शिकारीको पासोमा फसेको चितुवाको उद्दार
धनगढी : कञ्चनपुरमा सिकारीले पासोमा पारेको चितुवाको जिवितै उद्धार गरिएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ८ मा पर्ने प्रगति महिला सामुदायिक वनबाट चितुवाको उद्दार गरिएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका रेञ्जर दुर्गेश धामीले दिएको जानकारी अनुसार आइतबार राती चितुवा पासोमा परेको खबर आएको थियो । स्थानीयहरुले चितुवा पासोमा परेको देखेपछि बनलाई खबर गरेका थिए ।
रातीको समयमा बेहोस पारेर उद्दारमा कठिनाइ हुने भएकाले सोमबार बिहान चितुवालाई पासो मुक्त गरिएको रेञ्जर थापाले बताए । डिभिजन वन, शुक्लाफाँटा राष्टिय निकुञ्जको टोली, राष्टिय प्रकृति संरक्षण कोषको टोली र पशु चिकित्सकसहितको टोलीले वयस्क पोथी चितुवाको उद्दार गरेको हो ।
रेञ्जर थापाले चितुवाको आँखामा चोट आएको,कम्मरमा तारको पासो परेकाले पछाडिको भाग कम चलिरहेको र तत्काल बाँच्न सक्ने सम्भावना देखिएको बताए । ‘तत्कालको अवस्था हेर्दा बाँच्न सक्ने सम्भावना देखिएको छ तर भित्री चोट कति लागेको छ भन्ने कुरा बुझ्न सकिएको छैन,पछाडीको भाग कम चलिरहेका छ,'रेञ्जर थापाले भने ।
उनले सरकारले बालीनाली नष्ट गरिरहेको भन्दै बँदेल मार्न सकिने सूचना राजपत्रमा राखेपछि पासो थाप्ने क्रम बढेको बताए । चितुवा शुक्लाफाँटा राष्टिय निकुञ्जबाट आएको अनुमान गरिएको छ ।