्ञासा पनि मेरो मनमा आज पुनः उब्जिएको छ। 
यिनै हुन् सांसद जर्ज सान्टोस्को निष्कासनले उब्जाएका नैतिक प्रश्नहरू, मेरो मनका !
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.