हिमाली भू-भागमा हिमपातको सम्भावना
‘मिचोङ्ग’ सामुद्रिक आँधीको नेपालमा आंशिक असर : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षा हुने
काठमाडौं : नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पुर्वी भू-भागमा बंगालको खाडीको मध्य-पश्चिम क्षेत्र आसपास विकसित ‘मिचोङ्ग’नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको जनाएको छ।
‘मिचोङ्ग’नामको सामुद्रिक आँधीको प्रभावले कोशी, मधेश र बागमती प्रदेशको पूर्वी भागसम्म बादल लागिरहेको छ। मंगलबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ बुलेटिनमा उल्लेख छ। वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बुधबार कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार पनि कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।