मध्य मरुभूमिमा ४०० वर्ष पुरानो रूख
मनामा :रातो बालुवै–बालुवाको मरुभूमि। त्यही मरुभूमिको बीचमा एउटा अचम्मको जीवन्त रूख अर्थात ‘ट्री अफ लाइफ’। तर, त्यही रूख आज सुक्खा मरुभूमिको आशा, भरोसा र सकारात्मक चेतको प्रतीक बनेको छ। यो रूख ४ सय वर्ष पुरानो मानिन्छ मरुभूमिको देश, बहराइनमा।
बहराइनको राजधानी मनामाबाट ४० किलोमिटर टाढा रहेको सबैभन्दा अग्लो भूभाग जेबेल दुखानको बालुवाको ढिस्कोमा यो रूख एक्लै ठिङ्ग उभिएको हो। बहराइनको अग्लो स्थान भनिए पनि यो ठाउँ समुद्र सतहबाट जम्मा ४ सय ४० फिट (१३४ मिटर) मात्र रहेको छ। यो रूख भएको वरिपरि अरू कुनै वनस्पति भेटिन्नन्। बरु तेलका कुवाहरूबाट पेट्रोल र ग्यास निकाल्दै गरेका ढिकी जस्ता देखिने चलिरहेका ढिकी मिसिनहरू भेटिन्छन्। जमिनभरि यत्रतत्र तेल र ग्यास बोक्ने पाइपहरू बिच्छ्याइएका छन्।
मरुभूमिको रातो बालुवाघारीमा ४ सय वर्ष पुरानो यो रूख कसरी बाँचिरहेको छ ? अहिलेसम्म पनि वैज्ञानिकहरूले केही भन्न सकेका छैनन्। यद्यपि यो रूखको जरा ५० मिटर गहिराइसम्म फिजिएकाले वर्षको कुनै एक दिन पानी परेको बेला रूखले आफूलाई वर्षौंभरि पुग्ने पानी सोसेर राख्ने र त्यसैले जीवन धान्ने गरेको अनुमान गरिन्छ। धेरै गहिराइसम्म जरा फिजिएकोले समुद्री सतहको पानी पाउने गरेको पनि भन्ठान्छन्। कसैकसैले त कुनै बेला यो स्थानमा भगवानको बगैंचा रहेको र भगवान्ले नै रूखलाई बाँच्नका लागि आवश्यक तत्वहरू पु¥याइदिई रहेको विश्वास पनि गर्ने गरेका छन्। भगवान्को कृपाले उक्त रूखले अलौकिक शक्ति आर्जन गरेको भन्ठान्ने गरेका मान्छेहरू पनि उत्तिकै भेटिन्छन्।
मध्यपूर्वको सबैभन्दा सानो देश हो बहराइन। काठमाडौं उपत्यकाभन्दा अलिकति मात्र ठूलो अर्थात् ७ सय ६० वर्ग किमी क्षेत्रफल। काठमाडौं उपत्यकाभन्दा ९५ वर्ग किमी मात्र ठूलो रहेको बहराइनको जनसंख्या भने मात्र साढे १७ लाख अर्थात् काठमाडौं उपत्यकाको भन्दा आधा जति। वैदेशिक रोजगारमा बहराइन पुगेका नेपालीहरूको जनसंख्या २५ हजारको हाराहारी। त्यसमा पनि २ हजार ५ सय जति महिला।
साउदी अरबको पूर्व, कतारको उत्तर पश्चिम रहेको यो देश अरबियन सागरको बीचमा रहेको टापु देश हो। कुवेत पछिको संसारकै दोस्रो बलियो पैसा भएको देश अर्थात् १ बहराइनी दिनारको ३ सय ५० रुपैयाँ। संसारको शक्तिशाली देश अमेरिकाको १ डलरको जम्मा १ सय ३३ रुपैयाँ मात्र छ।
पुरातत्वसम्बन्धी विभिन्न अध्ययनहरूले उक्त रूख सन् १५८२ मा रोपिएको हुनसक्ने बताइएको छ। यो रूखले संसारभरबाट वार्षिक हजारौं पर्यटकलाई आकर्षित गर्न थालेको छ। आज धेरै बहराइनीहरूले उक्त रूखलाई आफ्नो गौरब, प्राकृतिक पुरातत्विक महत्व र धर्मको आस्थाको रूपमा मान्ने गरेका छन्।