युवाको लगानी अर्गानीकतर्फ
काठमाडौं : पछिल्लो समय उत्पादन बढाउने प्रतिस्पर्धामा विषादीको प्रयोग बढ्न थालेपछि युवाहरू अर्गानिक उत्पादनमा लागेका छन्। पछिल्लो समय युवाहरू अर्गानिक उत्पादनतर्फ लागेका हुन्। किसानको अर्गानिक उत्पादनलाई बिक्री थलो बनाउन ५ युवाले ५० लाखभन्दा बढिको लगानीमा अर्गानिक मार्ट खोलेका छन्।
हिमालदेखि तराईसम्मका रैथाने र अर्गानिक उत्पादनहरू एकै स्थानमा उपलब्ध गर्ने उद्देश्यले सोमबारबाट टोखा–३, साईबाबा (कोहिटी) अगाडि मार्ट सञ्चालन गरिएको हो। जहाँ अर्गानिक प्रमाणीकरण गरिएका तथा रैथाने उत्पादनहरू तरकारी, फलफूल, गेडागुडी, दाल–चामल, जुस, लगायतको अर्गानिक–मार्ट सञ्चालनमा आएको छ।
आम ग्राहकले ४ किसिमका सामानहरू किन्न पाउँछन्। मार्टमा करिब ७० भन्दा बढी प्रकारका उत्पादनहरू उपलब्ध छन्। जहाँ अर्गानिक सर्टिफाई भएका, लोकल तथा रैथाने उत्पादन, विषाक्तरहित ताजा उपादनहरू, प्राकृतिक (न्यूरो, तामा, कोइरालाको फूल) र दुग्ध उत्पादनहरू उपलब्ध छन्।
सर्टिफाई भएका चियाका ७–८ ओटा आइटम छन्। सिधैं किसानबाट मार्टमा सामान संकलन हुनेछ। स्टोरेजदेखि प्रशोधन र प्याकेजिङ गरेर मार्टमै अर्गानिक वस्तु उपलब्ध गरिन्छ। अधिकांशको धारणा अर्गानिक उत्पादन महंगो हुने भन्ने छ।
तर यो मार्टले अर्गानिक उत्पादन भए पनि कालीमाटी तरकारी तथा फलफूल बजारले निकाल्ने होलसेल मूल्यको औसत मूल्यमा उत्पादन बिक्री गरेको बताएको छ। अर्गानिक महंगो भन्ने अवधारणा छ। तर यहाँ प्रमाणीकरण भएका उत्पादन पनि बजार मूल्यभन्दा बढी नपर्ने अर्गानिक भेञ्चर नेपालका अध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए।
आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारसम्म अर्गानिक उत्पादन बिक्री गर्न खोजेको उनले सुनाए। उनी भन्छन्,‘चितवन जिल्ला प्रांगारिक संघमा २७ जना कृषकहरू आवद्ध छन्। यहाँ अर्गानिक भनेर प्रमाणित गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउँदै छौं। यसैक्रममा चुकन्दर, गाँजर विदेशमा जाँदै छ। अरू उत्पादनहरूलाई पनि आन्तरिक बजारमा प्रवर्द्धन गर्न लागेका हौं।’
मार्टबाट भएको नाफा कुनै न कुनै रूपमा किसानमा पुर्याउने गरी काम गर्ने योजना रहेको अध्यक्ष पोखरेलले बताए। ‘हामीले फरक तरिकाले गर्न खोजेका छौं। लगानी उठाउँछौं। व्यवसाय नाफामुखी भए पनि सही तरिकाले सदुपयोग गर्न खोजेका छौं। बचेको नाफा किसानलाई यातायातका रूपमा सहयोग गर्न हुन्छ की, उत्पादन गर्न सहयोग वा गुणस्तर नियन्त्रण लगायतमा आवश्यकअनुसार सहयोग उपलब्ध गर्ने योजना छ,’ उनले सुनाए।
यो मार्टको अवधारणा ल्याउनुअघि सेकार्ड नेपाल संस्थामार्फत धादिङ, काठमाडौं, नुवाकोट, मकवानपुर लगायतका जिल्लाहरूमा प्रांगारिक कृषि प्राथमिकता र विषादी प्रयोग न्यूनीकरण गर्ने खालका जनचेतनामुलक काम गरेको उनले बताए।
उनले भने, ‘तर कृषकहरूले यसरी गरेको उत्पादन कहाँ बिक्री गर्ने, व्यापारीले त सबै एकै ठाउँमा घुलमिल गरेर लान्छ। छुट्याएर पैसा पाइँदैन भन्ने गुनासो सुनियो।’ यसकारण हामी केही साथीहरू मिलेर सामाजिक उद्यमशीलताका रूपमा विकास गरेर किसानहरूको उत्पादनलाई बिक्री गर्ने स्थान निर्धारण गर्नका लागि मार्ट सुरु गरिएको उनले बताए।
अर्गानिक उत्पादनले कृषकहरूलाई जिम्मेवारी बनाउने र उपभोक्तालाई स्वस्थकर उत्पादन उपभोगमा सहयोग पुग्ने छ।