२६ वर्षदेखि डोरीमा बाँधिएका धर्मेन्द्र

२६ वर्षदेखि डोरीमा बाँधिएका धर्मेन्द्र
डोरीले बाँधेर राखिएका रामग्राम नगरपालिका–१ सन्डाका धर्मेन्द्र यादव । तस्बिर : हरि शर्मा
सुन्नुहोस्

परासी : घरको पछाडितर्फ भैंसी बाँधिएको गोठ। गोठकै ठीक अगाडि जुठेल्नो (भाँडा माझ्ने ठाउँ) छ। त्यही गोठ र जुठेल्नोनजिक डोरीले बाँधिएर बसेका छन् धर्मेन्द्र यादव। उनको दैनिकी डोरीमै बाँधिएर बित्ने गरेको छ। उमेरले ३४ वर्ष पुगे।

धर्मेन्द्रको डोरीले बाँधिएर बितेको जीवन भने २६ वर्ष पुगेको छ। गोठ र जुठेल्नोनजिक भुइँमा म्याट राखेर बसालिएका धर्मेन्द्रलाई झिँगाले घेर्न थालेपछि घरीघरी धपाउने कोसिस गर्छन्। धपाउँदै उनी हातले भुइँमा टेकेर जुरुक्क उठेर हिँड्न थाल्छन् तर, खुट्टामा बाँधिएको डोरीले उनलाई त्यही बसाल्न बाध्य बनाउँछ। 

नवलपरासीको सदरमुकाम परासीदेखि करिब २ किलोमिटर उत्तरतर्फ उनको घर छ। रामग्राम नगरपालिका–१ सण्डा गाउँमा बस्ने धर्मेन्द्रको परिवारमा उनकी आमा, दाजु, भाउजू र भतिजा, भतिजी गरी ६ जना छन्। बाबु पहिल्यै नै बितिसकेका छन्। सुस्त मनस्थितिका उनीले घरीघरी चर्को आवाज निकाल्ने गर्छन्। बोल्न नसक्ने भएकाले दिसा, पिसाब बसेकै ठाउँमा गर्छन्। ७/ ८ वर्षको उमेरसम्म बाबा/आमा भन्ने गरेका थिए।

त्यसपछि भने उनले उक्त शब्दसमेत निकाल्न सकेनन्। धर्मेन्द्रलाई खाना, नास्ता परिवारले खाने समयमै दिइने गरिएको छ। खाना आफैंले खाँदैनन्। अरूले नै खुवाइदिनुपर्छ। परिवारका एकजना उनैको हेरविचारमा खटिने गरेका छन्। लामो समयदेखि डोरीमा बाँधेर बसेका धर्मेन्द्रको स्याहार सुसार र माया दिनेमा यादव परिवारले कुनै कमी राखेको छैन। उनी परिवारका प्रिय छन्। उनको स्याहार सुसारमा सबैभन्दा बढी उनकी ६८ वर्षीय आमा मालतीदेवी खटिने गरेकी छन्। 

दिसा पिसाब गरेपछि आमाले नै उनका कपडा धोएर सफा गरिदिने गरेकी छन्। ‘कहिलेकाहीँ त दिनमा ३/४ पटक दिसा गर्छ।’ सफा गरेको कपडा सुकाउँदै धर्मेन्द्रकी आमा मालतीले भनिन्। परिवारका अन्य सदस्य घरको काम र अन्य काममा जानु परेका कारण उनको स्याहार सुसारमा सबैभन्दा बढी आमा नै खटिने गरेकी हुन्। उनका दाजु मनोजले अर्केको निजी गाडी चलाउँदै आएका छन्। ‘ म बाहिर गइराख्नुपर्छ। परिवारका अरूले घर र अन्य काम गर्नु परेका कारण आमा नै बढी भाइको सुसारमा खटिनु हुन्छ’ मनोजले भने, आफू घर हुँदा दिसा, पिसाव स्याहार्नेदेखि हेरविचार गर्दै आएको छु।’

२६ वर्षसम्म बाँधेर राख्नु पर्ने यादव परिवारका लागि रहर होइन बाध्यता हो। उनी ६ वर्षको पुगेपछि सिक्रीले बाँधिन थालियो। ‘६ वर्षको उमेरदेखि ८ वर्षको हुँदासम्म सिक्रीले बाँधेर राखिएको थियो। पछि सिक्री हटाएर डोरीले बाँधिएर राख्न थालियो। सिक्रीले खुट्टामा चोट पुगेको देखेपछि डोरीले बाँधिएको हो।’ धमेन्द्रका दाजु मनोजले भने। 

त्यसै छाडे जथाभावी हिँड्ने, कहिलेकाहीँ अरूलाई ढुंगासमेत हानिदिने र आँखा छलेर भाग्दिने गरेका कारण बाँध्नु परेको यादव परिवारको भनाइ छ। ‘एक पटक डोरी फुकाइदियौं। केही घण्टा घरमै बसेको थियो। हामीहरू काममा व्यस्त भएका बेला एकाएक हरायो। खोज्दै जाँदा १ महिनापछि भारतको निचलौलबाट फेला पर्‍यो। त्यसपछि डोरी खोलेका छैनौं।’ यादव परिवारले भने। रातको समयमा उनलाई कोठामा लगेर खाटमा सुताइने गरिएको छ। 

परिवारले उनको औषधि उपचारमा ध्यान नदिएको पनि होइन। सानो छँदा धेरै औषधि गरे। तर, औषधिले केही नभएपछि बाध्य भएर बाँधेर राख्नु परेको परिवारको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.