एमालेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ आज कास्की आइपुग्ने
पोखरा : नेकपा (एमाले)को मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ : समृद्धिका लागि संकल्प यात्रा’को टोली आज कास्की आइपुग्ने भएको छ । मंसिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको उक्त संकल्प यात्राअन्तर्गत कास्कीमा बिहीबार र शुक्रबारका लागि कार्यक्रम तय भएका छन्।
बुधबार गुल्मीको वामी टक्सार, बागलुङको गलकोट लगायतको स्थानमा एमालेले अन्तर्क्रिया र सभाको गरेको थियो।
एमाले जिल्ला कमिटी कास्कीका अध्यक्ष मनबहादुर गुरुङका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितको संकल्प यात्राको टोलीलाई बिहीबार दिउँसो कास्की र पर्वतको सीमास्थल नयाँपुलमा स्वागत गरिने भएको छ । सोही दिन कास्कीको अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत, पोखरा महानगरपालिकाको हेम्जामा स्वागत तथा भेटघाट कार्यक्रम राखिएको अध्यक्ष गुरुङले जानकारी दिए।
शुक्रबार बिहान पोखराको अमरसिंहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रम हुने उनले बताए । सोही दिन उक्त टोली रुपा गाउँपालिकाको पिपले बजार हुँदै लमजुङ प्रस्थान गर्ने जनाइएको छ । ‘हेम्जा र तालचोकमा भेटघाटसहित पार्टी अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ”, गुरुङले भने, ‘स्थानीयवासीसँग विकास निर्माण र जनजीविकाका विषयमा अध्यक्षज्यूले अन्तर्क्रिया गर्नुहुनेछ ।”
एमालेले गणतन्त्र, नेपालको संविधान र राजनीतिक उपलब्धिको रक्षार्थ समाजमा सकारात्मक सन्देश प्रवाह गर्न संकल्प यात्रा सुरु गरेको जनाएको छ । संकल्प यात्राका क्रममा एमालेले नागरिकका अनुभूति, सुझाव र गुनासा संकलन गरिरहेको छ।