एनसेलको सेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठन
काठमाडौं : सरकारले एनसेलको ८० प्रतिशत सेयर खरिदबिक्रीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
उच्चस्तरीय समितिमा सचिव फणिन्द्र गौतम,सहसचिव बाबुराम भण्डारी,सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजन कुमार काफ्ले रहेका छन्।
समितिलाई सेयर खरिदबिक्री प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समयावधि दिइएको छ।
यसैगरी मन्त्रिपरिषद बैठकले खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा यशोदा कार्की र कुलभुषण शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ।
विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थमन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने निर्णय भएको मन्त्री शर्माले जानकारी दिइन्।