पोखरा शीर्ष स्थानमा
काठमाडौं : पोखरा थन्डर्स दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा स्पोर्टिङ इलाम एफसीलाई १–० गोलले पराजित गर्दै पोखरा अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
चार खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको पोखरा आठ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। पहिलो खेलमा एफसी चितवनलाई १–० गोलले पराजित गरेको पोखराले दोस्रो खेलमा ललितपुर सिटी एफसी र तेस्रो खेलमा झापा एफसीसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो।
बुधबार पोखरा थन्डर्सलाई जित दिलाउन सञ्जीव विष्टले निर्णायक गोल गरेका थिए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको सुरुवातमै सञ्जीवले पोखरालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मात्र मैदान प्रवेश गरेका आयुश घलानले कर्नरबाट उपलब्ध गराएको बललाई खेलको ४७औं मिनेटमा उनले जाली चुमाएका थिए।
खेलको सुरुवातदेखि नै पोखरालाई दबाबमा राखेको इलाम फिनिसिङमा चुक्दा तेस्रो हार बेहोर्न बाध्य भयो। इलामले गोलका लागि केही राम्रा अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन। नवप्रवेशी इलामले खेलेका चार खेलमध्ये तेस्रो हार बेहोरेको हो। उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० गोलले निराश बनेको इलामले दोस्रो खेलमा झापा एफसीलाई १–० गोलले हराएको थियो। यसैगरी तेस्रो खेलमा बुटवल लुम्बिनीसँग २–१ गोलले स्तब्ध बनेको थियो। चार खेलमा तीन अंक जोडेको इलाम तालिकाको छैटौं स्थानमा छ।
प्रतियोगिताअन्तर्गत बिहीबार एफसी चितवन र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ। एनएसएसको दोस्रो संस्करणमा ललितपुर सिटी एफसी, वीरगन्ज युनाइटेड, बुटवल लुम्बिनी, धनगढी, चितवन, झापा, पोखरा थन्डर्स र स्पोर्टिङ इलाम एफसीले स्पर्धा गरिरहेका छन्। पुस १४ गतेसम्म सञ्चालन हुने लिगको उपाधि विजेतालाई ७० लाखदेखि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।