डोल्पाको दुर्गम गाउँमा एकैपटक आठ प्रकारको स्वास्थ्य सेवा
डोल्पा : हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत वडा नं २ मा पर्ने रसी गाउँमा एकैपटक आठ प्रकारका स्वास्थ्य सेवा प्रदान गरिएको छ।
स्वास्थ्य सेवा कार्यालय डोल्पा र त्रिपुरासुन्दरी नगरपालिकाले संयुक्तरूपमा दुर्गम गाउँ रसीका जनतालाई आठ प्रकारका स्वास्थ्य दिएका हुन्। गर्भवती महिलालाई गाउँमै निशुल्क भिडियो एक्सरे सेवा, निशुल्क स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सरको जाँच, खकार परीक्षण, गर्भनिरोध सेवालगायतका सेवा दिइएको छ।
त्यतिमात्र नभई गाउँका ७० वर्ष उमेर पूरा भएका १२ जना ज्येष्ठ नागरिकलाई टेक्ने लठ्ठी, न्यानो टोपी, साबुन, ब्रस, नङ्कटलगायतका सामाग्री प्रदान गरिएको छ। बुढेसकालको सहाराको रूपमा रहेको लौरो, न्यानो टोपीलगायतका सामान पाएपछि ज्येष्ठ नागरिकले स्वास्थ्य सेवा कार्यालयलाई धन्यवादसमेत दिएका छन्।
बुधबार भएको स्वास्थ्य सेवाबाट कूल दुई सय ८३ जना सर्वसाधारण लाभाञ्वित भएको स्वास्थ्य सेवा कार्यालय डोल्पाका प्रमुख रत्नबीर सुनारले जानकारी दिए। जसमध्ये महिला दुई सय जना र पुरुष ८३ जनाले सेवा लिएको उनले बताए।
जिल्ला समन्वय समितिका प्रमुख श्यावबहादुर रोकाय, नगरप्रमुख जनचन्द्र रोकाय, नगर उप-प्रमुख देवी घर्तीसहित सरोकारवालाको उपस्थितिमा भएको कार्यक्रममा महिला शसक्तीकरण केन्द्र डोल्पाले बाल विवाह, अन्धविश्वास, सरसफाईलगायतका जनचेतनामूलक अन्तक्रियासमेत गरेको थियो।