परराष्ट्र सचिवको लाइनमा लम्साल
काठमाडौं : परराष्ट्र मन्त्रालयले पहिलोपटक महिला सचिव पाउने सम्भावना छ। भरतराज पौड्यालले मंगलबार अवकाश पाएपछि मन्त्रालयमा सचिव पद रिक्त भएको हो। त्यसैकारण रिक्त सचिवमा मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्सालले अवसर पाउने सम्भावना बलियो रहेको मन्त्रालयकै कर्मचारी बताउँछन्।
प्रतिस्पर्धी अरू दुई जनाभन्दा वरिष्ठ सहसचिव लम्साल नै अग्रस्थानमा रहेको मन्त्रालय स्रोतले बतायो। सचिवबाट अवकाश पाएका पौड्याल क्यानडाका लागि राजदूतमा प्रस्तावित छन्।
सहसचिव लम्साल हाल मन्त्रालयको प्रवक्ता छिन्। पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी पूरा गरेर फर्के लगत्तै सन् २०२० देखि उनी प्रवक्ताको जिम्मेवारीमा छिन्। विभिन्न देशमा कूटनीतिक अधिकारीका रूपमा काम गरिसकेको अनुभव पनि उनीसँग छ।