चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित
गोरखा : चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा सम्मानित भएका छन्। चुम उपत्यकालाई अहिंसा उपत्यकाका रुपमा विकास गरी पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै शुक्रबार लामालाई सम्मान गरिएको हो।
नेपाल पर्वतारोहण संघले आयोजना गरेको आठौँ अन्तर्राष्ट्रिय पर्वतीय महोत्सवको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमा अर्थमन्त्री प्रकासशरण महतले अध्यक्ष लामालाई सम्मान गर्दै ताम्रपत्र प्रदान गरे।
चुम उपत्यकामा विगत एक सय वर्षदेखि विद्यमान अहिंसा (स्याक्या) परम्पराको संरक्षण र विकासमा उनको संलग्नता र स्याक्यामार्फत पर्यटन प्रवर्द्धनमा पुगेको मद्दतको प्रशंसा गर्दै अर्थमन्त्री महतबाट सम्मान गरिएको हो।
चुमुनुब्री गाउँपालिका वडा नम्बर ६ र ७ चुम्चेत र छेकम्पारमा विगत एकसय वर्षदेखि अहिंसा परम्परा विद्यमान छ। चुमकल्याण समितिका पूर्व अध्यक्षसमेत रहेका लामाले यसवर्ष र २०७० सालमा चुम उपत्यकामा स्याग्या महोत्सव आयोजना गरेका थिए।