निर्माण सामग्री चोरी गरेको आरोपमा दुई जना पक्राउ
सिन्धुली : निर्माण सामग्री चोरी गरेको आरोपमा सिन्धुलीमा कवाडी व्यवसायीसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा कमलामाई नगरपालिका-५, चिसापानीका २७ वर्षीय कृष्ण बहादुर थामी र भारत घर भई हाल धुरा सिरानमा कवाडी पसल गरी बस्ने २० वर्षीय पन्नालाल कुमार रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालका अनुसार व्यवसायी पन्नालालको कवाडीबाट चारवटा फलामको टेका समेत बरामद गरेपछि थामी र पन्नालाल दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो।
पक्राउ परेका थामीले कमलामाई नगरपालिका-६ धुराकी ४५ वर्षीय सुनिता घिसिङको निर्माण गर्न राखेको ठेलागाडा, साबेल, सिमेन्ट तथा फलामको टेका लगायतका सामग्री चोरी गरि कवाडी व्यवसायी पन्नालाल कुमारलाई बेचेको आरोप छ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिन्धुलीबाट ५ दिनको म्याद लिई थप अनुसन्धान कार्य सुरु गरेको समेत प्रहरीले जनाएको छ।