आवेदन दिने आज अन्तिम दिन
काठमाडौं : वैदेशिक रोजगारीमा जानेका लागि खुलेको हिमालयन रिइन्स्योरेन्सको आईपीओमा सोमबारसम्म आवेदन दिन पाइने भएको छ।
एक दिन बाँकी छँदासम्म ७१ करोड ७४ लाख ७७ हजार ४ सय रुपैयाँबराबरको आवेदन परेको छ। आइतबार साँझसम्ममा २८ हजार ४ सय ७९ जना आवेदकले ३४ लाख ८२ हजार ९ सय कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाएको छ।
हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँबराबरको ३ करोड कित्ता आईपीओ निष्कासन गर्दै छ। जसमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता वैदेशिक रोजगारीमा जानेका लागि सुरक्षित गरिएको छ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा जानेले मात्र आईपीओ भर्न पाउनेछन्। मंसिर १८ सम्म आवेदन दिन पाउने आईपीओमा हालसम्म मागभन्दा १६ प्रतिशत बढी आवेदन परेको छ।
हिमालयन रिले प्रतिकित्ता एक सय अंकित मूल्यमा १ सय ६ रुपैयाँ प्रिमियम थप गरेर २ सय ६ रुपैयाँ दरमा आईपीओ निष्कासन गरेको हो। आईपीओमा १० देखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सकिन्छ।
यता एनआईसी एसिया क्यापिटलले म्युचुअल फन्ड योजनामा हालसम्म ८४ करोड ३४ लाख ७२ हजार १ सय रुपैयाँको आवेदन परेको छ। ‘एनआईसी एसिया ग्रोथ फन्ड २’मा ५५ हजार २ सय ९५ आवेदकले ८ करोड ४३ लाख ४७ हजार २ सय १० एकाइ माग गरेका हुन्।
म्युचुअल फन्डको १ अर्ब रुपैयाँबराबरको १० करोड एकाइ निष्कासन भएकामा ८ अर्ब ५० करोडका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्। यो बन्दमुखी योजनामा मंसिर १८ गतेसम्म लम्ब्याइएको छ।