एनसेल खरिद बिक्री सम्बन्धमा १५ दिनभित्र जानकारी पेस गर्न अर्थ समिति निर्देशन
काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले एनसेलको सेयर स्वामित्व खरिद बिक्री भएको विषयमा यथार्थ जानकारीसहित विवरण १५ दिनभित्र पेस गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले एनसेल खरिद बिक्रीको वास्तविकतासहितको सम्पूर्ण विवरण १५ दिनभित्र लिखितरूपमा पेस गर्न निर्देशन दिइएको सभापति सन्तोष चालिसेले जानकारी दिए।
बैठकमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटा लिमिटेडले सेयर खरिद बिक्रीसम्बन्धी विषयमा समितिलाई जानकारी गराएका थिए। छलफलपछि यस विषयमा समग्र कागजात मगाउने निर्णय गरिएको सभापति चालिसले बताए। मलेसियन कम्पनी आजियटाले गत शुक्रबार एनसेलको ८० प्रतिशत सेयर स्वामित्व अर्को कम्पनी ‘स्पेक्ट्रलाइट युके लिमिटेड’लाई बेच्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको छ।