८६ हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
जोमसोम : सन् २०२३ को ११ महिनामा ८६ हजार ४८ पर्यटक मुस्ताङ भित्रिएका छन्। मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्या अहिलेसम्मकै उच्च हो।
अन्तर्राष्ट्रिय अमेरिकी सञ्चार संस्था सीएनएनले सन् २०२३ मा घुम्ने पर्ने पर्यटकीय गन्तव्य अन्तर्गत मुस्ताङ उपत्यकालाई सूचीकृत गरेसँगै मुस्ताङमा पर्यटकको संख्या अपेक्षाकृत वृद्धि भएको बताइएको छ।
सन् २०२३ को जनवरीदेखि नाभेम्बर अन्तिमसम्ममा ६८ हजार ७ सय ७७ जना सार्क राष्ट्रका र १७ हजार २ सय ७१ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ।
सन् २०२३ को नाभेम्बरसम्ममा ७५ प्रतिशत सार्क र २५ प्रतिशत विदेशी पर्यटक मुस्ताङ भित्रिएका एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए। आएका पर्यटकमध्ये ७० प्रतिशत भारतीय छन्।
सन् २०२२ मा ६५ हजार ९ सय ३० विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका थिए। तर, कोभिड माहामारीको पहिलो वर्ष सन् २०२० मा ४९४७ र सन् २०२१ मा २ हजार ३ सय विदेशी मुस्ताङ भित्रिएका थिए ।